सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ६ २०८१
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
फाइल तस्बिर

डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन्। त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो।

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्। बगरमा उत्पादित तरकारी बिक्री गरेर घरखर्च जुटाउँदै छन्।

'दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ', उनले भनिन्, 'आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ। सिजनमा दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ। श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्नुहुन्छ।'  

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्।

डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन्। त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ। मोलसिंह भन्छन्, 'बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ।'

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो। विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्।

'बर्खामा दोदाको बाढीले सास्ती गर्छ। उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ', उनले भने, 'बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन। उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।'

दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए।

'वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी', उनले भने, 'जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ।' रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend