बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१० वर्ष ढिला हुँदा पनि बनेन हुलाकी राजमार्गको कन्काई खोला पुल, अनुसन्धान गर्दै अख्तियार

चालु आर्थिक वर्षमा एक प्रतिशत पनि भएन काम

मंगलबार, जेठ ८ २०८१
१० वर्ष ढिला हुँदा पनि बनेन हुलाकी राजमार्गको कन्काई खोला पुल, अनुसन्धान गर्दै अख्तियार

पप्पु महादेव जेभीले निर्माण गरिरहेको सात सय २५ मिटर लम्बाइको पुल बनाउन ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। हालसम्म ५० प्रतिशत भुक्तानी भइसकेको छ।

इटहरी- हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलाको पुल गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ। २०८० फाल्गुन २१ गते परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन प्रक्रिया अगाडि बढाएको हो। 

हुलाकी सडक आयोजनालाई बैशाख ३० गते पत्र पठाउँदै अख्तियारले कन्काई पुल निर्माणको सम्पूर्ण कागजात माग गरेको छ। ठेक्का सम्झौता, भुक्तानी, अनुमानित लागत तथा ल्याब टेस्ट रिपोर्ट माग गरेपछि आयोजनाले प्रतिउत्तर दिने तयारी गरेको छ।  

ठेक्का पाएको निर्माण कम्पनीले चालु आर्थिक वर्षमा भने एक प्रतिशत पनि काम नगरेको आयोजनाले जनाएको छ। लामो समयदेखि निर्माण कार्य रोकिएको हुँदा थप कदम कसरी अगाडि बढाउने भन्नेबारे निर्णय भइनसकेको आयोजनाका प्रमुख डिल्लीराम मल्लले बताए। 

२०७२ जेठ सम्ममा सम्पन्न गर्नेगरी २०६८ जेठमा ठेक्का सम्झौता भएको कन्काई पुलको काम हालसम्म ५८ प्रतिशतमात्र सम्पन्न भएको छ।

निर्माण कार्य सम्पन्न हुनुपर्ने मितिबाट १० वर्ष ढिला भइसक्दासमेत थप काम हुन सकेको छैन। बारम्बार म्याद थप हुने तर उपलब्धि नहुँदा समेत गुणस्तरमा प्रश्न आएपछि छानबीन थालिएको मल्लको भनाइ छ।   

पप्पु महादेव जेभीले निर्माण गरिरहेको सात सय २५ मिटर लम्बाइको पुल बनाउन ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। हालसम्म ५० प्रतिशत भुक्तानी भइसकेको छ। 

झापाको क्षेत्रका नागरिकको चासोमा रहेको पुल निर्माण नहुँदा स्थानीय प्रभावित भएका छन्। झापा र गौरीगन्ज गाउँपालिकाका स्थानीयहरू बाँसको पुलमा पैसा तिरेर यात्रा गरिरहेका छन्। 

झापा गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु थपलिया बारम्बार सचेत गराउँदा समेत काम नभएको बत्ताउँछिन्। स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेको बताउँदै उनले ठेकेदारको लापरबाहीले काम नभएको बताइन्।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend