मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान, व्यावसायिक बनाउन पहल

शनिबार, जेठ ५ २०८१
जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान, व्यावसायिक बनाउन पहल

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन्।

बागलुङ- जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातिको आलु संरक्षण अभियान थालिएको छ। बजारमा तराईका आलुभन्दा अधिकांशले स्थानीय आलुको माग गर्छन्। त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो।

जैमिनी-३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रशस्त फल्छ। त्यो आलुलाई व्यावसायिक बनाउन वडा तहमा पहल भएको हो। वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं ३ का सचिव सिमाना छन्त्यालले बताए।

यसअघि ताराखोला-४ र ५ मा खायन आलु संरक्षण अभियान सुरु भइसकेको छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन्।

बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो। बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन्।

यसअघि जैमिनी-३ का अधिकांश किसानले अन्नको पैँचोका लागि मात्र आलु प्रयोग गर्थे। अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो। 'अर्गानिक उत्पादन गर्ने र बजारमा पनि पठाउने योजनाअनुसार किसानले काम गर्नुभएको छ', वडा नं ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले भने, 'उत्पादनअनुसार अनुदानको पनि व्यवस्था छ।'

पछिल्लो समय उत्पादनमा आधारित अनुदान पाउने गरी पालिका र ज्ञान केन्द्रले काम गरेका छन्।

कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अग्र्यानिक खायन आलु विस्तार गर्न सकेमा बजारको कमी नहुने बताए। 'हामीले अहिलेसम्म ताराखोलामा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ', उनले भने, 'अन्य केही तोकिएका स्थानमा पनि त्यो चलन छ।' 

बागवानी विकास अधिकृत पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन भएको छ।

जैमिनीमा भने छन्त्याल कृषि समूहले यो काम गरेको हो। साथै अन्य किसानले पनि खायन आलुका लागि काम गरेका छन्। ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकिलो दुई रूपैयाँ किसानलाई अनुदान दिने गरेको छ। 

कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए। किसानले आलुबाटै मनग्य कमाइ पनि गरेका छन्।

आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको जनाइएको छ। घरबासका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend