मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

विपन्नको जीवनस्तर उकास्न कमलामाईमा बाख्रा वितरण

बिहीबार , जेठ ३ २०८१
विपन्नको जीवनस्तर उकास्न कमलामाईमा बाख्रा वितरण

किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

सिन्धुली- कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो। प्रायः सेतो र खैरो रंग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए।

हेटौँडाको सिमलथली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ८३ वटा बाख्रा ल्याइएको थियो। कनपा ११ र १२ को वडाका ४० जना विपन्न तथा एकल महिलालाई वितरण गरिएको छ।

उन्नत जातका बाख्रा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन्। कनपा-१२ भ्याकुरेका देवीबहादुर आलेमगरले भने, 'व्यावसायिक रुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन। आज सरकारले दुई वटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो।' अब बाख्रापालनको लागि खोर बनाउन सहयोग गरिदिए सहज हुने उनले बताए।

विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ। सोही योजनाअनुरुप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो।

यस कार्यक्रमका लागि चालु आवमा ६० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। विनियोजित बजेटले दुई सय आठ वटा बाख्रा खरिद गरेर कनपाका पाँच वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख रोशन कोइरालाले बताए। 

विद्युतीय प्रणाली बिजक (इलेक्ट्रोनिक विलिङ) मार्फत ५९ लाख ८० हजार रूपैयाँमा दुई सय आठ ओटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये एक सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ।

किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

नगर पशु विकास शाखाका अनुसार बोयर जातको बाख्राको पाठा-पाठी छिटो-छिटो बढ्ने र हुर्कने गर्दछन्। यसको तौल दैनिक दुई तीन सय ग्रामसम्म बढ्दै जान्छ। गाउँघरमा अन्य बाख्रा जस्तै गरी स्थानीय घाँस दाना खुवाएर पाल्न सकिन्छ।

बाख्रा वितरणको लागि कमलामाई नगरपालिकाले मापदण्ड बनाएको छ। वितरण मापदण्डअनुसार वडा समितिले निर्णय गरेर, गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ।

वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको कनपा उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताइन्। उनले भनिन्, 'कृषि तथा पशुपालनको लागि वडा-वडामा प्राविधिक खटाएका छौँ। नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ।' रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend