मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बिर्तामोडमा ‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित

आइतबार, जेठ ६ २०८१
बिर्तामोडमा ‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित

नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ। त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ।

झापा- बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ। दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौँ किसान लाभान्वित भएका छन्।

नगरपालिकाको पशु तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले मेयर पकेट कार्यक्रमअन्तर्गत १५ वटा किसान समूहलाई बाख्राको पाठा, खोर, औषधि र नश्लसुधारमा सहयोग पुर्‍याउँदै आएको बताइन्।

नगरपालिकाले दिएको तीन वटा बाख्राले पाठा ब्याएपछि एउटा पाठा नगरपालिकालाई फर्काउनुपर्ने नियम छ। त्यसरी फर्काइएका पाठा नगरपालिकाले फेरि अर्को किसान समूहलाई दिने गर्छ। चालु आर्थिक वर्षमा १५ वटा समूहमा दुई सय २५ जना बाख्रापालक किसान कार्यक्रममा जोडिएका छन्। एउटा समूहमा १५ जना किसान छन्।

नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालनमा लागेका किसान समूहलाई खोर निर्माण गर्न चालु आवमा रु पाँच लाख २५ हजार खर्च गरेको छ। किसानलाई दुई लाख ५० हजार मूल्य बराबरका बाख्राको पाठा वितरण गरिसकेको छ। नश्ल सुधारका लागि हरेक समूहलाई ७० हजारको दरले बोयर प्रजातिको बीउ बोका दिइएको दाहालले जानकारी दिए।

बाख्रा साटासाट कार्यक्रमले दलित, जनजाति, आदिवासी र विपन्न महिला समुदायको जीविकोपार्जनमा  मद्दत पुर्‍याएको विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतराले बताइन्। उनले भनिन्, 'अधिकांश ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउनै पर्दछ। यहीकारण नगरपालिकाले बाख्रा साटासाट कार्यक्रमलाई निरन्तरता दिएको हो।'

नगरपालिकाले सुरुमा सुङ्गुर साटासाट कार्यक्रम सञ्चालन गरेको थियो। यसबाट विपन्न समुदाय लाभान्वित भएपछि बाख्रा र कुखुरा साटासाट कार्यक्रम थप गरिएको हो। सुंगुर र बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भए तापनि कुखुरा साटासाट कार्यक्रम सफल हुन सकेन। बाख्राको खोर, गाईको गोठ निर्माणसँगै रोग कीरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई अनुदान र प्राविधिक सहयोग गर्दै आएको छ। 

शाखा प्रमुख दाहालका अनुसार जुका नाम्लेको औषधिसहित घाँसमासमेत नगरको सहयोग छ। नगरले माछा प्रवर्द्धन कार्यक्रममा चालु आवमा १४ लाख रूपैयाँ खर्च गरेको छ। नगरपालिका माछामा आत्मनिर्भर बनिसकेको छ।

नगरपालिकाले यसवर्ष एक हजार आठ सय कुकुरको बन्ध्याकरण गरेको जनाएको छ। गाईपालन गरी दूधमा आत्मनिर्भर बनाउन कार्यक्रम अघि सारिएको छ। यसवर्ष नगर क्षेत्रका किसानले पालेका एक हजार गाईको बीमा नगरपालिकाले गरेको छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend