सोमबार, जेठ ७ गते २०८१    
images
images

काभ्रेमा ‘आगो’ को वितण्डा : जोखिममा बस्ती

images
बुधबार, वैशाख २६ २०८१
images
images
काभ्रेमा ‘आगो’ को वितण्डा : जोखिममा बस्ती

एक हप्तामा आगलागीमा परेर सानु पोटागाउँमा १५ घर, डाँडागाउँमा एक घर र माटेमा दुई घर नष्ट भएको थियो। आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

काभ्रेपलाञ्चोक- आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिंगटा लागेर भुइँमा पछारिए। धेरैबेरसम्म होश खुलेन। होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो। ५० वर्षीय लामाको जीवनमा ठूलै बज्रपात परेको थियो।

images
images
images

लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाइबाट चियाइरहन्थे। अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उनलाई सताएको छ। उनी भन्छन्, 'बर्खा लागिसक्यो। भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो। यो पीडा कसलाई पोखुँ?'

images

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानो पोटा गाउँमा बैशाख १८ गते मंगलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उहाँको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।

images
images

घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशुचौपायासहित सम्पूर्ण सामग्री जलेर खरानी भयो। अग्नि प्रभावित १५ घरका वृद्धवृद्धा, महिला तथा बालबालिका गरी करिव ६० व्यक्ति खुल्ला आकाशमुनि त्रासमै रात बिताउन बाध्य हुनुपर्‍यो।

images
images

अहिले उनीहरुलाई सामूहिक टेण्टमा बस्ने व्यवस्था मिलाइएको छ। आगलागीबाट गाउँमा खानेपानीको पाइप पनि जलेपछि आनेपानी आपूर्ति हुन सकेको छैन। जिल्ला विपद् ब्यवस्थापन समिति, रेडक्रसलगायत विभिन्न संघसंसथा र राजनीतिक दलका नेता एवं भातृ संगठन राहत र पाल बोकेर सानो पोटा गाउँ जान थाले। खानेपानीका लागि नजिक मूलबाट ल्याइएको पानीले गाउँलेलाई दैनिक पर्याप्त छैन।

आगलागी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न संघसंस्थाबाट उपलब्ध राहत वितरण गरिएको छ। बितरित राहतअन्तर्गत गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाँकुडा, त्रिपाल, कम्बललगायतका सामग्री रहेका छन्। विभिन्न राजनीतिक पार्टीका नेता, सांसदहरुले पनि खाद्यान्न सहयोग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार रूपैयाँ दिइएको र बाँकी दश हजार रूपैयाँ केही दिनमै उपलब्ध गराइने बताइन्। साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताइन्।

एक हप्तामा आगलागीमा परेर सानु पोटागाउँमा १५ घर, डाँडागाउँमा एक घर र माटेमा दुई घर नष्ट भएको थियो। आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको थियो। आगलागी नेपाली सेना, प्रहरी टोली तथा स्थानीयले नियन्त्रणमा लिएका थिए।

गर्मीयाम लागेसँगै खडेरीका कारण जिल्लाका धेरै ठाउँमा आगलागीका घटना भइरहेका छन्। गत शुक्रबार राति धुलिखेल नगरपालिका-३ को एउटा सिङो बस्तरुी आगलागीको ठूलो जोखिमबाट जोगिएको छ। साँझबाट बस्ती नजिकसँगैको नयाँगाउँ सामुदायिक वनमा लागेको आगो सुरक्षाकर्मी र स्थानीयको रातभरको पहल तथा भक्तपुरबाट दमकल ल्याई १० घण्टाको प्रयासपछि शनिबार बिहान नियन्त्रणमा ल्याइएको वडाध्यक्ष गणेश आचार्यले बताए।

यस्तै बनेपा नगरपालिका-११ स्थित देवीस्थान सिनागाल जंगलमा लागेको आगो एक हप्तापछि नियन्त्रयामा ल्याइएको छ। आगलागी हुँदा दैनिकजसो हावाहुरी पनि चलिरहेकाले वन नजिक बस्ती भएका कारण निकै जोखिममा रहेका थिए। सुरक्षाकर्मी र स्थानीय तथा युवा संघको विशेष पहलमा सो आगो नियन्त्रणमा ल्याइएको वडाध्यक्ष शिवकुमार थापाले बताए। 'एक हप्ता निकै त्रासपूर्णरुपमा बिताइयो, अन्यत्रझैँ बस्तीमा आगो पस्ला कि भन्ने ठूलो डर थियो', उनले भने।

यसैगरी बिहीबार दिउँसो पाँचखाल नपा-५ स्थित जंगलमा आगो लाग्दा करिव दुई घण्टा अरनिको राजमार्गसमेत अबरुद्ध हुन पुग्यो। उक्त वडाको केराघारीस्थित ठूलो वन क्षेत्रमा आगलाग्दा हावाहुरिले विद्यालय र बस्ती निकै जोखिममा भएका कारण सुरक्षाकर्मी र स्थानीयले नजिकको बस्तीका केही घरबाट सामग्री तथा गाईवस्तुलाई निकालिएको थियो। करिब चार घण्टामा आगो नियन्त्रणमा लिँदा जनधनको क्षतिबाट जोगिएको थियो।

यही हप्ता नमोबुद्ध नपा-१ स्थित फुलबारीको वनमा आगलागी हुँदा समयमै नियन्त्रणमा लिँदा बस्तीमा क्षति हुनबाट जोगाइएको स्थानीय श्रीकृष्ण धितालले बताए। उनका अनुसार बुधबार साँझ लागेको आगो करिब तीन घण्टामा नियन्त्रणमा लिइएको हो।

काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जंगल क्षेत्र नजिक अवस्थित रहेका छन्। गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो। करिब एक हप्तामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए। ती आगलागीमा १२ लाख ५० हजार रूपैयाँ क्षति भएको प्रहरीले जनायो। उक्त समय विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झन्डै ४४ घण्टासम्म खटाइएको थियो।

चैतको १ गते एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भएका थिए। महाभारत गाउँपालिका-२ मुलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाडाकुडा र नगत एक लाख पाँच हजारसमेत गरी तीन लाख क्षति भयो भने घरका सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाईते हुनु भएको थियो। पनौती नगरपालिका-३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जंगलमा आगो लाग्यो। स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

यस्तै भुम्लु-१ कात्तिके वनटोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो। सोही स्थानमा रहेको गोठमासमेत आगो लागेर नष्ट भयो। खानिखोला-७ मोरङवेशीस्थित पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ-जस्ता बनेको टहरो जल्यो। सोही दिन बेथानचोक-४ मा बेथानखोला सामुदायिक बनमा आगलागी भयो। बनेपा-१४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल-३ स्थित सर्वमंगला माध्यमिक विद्यालयको हाताभित्रको पाँच रोपनी जंगलमा आगलागी हुँदा स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएका थिए। घटना विवरणअनुसार गत फागुन २६ गते पनौती नगरपालिका-५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी भयो। भोलिपल्ट बनेपा नपा-१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यु परालसमेत जल्यो।

यस्तै पर्सिपल्ट अर्थात् फागुन २८ गते तेमाल गाउँपालिका-७ स्थित सात रोपनी लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो। प्रहरीका अनुसार फागुन २९ गते चौंरीदेउराली गाउँपालिका-५ को छ रोपन देउपोखरे सामुदायिक वनमा आगलागी भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जलेर पूर्णरुपमा नष्ट हुँदा करिब ५० हजार रूपैयाँ बराबरको क्षति भएको थियो।

यसैगरी फागुन ३० गते बनेपा-१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट ७ रोपनी सामुयदायिक वन जल्यो। चैत पहिलोसाता नमोबुद्ध नपा-८ कुश्मती जंगलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भयो।

सोही दिन भुम्लु गाउँपालिका-८ को जंगलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनायो। सो

ही साता नमोवुद्ध-५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो। महाभारत-७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहोर जलाउने क्रममा हावाहुरी चल्दा नजिकको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षती भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमा समेत आगो लाग्यो।

डढेलोबाट विशेषगरी जंगलमा रहेका साना बोट-बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको अनुमान गरिएको छ। आगलागी भएका केही जंगलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जंगलको डढेलो आफैं नियन्त्रणमा आएका पनि थिए। विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ।

करिब चार महिनाको अवधिमा काभ्रेपलाञ्चोकको ४८ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय ३० हेक्टर वन जलेर नष्ट भइसकेको छ। हाल रोशीको डाँडागाउँ र बनेपाको धनेश्वर जंगलमा लागेको आगो नियन्त्रणमा आएको छैन। उक्त क्षेत्रत्रफलमा आगलागी भएको र जिल्लाका निजी वन-पाखा, घर तथा टहरामा समेत पनि आगलागी भएको घटना भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका अनुसार जिल्लास्थित सब-डिभिजन वन कार्यालयअन्तर्गतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ। केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि थप केही स्थानमा आगलागी भइरहेको कार्यालयको सूचना अधिकारी सरिता लामाले बताइन्। उनका अनुसार वैशाख तेस्रो सातासम्म सब-डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ।

यस्तै सब-डिभिजन जनागालअन्तर्गत चार स्थानको ३२ हेक्टर, सब-डिभिजन महादेवस्थानअन्तर्गत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव-डिभिजन कटुन्जेअन्तर्गत दुई स्थानमा एक सय ८२ हेक्टरमा आगलागी भएको थियो। त्यस्तै सब-डिभिजन खोपासीअन्तर्गत आठ स्थानमा ४३ हेक्टर, सब-डिभिजन नमोबुद्धअन्तर्गत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ।

आगलागीका क्रममा मानवीय क्षेत्र पनि भएको छ। तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा निधन भएको छ भने आगलागीका क्रममा नौ जना घाइते भएका छन्। वन-पाखा, घर-टहरा तथा जंगलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा केही स्थानमो दमकलबाट सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कारबाही पनि गरिएको छ। 'जिल्लाका थप स्थानमा आगलागीका घटना भइरहेको छन्, आगो लगाउनेको पहिचान गर्ने क्रममा छौँ', उनले भने।

आगलागीका कारण काभ्रेपलाञ्चोकमा वन्यजन्तु, पंक्षी, बोटविरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ। डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताए।

उनका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो।

वन कर्मचारीप्रति बदलाको भावना, जंगलमा घाँस पलाउने र वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने गलत धारणा,  चोरी शिकारीले जंगलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ।

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक सूचना पाटी राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानी-नोक्सानी र कानूनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend