शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तोकियो नेपालमा बनेको भेन्यूको मूल्य, ४४ लाख ९६ हजारबाट सुरु

आईटेन र क्रेटा पनि एसेम्बल गर्ने

बिहीबार , जेठ ३१ २०८१
तोकियो नेपालमा बनेको भेन्यूको मूल्य, ४४ लाख ९६ हजारबाट सुरु

एसएक्सको मूल्य भने ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ।

काठमाडौं- नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यूको बिक्री सुरु गरेको छ।

कम्पनीले नेपालमै एसेम्बल भएको भेन्यूको मूल्य तोकेसँगै औपचारिक रुपमा बिक्री सुरु गरेको हो। 

कम्पनीले नेपालमा एसेम्बल भएको भेन्यूको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकेको छ। हाल कम्पनीले नेपालमा दुई मोडल भेन्यू एस र एसएक्स एसेम्बल गरिरहेको छ। एसएक्सको मूल्य भने ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ। 

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई कोरियासँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ। 

प्रथम चरणमा भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आईटेन नियोसका साथै अल न्यू हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ। 

हुन्डाईको प्लान्ट प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख अन्ततिम साता उद्घाटन गरेका थिए। परीक्षण उत्पादन सफल भएसँगै प्लान्टबाट कार एसेम्बल थालिएको हो। 

नवलपरासीमा छ प्लान्ट

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ।

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन् तर एसेम्बल गर्ने प्रक्रिया भने सुरु गरेका छैनन्।  


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend