शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

लक्ष्मी ई-मोबिलिटीले कामा ब्रान्डको विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउँदै

बिहीबार , जेठ ३१ २०८१
लक्ष्मी ई-मोबिलिटीले कामा ब्रान्डको विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउँदै

लक्ष्मी ई-मोबिलिटीले सुरुमा कामाका ११ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउने गरि सम्झौता गरेको हो। तर विद्युतीय माइक्रोबस नेपाल आइपुग्न भने केही महिना लाग्नेछ।

काठमाडौं- लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले अर्को चिनियाँ ब्रान्ड पनि ल्याउने तय भएको छ।

कम्पनीले जेठको सुरुमै चिनियाँ ब्रान्ड काईको प्यासेन्जर विद्युतीय एसयूभी नेपाल भित्र्याएको थियो। त्यस्तै लक्ष्मी ई-मोबिलिटीले चिनियाँ ब्रान्डको विद्युतीय भ्यान पनि नेपाल ल्याउने सम्झौता गरेको छ। केही समयअघि कामा अटोमोबाइल र लक्ष्मी ई-मोबिलिटीबीच विद्युतीय भ्यानको बिक्रेतासम्बन्धी सम्झौता भएको हो।

नेपाली बजारमा विद्युतीय कारसँगै कमर्सियल भ्यान तथा माइक्रोबसको बिक्री उल्लेख्यरुपमा बढ्दै गएको छ। सोही कारण अटोमोबाइल व्यवसायमा रहेका र नरहेकाहरु पनि चीन पुगेर विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउन व्यावसायिक घरानाबीच हानथाप नै चलेको छ। एकपछि अर्को घराना तथा व्यावसायिक समूह चिनियाँ ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा भइरहेको छ।

दक्षिण कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेतासमेत लक्ष्मी समूहअन्तर्गतकै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ। लक्ष्मी ई-मोबिलिटीप पनि सोही समूहअन्तर्गतको कम्पनी हो र सुरुमा भारतीय ब्रान्ड हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटर नेपाल भित्र्याएको थियो।

विद्युतीय कार र कमर्सियल भ्यान तथा माइक्रोबसले बजार लिन थालेपछि गैरचिनियाँ ब्रान्ड बिक्रेताहरु पनि चिनियाँ ब्रान्ड ल्याउन आकर्षित भएका हुन्। गैरचिनियाँ ब्रान्डले विद्युतीय कार तथा भ्यान नबनाइसकेको र बनाए पनि महँगो भएकाले घरानाहरुको ध्यान चिनियाँ ब्रान्डतर्फ गएको हो।

हाल नेपाली बजारमा एक दर्जन विद्युतीय भ्यान तथा माइक्रोबस ब्रान्ड आइसकेका छन्। सुरुमा दीगो ग्रुपले डीएफएसकेका विद्युतीय भ्यान नेपाल ल्याएको थियो। त्यसपछि चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले केवाईसी र किङलङका विद्युतीय भ्यान तथा माइक्रोबस ल्याएको थियो।

त्यसयता विभिन्न व्यवसायीहरुले फोटोन, एसआरएम, स्काइवेल, डोङफेङ, सीएचटीसी, हाइगर, हाइलोङ, गोल्डेन ड्रागनलगायत ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस आइसकेका छन्। यसैगरी अन्य आधादर्जन कमर्सियल ईभी भ्यान तथा माइक्रोबस नेपाल आउने क्रममा रहेका छन्।

कामा ब्रान्डको कमर्सियल पिकअप भने यसअघि नै मेघा बिजनेस ग्रुपले ल्याइसकेको छ। यही ग्रुपले सीएचटीसीको कमर्सियल भ्यान तथा माइक्रो बससमेत ल्याउने बताएको छ।

कामा अटोमोबाइलले विद्युतीय पिकअप मेघा बिजनेस ग्रुपलाई दिएर विद्युतीय भ्यान तथा माइक्रोबस भने लक्ष्मी ई-मोबिलिटीलाई दिएको हो। लक्ष्मी ई-मोबिलिटीले सुरुमा कामाका ११ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउने गरी सम्झौता गरेको हो। तर विद्युतीय माइक्रोबस नेपाल आइपुग्न भने केही महिना लाग्नेछ।

कामा अटोमोबाइल ब्रान्ड करिब २० वर्षअघिदेखि सवारी उत्पादन उद्योगमा रहेको छ। कामाले मिनि, लाइट, मिडियम तथा हेभी ट्रक उत्पादन गर्दै आएको छ। त्यस्तै केही वर्षदेखि न्यू इनर्जी सवारी पनि बनाउन थालेको हो। २००९ मा कामाले १ अर्ब ८० करोड युआन लगानी गरेर ट्रक उत्पादन क्षमता बढाएको थियो।

२०१० मा अर्को चिनियाँ सवारी उत्पादक कम्पनी डोङफेङ अटोमोबाइल कम्पनीले कामा अटोमोबाइलको केही प्रतिशत सेयर किनेको थियो। त्यस्तै २०११ मा दुई कम्पनीले संयुक्तरुपमा शानडोङ डोङफेङ कामा भेहिकल कम्पनी लिमिटेड स्थापना गरेका थिए। डोङफेङ कामाले कामा अटोमोबाइलको विस्तार र नवीनतम सवारी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कामाले २०१७ मा अन्तर्राष्ट्रिय बजारमा जाने उत्पादन बनाउन थप १ अर्ब ५० करोड युआन लगानी गरेको थियो। कामाले ग्वान्झाय न्यू इनर्जी साइन्स एन्ड टेक्नोलोजी जोनमा वार्षिक १ लाख कार उत्पादन गर्नेगरी समेत लगानी विस्तार गरेको थियो।

कामा ब्रान्डलाई प्रत्यक्ष रुपमा चीनको राष्ट्रिय विकास आधार बेल्ट एन्ड रोड इनिसिएटिभ (पहिलेको वान बेल्ट एन्ड वान रोड)सँग समन्वय गराइएको कामाक्यूसी डटकममा उल्लेख छ। कामा ब्रान्डका सवारी रुस, भियतनाम, नाइजेरिया, नेपाललगायत देशमा बिक्री हुँदै आएको छ।


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend