शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

यस्तो छ साझाले किन्न लागेको २५ विद्युतीय माइक्रोबसको ‘स्पेसिफिकेसन’

सोमबार, असार १० २०८१
यस्तो छ साझाले किन्न लागेको २५ विद्युतीय माइक्रोबसको ‘स्पेसिफिकेसन’

उक्त स्पेसिफिकेसनमा पछिल्लो ३ आर्थिक वर्षमा ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यो सर्तलाई केही व्यवसायीहरुले शंकाको रुपमा हेरेका छन्।

काठमाडौं- साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालनका लागि गएको जेठ २८ गते २५ वटा माइक्रो बस खरिदका लागि टेण्डर निकालेको थियो। ४० वटा विद्युतीय कार सञ्चालन गरिरहेको साझाले १४ सिट क्षमताका विद्युतीय माइक्रोबस पनि चलाउन लागेको हो। 

पछिल्लो सयम नेपाली बजारमा विद्युतीय माइक्रोबस आयात तथा प्रयोग बढ्दै गएको छ। एक दर्जनभन्दा बढी चिनियाँ ब्रान्डका विद्युतीय माइक्रो तथा भ्यान उपलब्ध छन्। छोटो तथा मध्य दुरीका रूटहरूमा विद्युतीय माइक्रोबस सञ्चालन गर्नेको संख्या बढ्दै गइरहेको छ।

यही कुरालाई मध्यनजर गर्दै साझा यातायातले पनि विद्युतीय माइक्रोबस किन्न लागेको हो। विद्युतीय माइक्रोबस कुन रूटमा चलाउने भन्ने नखुले पनि साझाले विद्युतीय माइक्रोबस उपत्यकाकै रूटहरूमा चलाउने अनुमान गरिएको छ। 

साझाले टेण्डरमा सहभागी हुन इच्छुक कम्पनी तथा फर्महरूसँग जुन २३ मा प्रि-बिड मिटिङ राखेको छ। त्यस्तैगरी जुलाई १० तारिखमा साझा यातायातले टेण्डर खोल्ने उल्लेख गरेको छ। 

नेपाली बजारमा विद्युतीय माइक्रोबस तथा भ्यान आयात भएको ४/५ वर्ष भएतापनि त्यसले परीक्षणको भूमिकामात्र खेल्यो। पछिल्लो दुई वर्षयता भने एक दर्जन ब्रान्डका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाली बजारमा आधिकारिक बिक्रेतामार्फत आयात हुन थालेका छन्। यो अझै बढ्ने निश्चित छ। 

साझाले २५ विद्युतीय माइक्रोबस खरिद गर्न स्पेसिफिकेसन बनाएको छ। उक्त स्पेसिफिकेसनमा पछिल्लो ३ आर्थिक वर्षमा ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यो सर्तलाई केही व्यवसायीहरूले शंकाको रुपमा हेरेका छन्। 

यस्तो छ विद्युतीय माइक्रोबसका लागि तोकिएको स्पेसिफिकेसन : 

- उच्च छत, विद्युतीय यात्रु माइक्रोबस, फ्याक्ट्री फिट, दायाँ ह्यान्ड ड्राइभको लागि उपयुक्त र चालकसहित १४ यात्रु अट्ने

- कर्ब तौल १७ सय केजीभन्दा कम हुन नहुने

- ग्राउन्ड क्लिरेन्स १ सय ८० एमएमभन्दा कम हुन नहुने

- ह्वीलबेस ३२ सय एमएम हुनुपर्ने 

- सवारीको बडी डाइमेन्सन : ५३ सय एमएम लम्बाई, १६ सय ५०  एमएम चौडाई र २२ सय ६० एमएम उचाइभन्दा बढी हुनुपर्ने

- ग्रेडेबिलिटी न्यूनतम २० प्रतिशत

- टर्निङ रेडियस ७ मिटरभन्दा बढी हुन नहुने

- मोटर पिकपावर ८० किलोवाटभन्दा कम हुन नहुने र टर्क २ सय ७० एनएम भन्दा कम हुन नहुने

- ब्याट्री क्षमता ५० किलोवाट आवरभन्दा कम हुन नहुने

- ड्राइभिङ रेन्ज २ सय ३० किलोटरभन्दा कम हुन नहुने

- चार्जिङ समय : स्लो चार्जिङ समय ७ देखि १० घण्टा र फास्ट चार्जिङ  अधिकतम १.५ घण्टामा ८० प्रतिशत हुनुपर्ने 

- ब्याट्री वारेन्टी : पाँच वर्षको हुनुपर्ने

- एक वर्षभन्दा कम मोडलको हुन नपाइने

- आपूर्तिकता कम्पनीको हकमा पछिल्लो ३ वर्षमा वार्षिक ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको हुनुपर्ने

- टेण्डरमा सहभागी हुने कम्पनीले सम्बन्धित ब्रान्डका माइक्रोबस नेपालमा यसअघि २० वटा बिक्री गरेको हुनुपर्ने 

साझाले खरिद गर्न लागेको २५ माइक्रोसबसमा सीमित कम्पनीले मात्र सहभागी हुन पाउने गरी स्पेसिफिकेसनमा सेटिङको आभास भएको भ्यान आयात गर्ने व्यवसायीहरूले बताएका छन्।

हाल नेपाली बजारमा डीएफएसके, किङलङ, फोटोन, हाइगर, केवाईसी, सीएचटीसी, गोल्डेनड्रागन, डोङफेङ, सोकोन, एसआरएमलगायत ब्रान्डका विद्युतीय माइक्रोबस आइसकेका छन्। उल्लेखित सबै ब्रान्डले भने सहभागिता जनाउन पाउने छैनन्। किन कि यी ब्रान्डमध्ये केहीबाहेक सबै दुई वर्षयता मात्र नेपाल आएका हुन्। 


प्रकाशित : सोमबार, असार १० २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend