शनिबार, साउन १२ गते २०८१    
images
images
images

पुँजीकोष पुर्‍याउन अग्राधिकार सेयर जारी गर्न दिँदै राष्ट्र बैंक, हकप्रद सेयरले पनि पाउला अनुमति?

images
सोमबार, जेठ ७ २०८१
images
images
पुँजीकोष पुर्‍याउन अग्राधिकार सेयर जारी गर्न दिँदै राष्ट्र बैंक, हकप्रद सेयरले पनि पाउला अनुमति?

अग्राधिकार सेयरसँगै हकप्रद सेयर जारी गर्न दिने सम्बन्धमा समेत राष्ट्र बैंक सकारात्मक देखिन्छ।

images

काठमाडौं- पुँजीकोषको दबाबमा रहेका बैंक वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ। खराब कर्जा बढेकाले समस्यामा परेका र पुँजी कम भएर पुँजीकोषको दबाबमा परेका बैंक वित्तीय संस्थाको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत नीतिगत व्यवस्था गरेको छ।

images
images

अतिरिक्त उपकरणका रुपमा विशेषगरी राष्ट्र बैंकले अग्राधिकार सेयर र हकप्रद सेयर जारी गर्न दिने तयारी अगाडि बढाउने सम्भावना छ।

images

'बैंक वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ', मौद्रिक नीति तेस्रो समीक्षाको बुँदा नम्बर ३८ मा भनिएको छ।

अग्राधिकार सेयर जारी गर्न दिने सम्बन्धमा राष्ट्र बैंक तयार देखिन्छ। नबिल बैंकले यसअघि नै पुँजी वृद्धिका लागि ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने तयारी गरेको छ। अग्राधिकार सेयर जारीगरी पुँजी वृद्धिका सम्बन्धमा नबिल बैंकले अगाडि बढाएको फाइल राष्ट्र बैंकमा गएर रोकिएको छ। 

images

राष्ट्र बैंकले यही साता जारी गर्न लागेको सर्कुलरले पुँजी वृद्धिका लागि अग्राधिकार सेयरको अनुमति दिनासाथ नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाउन सक्छ। 

अग्राधिकार सेयरका लगानीकर्ताहरूलाई साधारण तथा संस्थागत लगानीकर्तालाई भन्दा लाभांशमा पहिलो प्राथमिकता दिइन्छ। अग्राधिकार सेयर लगानीकर्तालाई तोकिएको दरमा प्रतिफल वितरण गरिसकेपछि मात्रै बैंकका वास्तविक लगानीकर्ताले लाभांश प्राप्त गर्छन्। 

नाफा भएको वर्षहरूमा ८ प्रतिशत लाभांश दिनेगरी पुँजी फिर्ता नहुने सर्तमा अग्राधिकार सेयर जारी गर्न लागेको छ। अग्राधिकार जारी गर्ने सम्बन्धमा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप स्पष्ट पार्ने राष्ट्र बैंक स्रोत बताउँछ। 

'बैंक वित्तीय संस्थाहरूको पुँजीकोषको समस्या हल गर्न राष्ट्र बैंकले टायरवान क्यापिटलका विभिन्न उपकरणहरू प्रयोग गर्न दिने सम्बन्धमा लचक बनेको छ। मौद्रिक नीतिको समीक्षा राष्ट्र बैंकले पुँजी वृद्धिका अतिरिक्त उपकरण प्रयोग गर्न दिने सम्बन्धमा व्यवस्था गरिसकेको छ। यसमा कस्ता उपकरण प्रयोग गर्ने सम्बन्धमा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप प्रष्ट पार्नेछ।खासगरी राष्ट्र बैंकको एकीकृत निर्देशनमै रहेको अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा राष्ट्र बैंक सकारात्मक छ', स्रोतले भन्यो।

अग्राधिकार सेयरसँगै हकप्रद सेयर जारी गर्न दिने सम्बन्धमा समेत राष्ट्र बैंक सकारात्मक देखिन्छ। 

खासगरी आगामी साउनबाट टायरवान क्यापिटलअन्तर्गत ८.५ प्रतिशत र काउन्टर साइक्लिकल बफर बापतको ०.५ प्रतिशत थप गरी प्राथमिक पुँजीकोष ९ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। काउन्टर साक्लिकल बफर थप गरेपछि पुँजीकोष पर्याप्तता बैंकहरुले न्युनतम ११.५ प्रतिशत अनिवार्य रुपमा कायम गर्नुपर्ने हुन्छ।

पुँजीकोषको उक्त सीमा पुर्‍याउँदैमा मात्रै पनि कर्जा लगानी गर्न नसक्ने भएकाले कर्जा लगानीको स्पेस उपलब्ध हुने गरी पुँजी वृद्धि गर्नका लागि अग्राधिकार सेयर र हकप्रद सेयर दुबैको सुविधा आवश्यक रहेको बैंकर्स बताउँछन्। 

'अहिले कतिपय बैंक वित्तीय संस्थाहरूले हकप्रद र अग्राधिकार सेयर जारी गरेर मात्रै कर्जा लगानीका लागि स्पेस बनाउन सक्छन्। अर्थतन्त्रमा समस्या रहेकाले असुलीमा दबाब दिएकै भरमा खराब कर्जा आजको भोलि उठ्ने सम्भावना छैन। उठाउन सकेपनि त्यसले बैंकहरूको प्राथमिक पुँजीकोषको समस्या समाधान गर्दैन। गरिहाले पनि काउन्टर साइक्लिकल बफरको भार थेग्न सकिने अवस्था रहँदैन। पुँजीकोषको दबाब कम गरेर बैंकहरूलाई लगानी गर्न सक्षम बनाउने हो भने बैंकको आवश्यकताअनुसार पुँजी वृद्धिका लागि अग्राधिकार सेयर निष्कासनसहित हकप्रद सेयर निष्कासनको अनुमति दिन आवश्यक छ', एक बैंकरले भने। 

अर्थतन्त्रमा आएको संकुचनले बैंकहरूको खराब कर्जा बढेको र यसले वितरणयोग्य नाफा ऋणात्मक बनाएकाले अल्पकालीन समस्या समाधानका लागि आवश्यक पर्ने उपकरणका विषयमा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत खुलाउने बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन गुरुप्रसाद पौडेल बताउँछन्। अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा राष्ट्र बैंक सकारात्मक रहेपनि हकप्रद सेयर जारी गर्न दिने सम्बन्धका बारे अहिले नै भन्न नसकिने पौडेलले बताए।

'अर्थतन्त्रमा आएको शिथिलताले बैंकहरूको पुँजीकोषमा दबाब नै छ। यसका लागि राष्ट्र बैंक अग्राधिकार सेयर जारी गर्न दिने लगायतका प्राथमिक पुँजीकोष बढाउने उपकरण जारी गर्ने सम्बन्धमा सकारात्मक छ। यससम्बन्धी विस्तृत विषयहरू एकीकृत निर्देशनमार्फत प्रष्ट हुनेछ। अहिले खराब कर्जा बढेर बैंकहरूको पुँजीकोषमा समस्या परेको हो। बजार चलायमान भएमा अहिलेको समस्या केही समयमा नै समाधान हुन सक्छ। दीर्घकालसम्म समस्या रहने अवस्था देखिएमा राष्ट्र बैंकले अन्य विकल्पबारे थप निर्णय गर्न सक्छ', पौडेलले भने। 

चालु आर्थिक वर्ष कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक प्राथमिक पुँजीकोषको दबाबमा छन्। प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आएर ८.५ प्रतिशत पुँजीकोष पुर्‍याएको छ। सेञ्चुरी बैंकले प्रवाह गरेको विभिन्न कर्जामा समस्या भएपछि राष्ट्र बैंकले प्रोभिजनिङ थप गरेकाले यस बैंकले पुँजीकोषमा दबाब झेलेको हो। 

हिमालयन बैंक पनि प्राथमिक पुँजीकोष ८.५ प्रतिशतमाथि भएपनि पुँजीकोषकै कारण कर्जा प्रवाह गर्ने ठूलो स्पेस छैन। सिभिल बैंकसँग मर्ज गरेकाले हिमालयन बैंकले पछिल्लो समय दबाब झेलिरहेको छ।

यस बैंकले खराब कर्जाबापत ठूलो रकम प्रोभिजिनिङ गर्नु परेकाले हिमालयन बैंकको प्राथमिक पुँजीको दबाबमा फसेको हो। एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको सुरुवातबाटै पुँजीकोषको दबाब झेलिरहेको छ। गत आर्थिक वर्षको नाफाबाट करिब ३० प्रतिशत बोनस सेयर वितरण गरेपनि बैंकले पुँजीकोष पुर्‍याउन असुलीलाई प्राथमिकतामा राखेको छ। 

एनसीसी मर्जर गरेको कुमारी बैंकको अवस्था पनि यस्तै छ। एनसीसी मर्जर गरेपश्चात यो बैंक थप समस्यामा परेको हो। एनसीसी बैंकले प्रवाह गरेको कर्जा र सम्पत्तिको गुणस्तरमा समस्या देखिएकाले यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट पुँजीकोषमा दबाब झेलिरहेको छ। यस बैंकले सकारेको धितोबापतको गैरबैंकिङ सम्पत्ति र सेयर बिक्री गरेर भएपनि असुली बढाउने बाटोमा अगाडि बढेको छ।

यस्तै माछापुच्छ्रे बैंक पनि पुँजीकोषको दबाबमा फस्ने संभवना उच्च छ।प्राथमिक पुँजीकोषमा सबैभन्दा सहज अवस्थामा एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल एसविआई बैंक छन्। 


प्रकाशित : सोमबार, जेठ ७ २०८१०६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend