बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बजारीकरणका नाममा दोहोरो खर्च देखाएर करछली गर्दै एनसेल

एनसेलको २ वर्षको ३ अर्ब खर्च दाबीमा प्रश्न, ७९ करोड ९१ लाख आयकर छली गरेको देखियो

बिहीबार , जेठ १७ २०८१
बजारीकरणका नाममा दोहोरो खर्च देखाएर करछली गर्दै एनसेल

एनसेलले दुई वर्षमै बजारीकरणको नाममा गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएको छ। एउटै कामको चार ठाउँमा खर्च देखाएर उसले दाबी गरेको छ।

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बजार प्रबर्द्धन तथा ग्राहक बढाउने नाममा गरेको खर्चमा प्रश्न उठेको छ।

एनसेलले एउटै प्रकृतिको खर्चलाई विभिन्न शीर्षकमा राखी धेरै खर्च देखाएको पाइएको छ। दुई आर्थिक वर्षको फाइल अध्ययनबाट अस्वभाविक खर्च दाबी देखिएपछि ठूला करदाता कार्यालयले अनुसन्धान अघि बढाएको छ। 

लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन शंकास्पद देखिएपछि कार्यालयले यसमा अनुसन्धान अघि बढाएको छ। महालेखाको अन्तिम प्रतिवेदनमा पनि यो प्रश्न उठेको छ। 

एनसेलले दुई वर्षमै बजारीकरणको नाममा गरेको खर्चमध्ये ३ अर्ब १९ करोड दोहोरो देखिएको छ। एउटै कामको चार ठाउँमा खर्च देखाएर उसले दाबी गरेको छ। 

धेरै खर्च देखाउँदा न्यून आयकर तिर्नुपर्ने भएकाले कम्पनीले यस्तो गरेको हो। एकै प्रकृतिको खर्च भिन्न-भिन्न शीर्षकमा दोहोरो हुने गरी  आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा बजारीकरण खर्चमा गरिएको ३ अर्ब १९ करोड ६६ लाख ४० हजार अमान्य गर्नुपर्ने महालेखाको परीक्षणबाट देखिएको छ। यसबाट मात्र ७९ करोड ९१ लाख आयकर छली गरेको देखिएको छ। 

ग्राहकलाई दिएको छुटका नाममा पनि एनसेलले खर्च दाबी गरेको छ। कुनै पनि प्याकेजलाई ५ सय रुपैयाँको कायम गर्ने र त्यसलाई ३ सयमा बिक्री गर्दा २ सय रुपैयाँ खर्च दाबी गरिएको पाइएको छ। त्यस्तै विज्ञापन तथा अन्य बजारीकरणको नाममा पनि दोहोरो खर्च दाबी गरेको पाइएको छ। 

ठूला करदाता कार्यालयले एनसेलको यो खर्च दाबीमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ। 

विदेशी लगानीको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले करछलीका लागि गरेको अस्वभाविक खर्च दाबीको विषयका साथै कर कार्यालयले अरु विषयमा पनि अनुसन्धान अघि बढाएको छ। 

टेलिया सोनेराबाट अजियाटाले खरिद गर्दाको पुँजीगत लाभकरको विवादसँगै अन्य करको विवादमा परेको कम्पनीले बैंकबाट लिएको ऋण अपचलनसँगै करछली गरेको विषयमा अनुसन्धान भइरहेको छ। 

व्यवसाय विस्तारका लागि भनेर लिएको ऋण पुँजीगत लाभकर तिर्न तथा अन्य सामान्य दायित्व भुक्तानीमा उपयोग भएको पाइएको हो। अजियाटाको दायित्वमा रहेको लाभकरको दायित्व भुक्तानी नेपालको बैंकबाट लिएको ऋण प्रयोग गरिएको थियो। 

आर्थिक वर्ष २०७८/७९ मा लिएको ऋण रकम व्यवसायको आय आर्जनको लागि प्रयोग भएको नभइ विदेशी नियन्त्रित निकायले तिर्नुपर्ने पुँजीगत लाभकरलगायत नियमित किसिमका दायित्वहरू भुक्तानीमा प्रयोग भएको देखिएकोले खर्चकट्टी अमान्य गर्न महालेखाले सुझाव दिएको छ। 

दुई वर्षमा गरी एनसेलले ५ अर्ब ३४ करोड ४८ लाख ८१ हजार खर्च कट्टी गराएको छ। यसमा सिधा दुईवटा अनियमितता भएका छन्। यसबाटमात्र झन्डै डेढ अर्ब रुपैयाँ करछली गरेको पाइएको छ। 

एनसेलले बुझाएन नवीकरण दस्तुर, अब ३ अर्ब जरिबाना तिर्नुपर्ने एनसेलले बुझाएन नवीकरण दस्तुर, अब ३ अर्ब जरिबाना तिर्नुपर्ने ५ अर्ब कर्जा अपचलन गरेर एनसेलले १ अर्ब ५० करोड करछली गर्‍यो ५ अर्ब कर्जा अपचलन गरेर एनसेलले १ अर्ब ५० करोड करछली गर्‍यो


प्रकाशित : बिहीबार , जेठ १७ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend