शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टोयोटाको हाइलक्स पिकअप विद्युतीय भर्सनमा आउने

शनिबार, जेठ ५ २०८१
टोयोटाको हाइलक्स पिकअप विद्युतीय भर्सनमा आउने

सुरुमा टोयोटा हाइलक्स ईभी थाइल्यान्डमै उत्पादन हुने र त्यहीबाट बिक्री सुरु गर्ने योजना टोयोटो बनाएको इनसाइडईभीजले जनाएको छ।

काठमाडौं- अन्य सवारी उत्पादकले झैँ जापानी सवारी उत्पादन टोयोटा विद्युतीय सवारी उत्पादनमा आक्रामक छैन। अहिले पनि टोयोटा हाइब्रिड कारमै बढी केन्द्रित छ। समग्र कार बजारमा विद्युतीय कारको हिस्सा ३० प्रतिशतबाट माथि जान धेरै समय लाग्ने विश्वासमा टोयोटा छ। 

तथापी विश्वले शून्य प्रदूषण सवारीमा जाने संकल्प गरिसकेको र ब्याट्रीमा आधारित विद्युतीय सवारीको माग विश्वभर बढ्दै गएकाले टोयोटा दबाबकै रुपमा भएपनि विद्युतीय सवारी उत्पादनमा लागि परेको छ। विद्युतीय सवारी उत्पादनमा रणनीतिक साझेदारीदेखि ब्याट्री तथा आरएन्डडीमा अर्बौँ डलर लगानी गरिरहेको छ।

टोयोटाले आफ्नो पहिलो विद्युतीय कार बीजेडएक्स फोर सार्वजनिक गरेको थियो। विभिन्न मोडलका विद्युतीय कार टोयोटाको पाइपलाइनमा रहेको छ।

यस्तैमा हालै टोयोटाले आफ्नो चर्चित पिकअप ट्रक हाइलक्सको विद्युतीय भर्सन ल्याउने घोषणा गरेको हो। 

टोयोटा हाइलक्स रिभो बीईभी २०२५ मै सार्वजनिक हुने भएको छ। सुरुमा टोयोटा हाइलक्स ईभी थाइल्यान्डमै उत्पादन हुने र त्यहीँबाट बिक्री सुरु गर्ने योजना टोयोटो बनाएको इनसाइडईभीजले जनाएको छ। थाइल्यान्डमा बिक्री सुरु गरेलगत्तै टोयोटाले त्यहाँबाट अन्यत्र पनि हाइलक्स ईभी बिक्रीका लागि निर्यात गर्नेछ। 

toyotahilux ev inte.jpg

थाइल्यान्डमा बिक्री हुने कुल कारमा आधाभन्दा बढी पिकअपको हिस्सा रहेको छ। हाइलक्स ईभी यही बजारलाई क्यास गर्न टोयोटा केन्द्रित हुन लागेको हो। अर्को जापानी कम्पनी इसुजुले पनि थाइल्यान्डमै डीक्याक्स ईभी उत्पादन गर्ने यसअघि नै बताइसकेको छ। टोयोटाले हाइलक्स ईभीको स्पेक सार्वजनिक गरिनसकेको भएपनि इसुजुले डीक्याक्स ईभीमा ६६.९ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। 

डुअल विद्युतीय मोटरसहित अल ह्वील ड्राइमा आउने डीम्याक्स ईभीमा अगाडि ४० किलोवाट र पछाडि ९० किलोवाटको मोटर हुनेछ। समग्रमा यो पिकअपले १ सय ७४ एचपी पावर दिन्छ। 

सुरुवाती चरणमा टोयोटाले हाइलक्स ईभीको रेन्ज २ सय किलोमिटर हुने बताएको थियो। तर परीक्षण बजारको मागलगायत कारणले यसको रेन्ज निश्चय पनि बढ्ने छ। त्यसका लागि पिकअपमा केही ठूलो आकारको ब्याट्री प्याक आवश्यक पर्छ। बीजेडएक्स ईभीमा भएजत्रो ब्याट्री राखियो भने हाइलक्स ईभीको रेन्ज धेरै हुनेछ। बीजेडक्स ईभीमा ७१.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

टोयोटाले हाइलक्स ईभी बारे धेरै कुरा सार्वजनिक गरिसकेको छैन। २०२५ को सुरुवातमा टोयोटाले आईसी इन्जिनयुक्त नयाँ जेनेरेसनको हाइलक्स सार्वजनिक भएको तय गरिसकेको छ। हाइलक्स ईभी पनि यही मोडलमा आधारित हुने अनुमान गरिएको छ। 

टोयोटाले हाइलक्स ईभीसँगै अर्को एसयूभी मोडल फर्चुनर पनि विद्युतीय भर्सनमा ल्याउने तयारी गरिरहेको छ। यो मोडल भने २०२६ तिरमात्र बजारमा आउनेछ। 

अन्य प्रतिस्पर्धी सवारी उत्पादक विद्युतीय सवारी उत्पाादनमा केन्द्रित हुन थालेको, उपभोक्ताको रोजाइ पनि विद्युतीय सवारीतर्फ नै ढल्किन थालेकाले विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी टोयोटा दबाबमा छ। 


प्रकाशित : शनिबार, जेठ ५ २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend