मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका हुन्।

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-३  छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ। छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ थालिएको हो। 

कृषि विकास कार्यालयको आयोजनामा छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो। समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छुमचौरमा धानखेती भएपछि जिल्लामा विविधरुपमा रोपाइँ सुरु भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।

संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन रोपाइँ महोत्सव गरिएको उनको भनाइ छ। 

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका हुन्।

बर्सेनि खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेका छन्। कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन्। 

मार्सी धानको खेती गर्दा रोग कीरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका प्रमुख देवकोटाले बताए। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा दुई हजार आठ सय हेक्टरमा धानखेती हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend