बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गृह मन्त्रालयमा मन्त्री र सचिवबीच टसल

जानकारी नदिइ एमालेसम्बद्ध कर्मचारी धमाधम भित्र्याएको भन्दै मन्त्री रुष्ट, सचिव सरुवा गर्न प्रधामन्त्री अनिच्छुक

बुधबार, जेठ ९ २०८१
गृह मन्त्रालयमा मन्त्री र सचिवबीच टसल

पछिल्लो समय गृहमन्त्रीको चाहानामा अघि बढेका फाइललाई सचिवले ढिला गर्ने गरेका छन्। टसल बढ्दै जाँदा निर्णय प्रक्रियामा पनि अवरोध भइरहेको गृहका अधिकारीहरूले बताएका छन्।

काठमाडौं- गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालबीच पछिल्लो समय टसल बढ्दै गएको छ।

रविकै संरक्षक जस्तो देखिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसामा सचिवले गृह प्रशासन सञ्चालनमा एकलौटी गर्न थालेपछि मन्त्री लामिछाने असन्तुष्ट बनेका हुन्। 

निर्णय क्षमतामा अब्बल भएको भन्दै लामिछानेकै रोजाइमा गृह पुगेका अर्यालसँग पछिल्लो समय उनको दुरी बढ्दै गएको गृहका अधिकारीहरूले बताएका छन्। विशेषगरी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको सरुवासँगै अरु कर्मचारीको भर्तीमा पनि अर्यालले मनपरी गरेको भन्दै मन्त्री लामिछाने असन्तुष्ट देखिएका हुन्।

गृहमन्त्री लामिछाने पछिल्लो समय काठमाडौंमा जितेन्द्र बस्नेतलाई हटाउन चाहन्छन्। तर जम्मा तीन महिना समय रहेको भन्दै सचिवले सरुवाको प्रक्रिया अघि बढाउन मानिरहेका छैनन्।

त्यस्तै स्थानीय तह तथा अन्य सरकारी कार्यालयमा विवादित भएका कर्मचारीलाई धमाधम गृह मन्त्रालयमा छिराएको तर आफूले भनेका कुरा सचिवले नमानेको भन्दै मन्त्री लामिछाने असन्तुष्ट छन्। 

‘मुख्य असन्तुष्टीको विषय पछिल्लो समय गृहमा अर्याल आएसँगै प्रवेश भएका कर्मचारीका विषयमात्र छैनन्, सचिवले नै गर्ने काम भए पनि मन्त्रीको कन्सर्न लिनुपर्नेमा नलिएकोमा पनि मन्त्रीले असन्तुष्टी राखेकोजस्तो देखिन्छ’ मन्त्रालयकै एक अधिकारीले भने। 

अर्यालको सम्बन्ध एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राम्रो छ। ओलीसँगको सम्बन्धका कारणले पनि आफूलाई नटेरेको हुनसक्ने लामिछानेको बुझाइ छ। सचिव सरुवा गरिदिन भनेर मन्त्रीले प्रधानमन्त्रीलाई भनेपनि महिना-महिनामा सचिव परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आलटाल गरिरहेका छन्। 

पछिल्लो समय गृहमन्त्रीको चाहानामा अघि बढेका फाइललाई सचिव अर्यालले ढिला गर्ने गरेका छन्। टसल बढ्दै जाँदा निर्णय प्रक्रियामा पनि अवरोध भइरहेको गृहका अधिकारीहरूले बताएका छन्। 


प्रकाशित : बुधबार, जेठ ९ २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend