मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

विकल र सुनिलको भ्रष्टाचार श्रृंखलामा उस्तै शैली उही साझेदार, पूर्वप्रधानन्यायाधीश श्रेष्ठको छोरासमेत सारथी

images
बिहीबार , जेठ १० २०८१
images
images
विकल र सुनिलको भ्रष्टाचार श्रृंखलामा उस्तै शैली उही साझेदार, पूर्वप्रधानन्यायाधीश श्रेष्ठको छोरासमेत सारथी

न्यायिक क्षेत्रमा प्रतिष्ठितमात्र होइन अझै पनि प्रभावशाली मानिने कल्याण श्रेष्ठका छोरा र सबै राजनीतिक तहमा सम्बन्ध भएका शक्तिशाली व्यवसायी जोडिएका कम्पनी विकल/सुनिलका भ्रष्टाचारमा सारथी भएका छन्।

images
images

काठमाडौं- नेपाल टेलिकमका निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पछिल्लो समय अख्तियारले एकपछि अर्को मुद्दा दायर गरिरहेको छ। 

images
images
images

नेपाल सरकारको प्रविधिसम्बन्धी सेवा तथा उपकरण खरिदमा पछिल्लो दुई दशकदेखि राज गरिरहेका यी पौडेलद्वयविरुद्ध अख्तियारले श्रृंखलाबद्ध रुपमा अनियमितताको मुद्दा दायर गरेको छ। कागज प्रमाण र मनी ट्रेल गरेरै अख्तियारले उनीहरूको कर्तुतविरुद्ध मुद्दा दायर गरेको छ। 

images
images

भ्रष्टाचारको एक मुद्दामा दुवैजना दोषी ठहर भइसकेका छन् भने बाँकी मुद्दा विचाराधीन छन्। दुवै जनाविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा पनि परेको छ। 

images
images
images

विधि र पद्धतिविपरीत टेन्डर आह्वान गरेको, मिलेमतोमा सीमित कम्पनीलाई मात्र अर्बौँको ठेक्का दिएको जस्ता दर्जनौँ अनियमितताको मुद्दासँगै सेवा अवधिमा अकुत आम्दानी गरेको पनि पाइएको छ। यी पौडेलविरुद्ध अख्तियारले विदेशमा रहेका कम्पनीको आधिकारिक सूचनाबाटै उनीहरूको अवैध आम्दानीको पुष्टि पनि गरेको छ।

यी दुई पौडेलविरुद्ध अख्तियारले एक वर्षको अन्तरमा एकसाथजस्तो आधा दर्जन भ्रष्टाचारको मुद्दा दायर गर्नु त केवल संयोगमात्र हो। यीनमा फरक प्रकरणमा अनियमितताको मुद्दा परेको हो। तर सार्वजनिक खरिद र त्यसमा पनि प्रविधिको खरिदमा यी दुई पौडेलको जोडी चर्चित थियो।

निकट नातेदार नपर्ने यी दुई पौडेल कुनै समय एउटै ठाउँमा काम गर्थे सूचना प्रविधि केन्द्रमा। तर विकल सुरक्षण मुद्रण केन्द्रमा पुगेपछि सुनिल सूचना प्रविधि केन्द्रको कार्यकारी भए। त्यसभन्दा पहिले सुनिल त्यहीँ दोस्रो तहमा बसेर काम गर्थे। सुनिल-विकलको जोडी खरिदमा सेटिङ गर्नसक्ने बलियो सिन्डिकेटको पहिचान बनिसकेको थियो।

गएको दशकमा भएका ठूला मानिएका प्रविधिको खरिदमा यी दुवैको संलग्नता थियो। प्राय सबै ठूला खरिदको प्राविधिक तयारीदेखि लिएर अन्तर्राष्ट्रिय नेक्सससमेत मिलाउन सक्ने क्षमता भएको यो जोडी अघि सरेपछि अर्बौँका ठेक्का फत्ते गर्छन् भन्ने विश्वास सबैमा थियो। 

सरकारले प्रविधिको खरिद गर्दा 'स्पेसिफिकेसन' बनाउनेदेखि लिएर गुरुयोजना बनाउनका लागि प्राविधिक दक्षता चाहिन्छ। यसका लागि सूचना प्रविधि केन्द्रकै सहायता लिने गरिन्छ। खरिद योजनादेखि नै टेन्डर दस्तावेज बनाउनेसम्म उनीहरूको सहायता लिइन्थ्यो त्यही भएर उनीहरूले यसमा महारथ हासिल गरेका थिए।

सरकारले खरिद हुने हरेक प्रविधिका टेन्डरमा उनीहरूको प्राविधिक इन्पुट अनिवार्यजस्तै बनिसकेको थियो। उत्पादकदेखि आपूर्तिकर्तासम्म चिनजान बनाइसकेका यी दुई पौडेलले पछिल्लो एक दशकमा राज गरेका थिए। अवस्था यस्तो बनेको थियो कि दुई पौडेलको सेटिङको सिन्डिकेट नै थियो। 

नम्बर प्लेट, एमआरपी, अन्त:शुल्क स्टिकर र सवारी चालक अनुमतिपत्रजस्ता केही ठूला खरिदमा विकल पौडेलको देखिनेगरी सहभागिता थियो भने सुनिलको त्यसमा सहायक भूमिका।

त्यस्तै सुरक्षण मुद्रणको सानो खरिददेखि ठूलासम्म उनीहरूले नै सबै मिलाउने काम गरेका थिए भने सूचना प्रविधि केन्द्रको डेटा सेन्टरदेखि लिएर इन्टरप्राइज ईमेल र नेसनल पेमेन्ट गेटवेसम्म तजबिजमै खरिद गरेका थिए।

नयाँ विषयमा काम गर्न प्रणाली जानकार नहुँदाको फाइदा यी दुवैले यसरी लिए कि अनिवार्य आवश्यकता नै बने। त्यही भएर त सबै राजनीतिक दलको समेत प्रिय बने।

सुनिल, विकलको शैली एउटै 

यी दुई पौडेलको उदय एउटै ठाउँबाट भएर लामो समय सँगै पनि काम गरेका थिए। त्यही भएर यिनीहरूको अनियमिततामात्र होइन सारथी पनि एउटै रहेका छन्।

दुईवटा विदेशी कम्पनी र त्यसका तीनवटा स्वदेशी आपूर्तिकर्तासँगको सेटिङमा उनीहरूले कमिसन कुम्ल्याएका थिए। यतिसम्म कि विदेशी कम्पनीको एजेन्ट पनि आफै भएर पैसा बुझी सिंगापुरदेखि अमेरिकासम्म लगानी विस्तार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 

विकल पौडेलले दुईवटा विदेशी कम्पनी र तीन स्वदेशी आपूर्तिकर्तासँगको सेटिङबाट करोडौँ रूपैयाँ कमिसन लिएको पाइएको छ। केन्द्रको उपकरण तथा सेवा खरिदमा हुने टेन्डरमा नेपालका चारवटा आपूर्तिकर्ता डब्लूडीएन, ओम्नी, म्याक्स र नेक्स्टजेन सोलुसन कम्पनीसँग मिलेर टेन्डरको कोटेसन सोहीअनुसार बनाइ ठेक्का दिने र त्यसबापतको कमिसन सिंगापुर र अमेरिकामा बुझ्ने गरेको पाइएको छ। यसरी पौडेलले २८ करोड ९५ लाख रूपैयाँ आम्दानी गरेका थिए। 

त्यस्तै नेपालमा जुन कम्पनीले सामग्री आपूर्ति गर्छन् त्यही कम्पनीको परामर्शदाता र एजेन्ट नियुक्ति लिएर विकल पौडेलले थप आम्दानी गरेको पाइएको छ। नेपालका तीनवटा आपूर्तिकर्तलाई सामान आपूर्ति गर्ने कम्पनीलाई विदेशबाट सामान आपूर्ति गर्ने ब्यानकोटेक र इन्स्टासाफे नामका कम्पनीबाट एजेन्सी लिने त्यही कम्पनीका स्थानीय साझेदारलाई ठेक्का दिएको पाइएको छ। यी कम्पनीबाट उनले ११ लाख डलर भुक्तानी लिएको अख्तियारले प्रमाण फेला पारेको छ।

यसमा पहिलो कुरा त नेपाल सरकारको पदमा भएको मान्छेले विदेशी कम्पनीको परामर्शदाता नियुक्ति लिनु गैरकानूनी हुने र अर्कोतिर सोही कम्पनीलाई ठेक्का दिएर चौतर्फी मिलेमतोबाट आम्दानी गरेको पाइएको छ। 

ठ्याक्कै सुनिल पौडेलले पनि यही विधिबाट कमिसन लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। निश्चित कम्पनीसँग मिल्नेगरी मापदण्ड बनाइ कोटेसन माग गर्ने र निश्चित कम्पनीलाई ठेक्का दिने, त्योबापत ती कम्पनीले सुनिलका दाइको नाममा सिंगापुरमा रकम जम्मा गरिदिने गरेको पाइएको अख्तियारकै अनुसन्धानबाट खुलेको छ। 

चारवटा नेपाली एजेन्ट र दुईवटा विदेशी कम्पनीसँग मात्र प्रविधिको खरिद गरिएको र उनीहरूले सुनिललाई सिंगापुरमा भुक्तानी गरेको पाइएको अख्तियारले दाबी गरेको छ। प्रविधिको खरिद गर्दा गुणस्तरभन्दा पनि न्यून मूल्य राख्ने र कमसल प्रविधि भिडाएर सरकारलाई घाटा लगाउने, अर्कोतिर त्यसरी बचत भएको रकमबाट सबैलाई भाग पुर्‍याउने प्रवृत्ति मौलाएको छ। यस्तो भ्रष्टाचारको मुख्य आर्किटेक्ट नै सुनिल पौडेल र विकल पौडेल हुन्। यी दुवै पौडेलका साझेदर कम्पनी भने एउटै छन्। 

अख्तियारकै अनुसन्धानले पनि मुख्यगरी चारवटा कम्पनीसँग यस्तो मिलेमतो गरेर खरिद सम्झौता गरेको पाइएको छ। जसमा वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, ओम्नी समूह, म्याक्स र नेक्स्टजेन सोलुसन रहेका छन्। यी चारवटा कम्पनी नै नेपालको प्रविधि खरिदको भ्रष्टाचारका साझेदार रहेका छन्। मिलेमतोमा ठेक्का लिने साथै कमसल र असुरक्षित प्रविधि दिएर नाफा कुम्ल्याउन यी कम्पनी साझेदार रहँदै आएका छन्। जुनसुकै खरिदमा पनि यी कम्पनी मुख्य रुपमा जोडिँदै आएका छन्। 

पौडेलबन्धुको भ्रष्टाचारको सेटिङका साझेदार कम्पनीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोराको कम्पनी पनि जोडिएको छ। नेक्स्टजेन सोलुसन नामको यो कम्पनी विकल र सुनिल दुवैको अवैध आम्दानीको साझेदार भएको पाइएको छ। यो कम्पनी अभिषेक श्रेष्ठको हो।

उक्त कम्पनीसँग सुनिल पौडेलको निकटता कतिसम्म थियो भने नेपाल टेलिकमको प्रबन्धक हुँदासम्म ईमेलको ठेक्का नै दिएका थिए। औचित्य नै नभएको ओपन सोर्स ईमेल बनाएर उक्त कम्पनीलाई दिइएको थियो, त्यसबापत करोडौँ रूपैयाँ गएको थियो। 

अभिषेक श्रेष्ठ र पौडेलको निकटता सुरुवातदेखि नै रहेको जानकारहरू बताउँछन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकले सन् २०१७ मा नेक्स्टजेन सोलुसन नामको कम्पनी स्थापना गरेका थिए, ठीक त्यही समयमा सुनिल सूचना प्रविधि केन्द्रको हर्ताकर्ता भएका थिए। 

यो प्रकरणमा जोडिएका मुख्य कम्पनी बलियो शक्ति केन्द्रसँग साँठगाँठ भएका मानिन्छन्। ओम्नी आफैमा उच्च राजनीतिक नेतृत्वसँग नेक्सस भएको कम्पनी हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विशेष सम्बध यो कम्पनीको छ। त्यस्तै म्याक्स पनि राजनीतिक नेतृत्वदेखि शक्तिकेन्द्रसम्मै पहुँच राख्ने कम्पनी हो।

न्यायिक क्षेत्रमा प्रतिष्ठितमात्र होइन अझै पनि प्रभावशाली मानिने कल्याण श्रेष्ठका छोरा र सबै राजनीतिक तहमा सम्बन्ध भएका शक्तिशाली व्यवसायी जोडिएका कम्पनी विकल/सुनिलका भ्रष्टाचारमा सारथी भएका छन्। 

सुनिल पौडेलको भ्रष्टाचार र अकुतका सारथीमाथि राजस्व अनुसन्धानको छानबीन सुरु सुनिल पौडेलको भ्रष्टाचार र अकुतका सारथीमाथि राजस्व अनुसन्धानको छानबीन सुरु सुनिल पौडेलको भ्रष्टाचार र अकुत सम्पत्तिका सारथीलाई उन्मुक्ति सुनिल पौडेलको भ्रष्टाचार र अकुत सम्पत्तिका सारथीलाई उन्मुक्ति विकल पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचारको मुद्दा, सरकारी नियुक्ति, विदेशी कम्पनीको एजेन्ट, नेपालदेखि सिंगापुर र अमेरिकासम्म लगानी विकल पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचारको मुद्दा, सरकारी नियुक्ति, विदेशी कम्पनीको एजेन्ट, नेपालदेखि सिंगापुर र अमेरिकासम्म लगानी 


प्रकाशित : बिहीबार , जेठ १० २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend