शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कोशी प्रदेशले ५० किलोवाटसम्मको विद्युतीय कारमा ४० प्रतिशत घटायो वार्षिक कर

भाडामा दर्ता भएका पेट्रोलियम कारको वार्षिक कर बढ्यो, ईभीको घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ५ २०८१
कोशी प्रदेशले ५० किलोवाटसम्मको विद्युतीय कारमा ४० प्रतिशत घटायो वार्षिक कर

कोशीले चालु आर्थिक वर्षको तुलनामा आगानी आर्थिक वर्षदेखि ५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय निजी कारको वार्षिक कर ४० प्रतिशतले घटाएको छ।

काठमाडौं- कोशी प्रदेश सरकारले साना निजी विद्युतीय कारलाई प्रोत्साहन गर्ने नीति लिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ मा ल्याएको बजेटमार्फत ५० किलोवाटसम्मको निजी विद्युतीय कारको वार्षिक कर घटाएको हो। 

केही प्रदेशले बढाएको र केहीले यथावत राखेको विद्युतीय सवारीको वार्षिक कर कोशी प्रदेशले भने साना क्षमताकोमा घटाएर अन्यको यथावत राखेको हो।

कोशीले चालु आर्थिक वर्षको तुलनामा आगानी आर्थिक वर्षदेखि ५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय निजी कारको वार्षिक कर ४० प्रतिशतले घटाएको छ। 

चालु आर्थिक वर्षमा कोशीमा दर्ता भएका ५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा १० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरेको थियो। आगामी आर्थिक वर्षका लागि भने यो सेगमेन्टको निजी विद्युतीय कारको वार्षिक कर ४० प्रतिशत घटाएर वार्षिक ६ हजार रुपैयाँ कायम गरेको छ। 

५० किलोावाटदेखि १२५ किलोवाटसम्म वार्षिक १५ हजार, १२५ किलोवाटदेखि २ सय किलोवाटसम्म २० हजार र २ सय किलोवाटभन्दा बढीमा ३० हजार रुपैयाँ वार्षिक कर तय भएको छ। यो चालु आव र आगामी आवका लागि समान नै रहेको छ। 

यता कोशी प्रदेशले भाडामा दर्ता हुने कार, जिप र भ्यानको वार्षिक कर भने व्यापक रुपमा बढाएको छ। चालु आवमा १३ सय सीसीसम्मलाई ९ हजार वार्षिक कर तय भएकोमा आगामी आवका लागि वर्गीकरण नै परिवर्तन गरिएको छ। 

आगामी आवका लागि १ हजार सीसीसम्मको भाडाको कारले वार्षिक ११ हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ। त्यस्तै अन्य सबै वर्गीकरणको कर बढाइएको छ। 

80 81 tax koshi.PNG
आर्थिक वर्ष २०८०/८१ का लागि भाडाका कार जिप र भ्यानका लागि तय भएको वार्षिक कर
81 82 tax koshi.PNG
आर्थिक वर्ष २०८१/८२ का लागि भाडाका कार जिप र भ्यानका लागि तय भएको वार्षिक कर

भाडाको विद्युतीय कार वार्षिक कर घट्यो

कोशी प्रदेशले भाडामा दर्ता भएका विद्युतीय कारको कर पनि घटाएको छ। चालु आर्थिक वर्षका लागि भाडामा दर्ता भएका ५० किलोवाटसम्मका कारले वार्षिक ८ हजार, ५० देखि १२५ किलोवाटसम्म १२ हजार, १२६ किलोवाटदेखि २ सय किलोवाटसम्म १५ हजार र २०१ किलोवाटदेखि माथिका लागि १८ हजार रुपैयाँ वार्षिक कर तय भएको थियो। 

तर आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमार्फत वार्षिक कर घटाएको हो। आगामी वर्ष भाडामा दर्ता भएका ५० किलोवाटसम्मका कारले ५ हजार, ५० किलोवाटदेखि १२५ किलोवाटसम्म ७ हजार, १२५ किलोवाटदेखि २ सय किलोवाटसम्म १० हजार र २ सय किलोवाटभन्दा माथिका लागि १५ हजार रुपैयाँ कर तोकिएको छ। 


प्रकाशित : बुधबार, असार ५ २०८११२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend