मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान

गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो।

गोरखा- गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ।

अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।

'पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो', उनले भने, 'यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ।'

स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ। गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो।

कार्यक्रमबाट ३३ अतिविपन्न परिवार तथा एकल महिला लाभान्वित भएको उनले बताए। गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत अनुदानका लागि वडा नं ३, ४ र ५ का २७ जना अतिविपन्न परिवार छनौट भएका थिए।

एकल महिला जीविकोपार्जन सहयोग कार्यक्रममार्फत तीनवटा वडाका छ जना छनौट भएका छन्। छनौटमा परेका सबैलाई अनुदानमा बाख्रा वितरण गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend