शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

६ सय किलोमिटर रेन्जसहित किया ईभी थ्री सार्वजनिक

शुक्रबार, जेठ ११ २०८१
६ सय किलोमिटर रेन्जसहित किया ईभी थ्री सार्वजनिक

स्ट्यान्डर्ड मोडलमा ५८.३ किलोवाट आवरको ब्याट्री छ भने लङ रेन्ज मोडलमा ८१.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यी दुवै मोडलमा १ सय ५० किलोवाटको मोटर जडान गरिएको छ।

काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले अर्को नयाँ विद्युतीय कार विश्व बजारमा सार्वजनिक गरेको छ। किया सार्वजनिक गरेको नयाँ ईभी थ्री पनि कम्पनीको फ्ल्यागसिप ईभी नाइनबाटै प्रभावित रहेको छ। 

निक्कै आकर्षक डिजाइन र विलासी इन्टेरियरसहितको किया ईभी थ्री बजारमा आएको हो। यो कारमा ३० इन्चको वाइड स्क्रिनसहितको आकर्षक ड्यासबोर्ड रहेको छ। 

यो कारमा कियाको चौथो पुस्ताको ब्याट्री प्रविधि प्रयोग गरिएको छ। कम्प्याक्ट एसयूभी सेगमेन्टमा किया ईभी थ्रीले सबैभन्दा धेरै रेन्ज दिने दाबी गरिएको छ। किया ईभी थ्रीले एक पटकको फुल चार्जमा ६ सय किलोमिटर रेन्ज दिनेछ। यो रेन्ज डब्लूएलटीपी साइकल प्रमाणित रहेको छ। 

किया ईभी थ्री दुई भेरियन्ट स्ट्यान्डर्ड र लङ रेन्जमा उपलब्ध छ। स्ट्यान्डर्ड मोडलमा ५८.३ किलोवाट आवरको ब्याट्री छ भने लङ रेन्ज मोडलमा ८१.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यी दुवै मोडलमा १ सय ५० किलोवाटको मोटर जडान गरिएको छ। 

ईभी थ्रीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ७.५ सेकेन्डमा तय गर्न सक्ने भने यसको अधिकतम गति १ सय ७० किलोमिटर प्रतिघघण्टा रहेको छ। यो कारको चार्जिङ इफिसियन्सी उच्च छ। १० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३१ मिनेटमात्र लाग्ने दाबी कम्पनीले गरेको छ। 

यो इफिसियन्सीलाई स्टेट अफ द आर्ट ब्याट्री म्यानेजमेन्ट र सेल मोनिटरिङ युनिटले सहयोग गर्नेछ। यसले उर्जा प्रयोगलाई बढाउने र समग्रमा सवारीको दक्षता बढाउने छ। 

किया ईभी थ्रीमा एडभान्स सेफ्टी र ड्राइभिङ असिस्टेन्स सिस्टम रहेको छ। हाइवे ड्राइभिङ असिस्टसहित नयाँ ईडीटीभीसी इलेक्ट्रिक डाइनामिक टर्क भेक्टरिङ कन्ट्रोल पनि रहेको छ। यसले स्थिर र स्मुद ड्राइभिङ अनुभव दिनेछ। 

यो कारमा कियाको रिमोट स्मार्ट पार्किङ असिस्ट र १२ इन्जको हेड-अप डिस्प्ले विशेषता रहेको छ जसले सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ। किया ईभी थ्रीमा आई-पेडल ३.० रिजेनेरेटिङ ब्रेकिङ टेक्नोलोजी पनि समावेश छ। यो प्रविधिले कारको रेन्ज बढाउन र उर्जा खपत कम गर्न सहयोग गर्छ। 

हाल शोकेसका लागि सार्वजनिक गरेको किया ईभी थ्री कोरियामा आगामी जुलाईमा बिक्रीका लागि सार्वजनिक हुनेछ। २०२४ भित्रै युरोपेली बजारमासमेत ईभी थ्री बिक्रीका लागि उपलब्ध हुनेछ। 

भारत र नेपाली बजारका लागि भने यो कार कहिले आइपुग्छ यकिन भएको छैन। २०२४ को अन्त्यसम्ममा नेपाली बजारमा भने आउने अनुमान गरिएको छ। कियाको ईभी सिक्स पनि भारतीय बजारमा भन्दा पहिले नेपाली बजारमा आएको थियो। 

त्यस्तै कियाको फ्ल्यागसिप ईभी नाइन भारतमा अटो एक्सपो २०२३ मा शोकेस गरिएको थियो। तर ईभी नाइन हालै काठमाडौंमा आइसकेको छ। कियाको नेपालका लागि आधिरिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले किया ईभी नाइन केही दिनमै बिक्री सुरु गर्ने जनाएको छ। कम्पनीले उक्त कारको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्ने उल्लेख गरेको छ।


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend