शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

चिनियाँ विद्युतीय कारमा कर लगाउने अमेरिकी सरकारको विपक्षमा उभिए टेस्ला सीईओ मस्क

शुक्रबार, जेठ ११ २०८१
चिनियाँ विद्युतीय कारमा कर लगाउने अमेरिकी सरकारको विपक्षमा उभिए टेस्ला सीईओ मस्क

गत साता बाइडेन प्रशासनले अमेरिका आउने चिनियाँ विद्युतीय सवारीमा १ सय प्रतिशत कर लगाउने निर्णय गरेको थियो।

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला विश्वको चर्चित कम्पनीका रुपमा रहेको छ। विद्युतीय कार उत्पादनमा नयाँ मानक कायम गर्न सफल टेस्ला इंकको प्रतिस्पर्धा पनि बढ्दै गइरहेको छ। 

ती प्रतिस्पर्धीहरूमध्ये पछिल्लो समय चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडी अटो इन्डस्ट्रीले धेबैभन्दा ठूलो चुनौती टेस्लालाई दिइरहेको छ। विद्युतीय सवारी उत्पादन संख्याका आधारमा हाल टेस्लालाई उछिनेर बीवाईडी अघि बढिसकेको छ। 

बीवाईडी एसिया, युरोप, अफ्रिकासहित अमेरिकी देशहरूमा गइरहेको र जान चाहिरहेको छ। अमेरिका सरकार भने चिनियाँ विद्युतीय सवारी प्रवेश कडाइ गर्न उच्च कर लगाउने निर्णयमा पुगेको हो।

पछिल्लो पटक अमेरिका जाने योजनामा पनि बीवाईडी नै रहेको छ। तर टेस्लाको प्रतिस्पर्धीकै रुपमा रहेको बीवाईडीलगायत चिनियाँ सवारीलाई ‘कर’ सहारामा रोक्न नहुने पक्षमा टेस्लाका सीईओ एलन मस्क उभिएका छन्। 

मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युृतीय सवारी आयातमा कर बढाउन गरेको निर्णयलाई समर्थन गर्न नसक्ने बताएका छन्।

‘न टेस्लालाई न त अरु कसैलाई मैले यो कर बढाउने कुरा मागेको छु,’ उनले फ्रान्सको पेरिसमा आयोजित भिभाटेक कन्फ्रेन्समा बताएको सीएनबीसीले लेखेको छ। अमेरिकी सरकारले चिनियाँ विद्युतीय सवारीमा कर बढाउने घोषणा सुनेर आफै चकित भएको मस्कले बताएका छन्। 

गत साता बाइडेन प्रशासनले अमेरिका आउने चिनियाँ विद्युतीय सवारीमा १ सय प्रतिशत कर लगाउने निर्णय गरेको थियो। सस्तो चिनियाँ विद्युतीय सवारीले अमेरिकी बजार प्रभावित गरेको तर्क गर्दै बाइडेन प्रशासनले १ सय प्रतिशत कर लगाउने निष्कर्षमा पुगेको थियो। 

बेइजिङले विद्युतीय सवारी उत्पादकलाई उच्च सहुलियत दिएर विद्युतीय सवारी तथा सोलार प्लानलको माग आन्तरिक बजारमा बढाएको र सोही परिणामका कारण अन्य देशमा चिनियाँ विद्युतीय सवारी सस्तोमा आएको बाइडेन प्रशासनले भन्दै आएको छ। 

विश्व बजारमा विद्युतीय सवारीमा व्यापक प्रतिस्पर्धा बढेकाले टेस्लाको बिक्रीमा केही कमी आएको छ। त्यस्तै चीनमा गिगाफ्याक्ट्री बनाएर कार उत्पादन गरिरहेको टेस्ला चिनियाँ प्रतिस्पर्धीकै कारण दबाबमा छ। २०१२ यता टेस्लाको आम्दानी पहिलो त्रैमासमा पहिलो पटक घटेको हो। 

यसकाबीच टेस्लाका सीईओ मस्क अमेरिकी सरकारको चिनियाँ सवारीमा कर लगाउने निर्णयको विपक्षमा उभिएका हुन्। ‘टेस्लाले चिनियाँ बजारमै करबिना र समान रुपको अन्य सहयोगमै प्रतिस्पर्धा गरिरहेको छ,’ मस्कले भनेका छन्, ‘म कर लगाउन नहुने पक्षमा छु।’ 

त्यस्तै मस्कले विद्युतीय सवारीलाई दिइएको कर इनसेन्टिभमा समेत असहमति जनाएका छन्। ‘म कर लगाउन नहुने, विद्युतीय सवारीलाई अतिरिक्त सहुलियत पनि दिन नहुने पक्षमा छु’ टेस्ला सीईओ मस्कले भनेका छन्, ‘यस्तो सहुलियत तेल र ग्यासमा पनि हुन हुन्न।’ 

यो वर्षको सुरुवातमा मस्कले व्यापारमा कडाइ गरिएका देशहरूमा पनि चिनियाँ विद्युतीय सवारी पुग्ने बताएका थिए। त्यस्ता देशहरूमा पनि चिनियाँ विद्युतीय सवारीले व्यापक रुपमा प्रधिस्पर्धाको सृजना गर्ने उल्लेख गरेका थिए। ‘साँच्चै भन्ने हो भने व्यापार अवरोध नहुने हो भने चिनियाँ विद्युतीय सवारीले विश्वभर दबदबा कायम गर्ने छन्’ उनले जनवरीमा भनेका थिए। 

बाइडेन प्रशासनले गतसाता चिनियाँ विद्युतीय सवारीमा १ सय प्रतिशत, चिनियाँ सोलार सेलमा ५० प्रतिशत र चिनियाँ स्टिल र अल्मुलियममा २५ प्रतिशत कर बढाएको हो। नयाँ करको दर आउनुअघि अमेरिकामा जाने चिनियाँ विद्युतीय सवारीमा २५ प्रतिशत कर लाग्दै आएको थियो। त्यस्तै सोलार सेलमा २५ प्रतिशत र स्टिलमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो। 


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend