बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जीकर ब्रान्ड ल्याउने ‘कर्पोरेट वार’ सारडा समूहले जित्यो, पायोनियर मोटोकर्प बन्यो जीकर ईभीको आधिकारिक बिक्रेता

बुधबार, असार ५ २०८१
जीकर ब्रान्ड ल्याउने ‘कर्पोरेट वार’ सारडा समूहले जित्यो, पायोनियर मोटोकर्प बन्यो जीकर ईभीको आधिकारिक बिक्रेता

आधिकारिक बिक्रेता बनेलगत्तै पायोनियर मोटोकर्पले नाडा अटो शो २०२४ मा सहभागी हुन स्टलसमेत बुक गराएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी जीकरका विद्युतीय कार ल्याउने नेपाली व्यवसायिक घरानाबीच तीव्र प्रतिस्पर्धा भएको थियो। एक हिसाबको ‘कर्पोरेट वार’ बनेको जीकरको आधिकारिक बिक्रेता बन्ने होडमा सारडा समूहले बाजी मारेको हो।

हालैमात्र सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्प प्रालि जीकरको आधिकारिक बिक्रेता नियुक्त भएको हो। आधिकारिक बिक्रेता बनेलगत्तै पायोनिकर मोटोकर्पले 'नाडा अटो शो २०२४' मा सहभागी हुन स्टलसमेत बुक गराएको छ। 

नाडा स्रोतका अनुसार जीकर ब्रान्डका लागि पनि स्टल बुकिङ गरिएको छ। ‘पायोनियर मोटोकर्पका तर्फबाट जीकर ब्रान्ड अटो शोमा सहभागी हुने आइपुगेको छ,’ नाडा स्रोतले भन्यो, ‘ब्रान्ड जीकर भएपनि कुन गाडी ल्याउने कस्तो ल्याउने भन्नेबारे हामीलाई जानकारी छैन।’ 

जीकर ब्रान्ड ल्याउन नेपालका सबैजसो अटोमोबाइल बिक्रेता घरानाहरू लागिपरेका थिए। प्रतिस्पर्धामा निसान, ओमोडा गाडी बिक्री गरिरहेको सारडा समूह, हुन्डाईको गाडी बिक्री गर्ने लक्ष्मी समूह, नेटा, आयोन, हिरो बिक्री गरिरहेको चौधरी सूमह, प्रोटोन र टीभीएस बिक्री गरिरहेको शंकर समूह, फोर्ड बिक्रेता गोल्छा अर्गनाइजेसन, चांगन, दीपल, सेरेस, नामी बिक्री गरिरहेको एमएडब्लू समूहलगायत अन्य व्यवसायीहरू पनि थिए। 

तर पछिल्लो पटक जीकर चाइनाले सारडा समूह, चौधरी समूह र लक्ष्मी समूहलाई सर्टलिस्ट गरेको थियो। तीनै सर्टलिस्टमा परेका कम्पनीहरूमध्येबाट सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्प आधिकारिक बिक्रेत नियुक्त भएको हो। 

पायोनियरले सुरुमा एउटा मोडल नेपाली बजारमा ल्याउने छ। नाडा अटो शोमा उक्त ब्रान्डको विद्युतीय कार प्रदर्शनीमा राखिने छ। हालैमात्र जीकरले राइट ह्यान्ड ड्राइभ ईभी उत्पादन सुरु गरेको थियो। 

जीकर ब्रान्ड 

जीकर ब्रान्ड २०२१ मार्चमा स्थापना भएको थियो। जीकर इन्टेलिजेन्ट टेक्नोलोजी होल्डिङ लिमिटेड जीली अटोमोबाइल होल्डिङस्को स्वामित्वमा रहेको छ। जीकरका विद्युतीय कार सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चर (एसईए) प्लेटफर्ममा बन्दै आएको छ। 

जीकर जीली होल्डिङस् अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड हो। अहिले जीकरसँग ५ वटा मोडलका विद्युतीय कार छन्। जसअन्तर्गत जीकर एक्स, जीकर ००७, जीकर ००९, जीकर ००१ एफआर र जीकर मिक्स छ। यी सबै कार राइट ह्यान्ड ड्राइभमा उत्पादन सुरु गइसकेको छैन। हाल जीकरले जीकर एक्स राइट ह्यान्ड ड्राइभमा उत्पादन सुरु गरेको छ। 

जीकर एक्स 

जीकर एक्समा ६४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। अल ह्वील ड्राइभ अप्सनयुक्त जीरकमा ३ सय १५ किलोवाट पिक पावरको मोटर रहेको छ। यो कारको अधिकतम गति १ सय ९० किलोमिटर प्रतिघण्टाको छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.८ सेकेन्डमा तय गर्न सक्छ। 

यो कारले एकपटकको फुल चार्जमा ४ सय ४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। सिंगल र डबल मोटर अप्सनमा उपलब्ध यो कार दुवै अप्सनमा नेपाल आउने सम्भावना रहेको छ। 


प्रकाशित : बुधबार, असार ५ २०८११९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend