बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अचेल गाउँघरमा देखिँदैन ढिकीजाँतो

मंगलबार, जेठ २९ २०८१
अचेल गाउँघरमा देखिँदैन ढिकीजाँतो

विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ।

लमजुङ- यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ। केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो।

ढिकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

दोर्दी गाउँपालिका-३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोप हुने अवस्था आएको बताउँछिन्।

ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले सुनाइन्।

'विगतमा ढिकीजाँतोमा संघर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन्। पहिले गाउँमा ढिकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिकीजाँतो देखिन छाडे। अहिले सम्झदा पनि कथा जस्तै लाग्छ', उनले भनिन्।

दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन्। 'हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयो? ढिकीजाँतो', उनले भनिन्, 'ढिकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झँदा पनि जिब्रो रसाउँछ। त्यो सौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन्।'

दोर्दीकी चिजकुमारी आफ्नो जीवनको धेरैवर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाउँछिन्। 'हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन्। समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले। निकै दुःख लाग्छ', उनले गुनासो गरिन्।

ढिकीजाँतो प्रसस्त हुने यस वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँ लगायतका गाउँमा अहिले देख्नै मुस्किल पर्दै गएको छ। एक हजारभन्दा बढी घरधुरी रहेका ती गाउँमा पाँच/१० वटाभन्दा धेरै ढिकीजाँतो छैनन्। ढिकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन्।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुका ३५ घरमध्ये अहिले एकाध घरमा मात्र ढिकी रहेको स्थानीय काम सार्की गुरुङले बताए। करिब १०/१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकीजाँतो लोप भएको उनको भनाइ छ। यसरी परम्परागत ढिकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिएकोमा उनले दुःखमनाउ गरे।

सोही गाउँपालिका-३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिकीजाँतो प्रयोग गर्दै आए पनि अहिले एक दुई जनाको घरमा मात्र रहेको बताए।

बेँसीसहर नगरपालिका-२ नरुवाल गाउँमा करिब १४ वर्ष अघिसम्म प्रत्येक घरमा ढिकीजाँतो थियो। विद्युतीय मेसिन आएसँगै बिस्तारै घट्दै गएर छ वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगर बताउँछिन्।

'गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले। ढिकीजाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे तर हामीलाई त धेरै माया लाग्छ।'

विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend