बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी फुड्स पार्कमा अज्ञात समूहबाट भएको आक्रमण निन्दनीय : चौधरी ग्रुप

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २१ २०८१
सीजी फुड्स पार्कमा अज्ञात समूहबाट भएको आक्रमण निन्दनीय : चौधरी ग्रुप

काठमाडौं- सीजी फुड्स पार्क भैँसेपाटीमा शुक्रबार दिउँसो भएको अज्ञात समूहको आक्रमण अत्यन्तै निन्दनीय भएको भन्दै चौधरी ग्रुपले उक्त घटनाको भर्त्सना गरेको छ। 

'देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ। यस घटनाको हामी भर्त्सना गर्दछौँ। यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ' ग्रुपले विज्ञप्तीमार्फत भनेको छ। 

चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैँसेपाटीमा शुक्रबार दिउँसो अज्ञात समूहद्वारा आक्रमण गरिएको र बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको जनाइएको छ।

'फुड्स पार्कमा आउनासाथ उनीहरूले 'नेपाल सरकार मुर्दावाद' जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए। त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए' विज्ञप्तीमा भनिएको छ।

त्यसलगत्तै भैँसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको जनाइएको छ। 

घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दै चौधरी समूहले भनेको छ- 'साथै भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।'


प्रकाशित : शुक्रबार, वैशाख २१ २०८११८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend