बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

८६ करोड ८९ लाख लगानीमा ३ हजार ईभी भ्यान र ३ हजार कार बनाउन नयाँ उद्योग

शतप्रतिशत नै चिनियाँ लगानी

बुधबार, जेठ ९ २०८१
८६ करोड ८९ लाख लगानीमा ३ हजार ईभी भ्यान र ३ हजार कार बनाउन नयाँ उद्योग

एसिया भेहिकलले सञ्चालन गर्ने सवारी एसेम्बल उद्योगमा ९१ जनाले रोजगारी पाउने छन् भने यसमा ८६ करोड ८९ लाख ३२ हजार रुपैयाँ लगानी गरिने प्रस्ताव गरिएको छ।

काठमाडौं- नेपालमै सवारी एसेम्बल गर्न उद्योग दर्ता हुने क्रम बढ्दो छ। यही क्रममा एसिया भेहिकल नामको कम्पनीले वार्षिक ६ हजार चारपांग्रे सवारी एसेम्बल/उत्पादन गर्न नयाँ उद्योग दर्ता गरेको छ।

बारा जिल्लामा उक्त एसेम्बल उद्योग राख्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्तावअनुसार वार्षिक ३ हजारवटा आईसीई इन्जिन प्यासेन्जर कार र ३ हजारवटा विद्युतीय भ्यान बनाउने योजना कम्पनीले अघि सारेको छ। 

एसिया भेहिकलले सञ्चालन गर्ने सवारी एसेम्बल उद्योगमा ९१ जनाले रोजगारी पाउने छन्। यसमा ८६ करोड ८९ लाख ३२ हजार रुपैयाँ लगानी गरिने प्रस्ताव गरिएको छ। 

नेपालमा दुईपांग्रे, चारपांग्रे, विद्युतीय सवारी, ठूला सवारीसम्म एसेम्बल गर्ने भन्दै करिब तीन दर्जन उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल उद्योग सञ्चालन गर्न उद्योग भने कम छन्। केही समयअघिसम्म दुईपांग्रे सवारीमात्र एसेम्बल हुँदै आएकोमा अहिले हुन्डाईको कार एसेम्बल हुन थालेको छ। 

हाल नेपालमा बजाज, टीभीएस, यामाहा, रोयल इनफिल्ड, सुजुकी र हिरोका मोटरसाइकल एसेम्बल हुँदै आएका छन्। त्यस्तै दुई/तीन वटा चिनियाँ ब्रान्डका विद्युतीय सवारी एसेम्बल भइरहेका छन्। 

त्यस्तै विद्युतीय सवारी एसेम्बल गर्न पनि करिब डेढ दर्जन उद्योग दर्ता भएका छन्। चारपांग्रे सवारी एसेम्बलमा सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा २५ प्रतिशत भन्सार, ५० प्रतिशत अन्तःशुल्क छुटसहित आयकरलगायतमा पनि छुट सुविधा दिएको छ।

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ। लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। लक्ष्मी मोटर कर्पोरेसनले बैशाख २८ गते हुन्डाई कार एसेम्बली प्लान्ट उद्घाटन गरेको हो।

लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ। लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यावसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन् तर एसेम्बल गर्ने प्रक्रिया भने सुरु गरेका छैनन्।  


प्रकाशित : बुधबार, जेठ ९ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend