मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई ७५ प्रतिशतसम्म अनुदान

मंगलबार, जेठ १ २०८१
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई ७५ प्रतिशतसम्म अनुदान

व्यावसायिक रूपमा फलफूलखेतीतर्फ आकर्षण गर्ने उद्देश्यले सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण गर्न थालेको हो भने दूध ढुवानीमा प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान वितरण गरिने भएको हो।

पर्वत- कृषिबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ। 

व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारीखेती गर्ने किसानलाई प्रतिटनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ। पालिकाका छवटा वडामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने किसानलाई प्लाष्टिक टनेल वितरण गर्न चालु आवमा चार लाख रूपैयाँ विनियोजन गरिएको उनले बताए।

विहादीले फलफूलका बिरुवा पनि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ। व्यावसायिक रूपमा फलफूलखेतीतर्फ आकर्षण गर्ने उद्देश्यले सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण गर्न थालेको हो।

विहादीमा आँप, लिची र कागती राम्रो उत्पादन हुने गरेको छ। यसका लागि किसानले न्यूनतम सुन्तला र कागती १५ बोट, आँप पाँच बोट र लिचीका सात बोट लगाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।

पालिकाको दूध ढुवानीमा अनुदान कार्यक्रमअन्तर्गत प्रतिलिटरको पाँच रूपैयाँका दरले अनुदान वितरण गरिने भएको हो।

गाउँमा सञ्चालित कृषि फार्म वा व्यावसायिक किसानलाई प्रोत्साहन गरी कृषि पेसाबाटै आत्मनिर्भर बनाउन अनुदानमूलक कार्यक्रम ल्याइएको विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले जानकारी दिए। कृषिमा नै रहन मद्दत पुगोस् भनेर उक्त कार्यक्रम ल्याइएको उनले बताए।

पूरै अनुदान उपलब्ध गराउँदा किसानले बेवास्ता गर्ने भएकाले किसानको जम्मा २५ प्रतिशत र पालिकाको ७५ प्रतिशत लगानी गर्नेगरी अनुदान दिइने भएको हो। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend