आइतबार, जेठ ६ गते २०८१    
images
images

पानीको हाहाकारसँग जुधिरहेका छन् धरानबासी, भन्छन् - यहाँ टिक्ने अवस्था छैन

खानेपानीकै समस्याले व्यापार व्यवसाय धरासाही, के गर्दैछ स्थानीय सरकार?

images
सोमबार, वैशाख २४ २०८१
images
images
पानीको हाहाकारसँग जुधिरहेका छन् धरानबासी, भन्छन् - यहाँ टिक्ने अवस्था छैन

पानीको अभावका कारण नयाँ व्यवसाय सुरु गर्न लागेका लगानीकर्तासमेत हच्किएका छन्। बजारमा धेरै सटरहरू खाली हुँदै गएको छ। पानीको समस्याले व्यवसायी पलायनमा भूमिका खेलिरहेको छ।

images
images

इटहरी- धरान उपमहानगरपालिका वडा नम्बर ११ की सविता हायुलाई बिहान पानी थाप्नुपर्ने चिन्ताले रातभर राम्रो निन्द्रा पर्दैन। राति ३ बजेदेखि नै पानी थाप्ने हतारोमा हुन्छिन् उनी। डोकोमा भाडा हालेर ट्यांकरको पानी थाप्न विष्णुचोक पुग्छिन्। तीन घण्टा लाइनमा बसेपछि बल्ल पालो आउँछ। 

images
images
images

महँगोमा किनेर ल्याएको पानी सरसफाइदेखि खाना पकाउने काममा प्रयोग गर्नुपर्ने बाध्यता छ। सवितासँगै सोही सुकुम्बासी बस्तीका सम्पूर्ण स्थानीयको दैनिकी हो पानीको हाहाकारसँग जुध्ने। 

images

धरान उपमहानगरपालिकाको गेटअगाडि ट्यांकरको पानी थाप्नेको लाइन हुन्छ। पानी नपुगेर कतिपय स्थानीय खाली भाडा लिएर घर फर्किएको बताउँछन् होटेल एशोसिएसन धरानका अध्यक्ष सरोज भट्टराई।

images
images

बराहक्षेत्रको चतरामा कुम्भ मेला लागिरहेको हुँदा धरानमा धेरै भक्तजनको भिडभाड हुने गरेको उनले बताए। धरानमा आएका पाहुनालाई कृपया ननुहाउनु होला भन्नु परेको उनी सुनाउँछन्।

images
images

‘पानी आएको बेला पनि छतमा भएको ट्यांकीसम्म नचढ्ने भएकाले लुगा धुनदेखि भाडा माझ्नसमेत जारको पानी चलाउनु पर्ने अवस्था आएको छ। खानेपानीको समस्याले व्यापार व्यवसाय धरासाही अवस्थामा पुगेको छ। एउटा होटेलले दिन बिराएर पानी किन्दा महिनामा एक लाख रुपैयाँको त पानीमात्र किन्नुपर्ने अवस्था आयो,’ बिजनेस न्युजसँग कुरा गर्दै उनले भने। 

पानीको अभावमा नयाँ व्यवसाय सुरु गर्ने लगानीकर्तासमेत हच्किएको उनको अनुभव छ। बजारमा धेरै सटरहरू खाली हुँदै गएको स्मरण गराउँदै उनले पानीको समस्याले व्यवसायी पलायनमा भूमिका रहेको प्रष्ट पारे। 

न्यु बुक सेन्टर स्टेशनरीका सञ्चालक प्रमोद दत्त पानीको समस्याले गर्दा धरानमा लगानी गर्ने व्यवसायीहरू निराश भएको बताउँछन्। पछिल्लो समय व्यापारमा मन्दी देखिएसँगै बढ्दो पानीको समस्याले झनै विकराल रूप देखिएको उनले बताए। 

धरान उद्योग वाणिज्य संघले एक साताअगाडि खानेपानी समस्या अनुगमन गरी उपमहानगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको थियो। धरानमा खानेपानीको दीर्घकालीन समाधानको लागि राष्ट्रियस्तरको खानेपानी आयोजना ल्याउनुपर्ने संघको सुझाव छ। 

उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार चारकोशे झाडीबाट ल्याएको पानी लिकेज भएको कारण मर्मत हुन नसक्दा समस्या भएको हो। धरानमा खानेपानी समस्या हुँदा यसले सबै क्षेत्रमा असर पुर्‍याएको उनको भनाइ छ। 

व्यापारदेखि नयाँ उद्योग क्षेत्रमा दीर्घकालीन असर पुगेको उनी बताउँछन्। ‘हामीले नयाँ लगानीकर्तालाई बोलाउन सकेका छैनौँ। धेरैजना होटेल र उद्योग खोल्न तयार भएपनि पानीको अभावले लगानी बाहिर गइरहेको छ,’ उनले भने।  

धरान उपमहानगरपालिका वातावरण शाखाका प्रमुख भेषराज घिमिरे धरानमा खानेपानीका श्रोतहरू सतह र सतहमुनीको भएकाले लामो समयको खडेरीको कारण समस्या उब्जिएको बताउँछन्।

बढ्दो खडेरी र उपलब्ध पानीको व्यवस्थापन हुन नसक्दा यो अवस्था आएको उनको भनाइ छ। ‘ग्राउन्ड रिचार्ज सिस्टम नभएको कारण पानीको लेबल कम भएको छ। खडेरीको कारण सतह मुनीसम्म पानी पुग्न पाएको छैन। पानीको सतह कम हुँदै गएपछि यो अवस्था आएको हो,’ उनले भने। 

व्यवस्थापनमा समस्या 

२ अर्ब १६ करोड लगानीमा सुरु भएको आयोजनाले धरानलाई पर्याप्त पानी खुवाउन सकेको छैन। इटहरी र धरानको बीचमा रहेको चारकोशे जंगलबाट १३ वटा सतहमुनीको पानी तान्ने वेल छ। धरानभन्दा पानी निकाल्ने ठाउँको उचाइ कम भएकाले मोटरको सहायताले पानी उकाल्ने काम भएको छ। 

राप्रपाबाट मेयरको उम्मेदवारसमेत रहेका नरेश शाक्य खानेपानी व्यवस्थापन गर्न नसक्दा धेरै समस्या भएको बुझाइ राख्छन्। खानेपानी बोर्डमा दक्ष प्राविधिक नभएको कारण विकराल रूप लिएको उनले बताए।  

प्राविधिक परीक्षणका आधारमा एउटा पम्पले न्यूनतम प्रति सेकेन्ड २७ लिटर पानी तान्ने क्षमता राख्छ। एउटा वेलमा प्रतिघण्टा ९७ हजार २ सय लिटर पानी उत्पादन हुन्छ। धरानमा यस्ता १३ वटा वेलबाट एक दिनमा ३ करोड लिटर पानी सप्लाइ हुनुपर्ने देखिन्छ। तर दुई नम्बर वेल बिग्रिएर ८ वर्षदेखि बन्द अवस्थामा छ। जुन हालसम्म मर्मत हुन सकेको छैन।

यस्तै तीन नम्बर वेलको गेटबल ६ महिनाअघि बिग्रिएको र मर्मत नहुँदा आधा पानी बाहिर जाने गरेको एक कर्मचारीहरू बताउँछन्।  

उता बोर्डका निर्देशक राजु पोखरेल केही समयअगाडि पानी खेर जाने र ओभर फ्लो हुने समस्या भएपनि हाल मर्मत गरिएको बताउँछन्। खोलाको पानी सुकेको कारण सतहमुनीको पानीमा भरपर्दा अहिले यो अवस्था आएको उनले बताए। 

मेयर हर्क साम्पाङले श्रमदानमार्फत ल्याएको पानी हाल धरानमा झर्न छाडेको छ। खानेपानी समस्या समाधानको लागि एकवर्ष श्रमदान अभियान चलाएर सर्दु, निशाने, पकुवा, भालु खोला, सेउतीबाट साम्पाङले पानी ल्याएका थिए। बर्खाको मौसममा आएको पानी हाल दैनिक एक लिटर पनि नआउने पोखरेलको भनाइ छ।  

४० किलोमिटर टाढा कोका खोलाबाट दैनिक ६ लाख लिटर पानी आउने गरेको बताउँदै उनले आगालागीको कारण पाइप फुट्दा यो अवस्था आएको बताए।

धरानमा दैनिक ३ करोड लिटर पानी आवश्यक परेपनि पछिल्लो समय १ करोड ६० लाख लिटरमात्र आपूर्ति गर्न सकिएको पोखरेल बताउँछन्। दीर्घकालीन समाधानको लागि कोशीको पानी ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ।

harka-sampang-1.jpg
धरान उपमहानगर प्रमुख हर्क साम्पाङ।

समस्या एकातिर साम्पाङ अर्कातिर 

खानेपानी समस्या समाधान गर्न भन्दै आइतबार धरान उपमहानगरपालिका अगाडि घेराउ भयो। आक्रोशित स्थानीयले मेयर साप्पाङको कार्यकक्षमा होहल्ला गरे। खानेपानीको दीर्घकालीन समाधानको माग गर्दै स्थानीयले मेयरको जवाफ माग गरे। 

स्थानीय आउने सूचना पाएपछि मेयर साम्पाङ बाहिर निस्किसकेका थिए। कोका खोलाबाट ल्याएको पाइप डढेलोले बिगारेपछि उनले पुनः श्रमदान सुरु गरेका छन्। 

स्थानीयसँग भागिरहेका साम्पाङ धरानमा पानीको हाहाकार नभएको दाबी गर्छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले धरानमा पानीको हाहाकार भन्नेहरू सबै आफ्ना विरोधी रहेको आरोप लगाए।

उनले लेखेका छन्, ‘धरानमा पानीको हाहाकार भन्ने सबै मेरा विरोधीहरू हुन्। त्यस्तो हाहाकार छैन। दिन बिराएर पानी आएको छ। कतै दुई दिन बिराएर दिनु परेको छ। प्रेसरले नपुग्ने उकालो ठाउँमा भने निःशुल्क ट्यांकरमा दिएका छौँ। फोहोरी राजनीति गर्न छोड्नु।’

दुई दिनअगाडि मात्र खानेपानी समस्या हुनुमा उनले विद्युत् प्राधिकरणलाई दोष दिएका थिए। कुलमानलाई फेल गराउन कृत्रिम लोडसेडिङ गरेर पानी तान्ने पम्पको लाइन डिस्टर्ब गरी आफूलाई पनि फेल गराउने षड्यन्त्र भइरहेको उनको आरोप छ। पत्रकारलाई विद्युत प्राधिकरण गएर बुझ्न आग्रह गर्दै उनले पानी आपूर्ति सहज बनाउन नसक्नु अरूको नै दोष रहेको बताइरहेका छन्। 

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष, मेयर हर्क साम्पाङले एकल निर्णयबाट खानेपानी महसुलमा थप ५ देखि १० रुपैयाँ शुल्क वृद्धि गरेका छन्। मेयर निर्वाचित हुनुअगाडि खानेपानी महसुल उच्च भएकाले छुट दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनले अहिले जलाधार संरक्षण शुल्कको नाममा पैसा उठाएका हुन्।  


प्रकाशित : सोमबार, वैशाख २४ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend