शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पानीको सतह घटेपछि ६० मेगावाटको कुलेखानीमा २० मेगावाटमात्र विद्युत उत्पादन

मंगलबार, असार ४ २०८१
पानीको सतह घटेपछि ६० मेगावाटको कुलेखानीमा २० मेगावाटमात्र विद्युत उत्पादन

पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको छ।

हेटौँडा- मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाटमात्र विद्युत् उत्पादन गरिरहेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर एक हजार चार सय ८५ मिटर पुगेपछि अत्यावश्यक समयमा मात्र आयोजनाले उत्पादन गरिरहेको छ।

पछिल्लो समय पानी नपरेकाले जलविद्युतको महत्वपूर्ण ‘ब्याकअप’ आयोजना मानिने कुलेखानीमा पानीको सतह घटेको प्रमुख भट्टले जानकारी दिए। विशेषगरी नदीको पानी कम हुँदा विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।

समुद्री सतहबाट एक हजार चारसय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ।

पछिल्लो समयमा कुलेखानी जलविद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको उनले जानकारी दिए। प्रमुख भट्टका अनुसार सोमबारसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएको थियो। गएराति पानी परेपछि आज बिहान थप पानी जम्मा भएको छ।

उनका अनुसार विसं २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो। कुलेखानीबाट आपतकालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend