शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बीवाईडी याङवाङ यूएट सडक मार्गबाट नेपाल आइपुग्यो, बन्न सक्छ पर्यटक आउने बाटो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ४ २०८१
बीवाईडी याङवाङ यूएट सडक मार्गबाट नेपाल आइपुग्यो, बन्न सक्छ पर्यटक आउने बाटो

बडी-अन-फ्रेम च्यासिसमा बनेको यो एसयूभी फ्रन्ड इन्जिन र चारवटा विद्युतीय मोटरसहित फोर ह्वील ड्राभइ अप्सनमा उपलब्ध छ। यूएट ईफोर प्लेटफर्ममा बनेका हो।

काठमाडौं- चीनबाट पनि सवारीसाधन गुडेर नेपाल आउन थालेका छन्। केही समयअघिसम्म भौगोलिक जटिलताले सहज बाटो नहुँदा चीनबाट सडक मार्ग हुँदै सवारीसाधन आउन सम्भव थिएन। बाटोको सहजता र बलिया सवारी बन्न थालेसँगै चीनबाट काठमाडौंसम्म गाडी गुडाएर आउनेहरू बढ्न थालेका छन्। 

यसैसाता चिनियाँ सवारी उत्पादक कम्पनी बीवाईडी अटोको विलासी ब्रान्ड याङवाङको 'एसयूभी यूएट' सडक मार्गबाटै नेपाल आएको हो। यसअघि पनि केही कारहरू नेपाल आएका थिए। यसले अब भारतसँगै चीनबाट पनि सवारीसाधन गुडाएर आउन सम्भव रहेको देखाएको छ। 

चिनियाँ पर्यटक नेपाल ल्याउन जोड गरिरहेको सरकार र पर्यटन व्यवसायीले यसबारे पनि ध्यान दिने हो भने पर्यटक बढ्न सक्छन्।

जेठ अन्तिम साता चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला मन्त्री छेङ रुइफेङले एक वर्षभित्रै नेपालमा १ लाख चिनियाँ पर्यटक पठाउने घोषणा गरेका थिए। उनले सन् २०२५ को मध्यसम्ममा १ लाख चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा पठाउनेगरी काम भइरहेको बताएका थिए। 

मन्त्री छेङले भैरहवाका व्यवसायीहरूसँगको छलफलमा चिनियाँ पर्यटक संसारभर धेरै घुम्न निस्कने गरेको र नेपालमा अब वार्षिक १ लाखभन्दा बढी चिनियाँ पठाउनेगरी काम भइरहेको बताइरहँदा सडक मार्गलाई पनि त्यसमा जोड्न सकियो भने नेपाल आउने चिनियाँ पर्यटक अझै बढ्न सक्छन्।

byd yangwabg u8.jpg

याङवाङ यूएट

बीवाईटीको लक्जरी ब्रान्ड याङवाङको पहिलो विलासी फुल साइज एसयूभी पहिलो पटक २०२३ को जनवरीमा ग्वाङझाउ अटो शोमा सार्वजनिक भएको थियो भने बिक्री सोही वर्षको अप्रिलदेखि सुरु भएको थियो।

यूएटको लम्बाई ५३ सय १९ एमएम, चौडाई २ हजार ५० एमएम, उचाई १९ सय ३० एमएम रहेको छ भने ह्वील बेस ३ हजार ५० एमएम छ। यो एसयूभीको कर्भ वेइट ३ हजार ४ सय ६० किलो छ। 

बडी-अन-फ्रेम च्यासिसमा बनेको यो एसयूभी फ्रन्ड इन्जिन र चार वटा विद्युतीय मोटरसहित फोर ह्वील ड्राभइ अप्सनमा उपलब्ध छ। यूएट ईफोर प्लेटफर्ममा बनेका हो। 

पावरट्रेनको कुरा गर्दा यो एसयूभीमा २.० लिटरको पेट्रोल रेन्ज एक्सटेन्डर इन्जिन छ भने ८ सय ८० किलोवाटको चार वटा मोटर छन्। यो मोटरले ११ सय ८० एचपी पावर जेनेरेट गर्न सक्छ। यूएटमा ४९.०५ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यो गाडीको कुल रेन्ज १ हजार किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ। त्यस्तै विद्युतीय रेन्ज भने १ सय ८० किलोमिटर रहेको छ। 

याङवाङ यूएट जस्तोसुकै भौगोलिक बाटोमा समेत गुडाउन सकिने दाबी कम्पनीले गरेको छ। त्यतिमात्र होइन यो एसयूभी आधा घण्टाभन्दा बढी पानीमा गुडाउन सकिन्छ। अर्थात कतै अफरोड जाँदा मोटर पुल भेटिएन भने यो एसयूभी अफैँ गुडेर खोलो तर्न सक्छ। 

यसका साथै बीवाईडी याङवाङ यूएटको कयौँ आकर्षक विशेषता छन्। यो एसयूभी राखिएकै ठाउँमा ३६० डिग्रीमा घुम्न सक्छ। स्ट्यान्डर्ड ग्राउन्ड क्लियरेन्स १ सय ५० एमएम भएपनि अफ रोडमा यसको ग्राउन्ड क्लियरेन्ज बढाउन सकिने व्यवस्था छ।

शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति यो कारले ३.६ सेकेन्डमा तय गर्न सक्छ भने अघिकतम गति भने २ सय किलोमिटर प्रतिघण्टा रहेको दाबी गरिएको छ। चीनमा सार्वजनिक गर्दा यो एसयूभीको मूल्य १६ लाख ८० हजार युआन तोकिएको थियो।


प्रकाशित : मंगलबार, असार ४ २०८१११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend