आइतबार, जेठ ६ गते २०८१    
images
images

ईभी ब्याट्रीको विषयमा यसकारण चाहिँदैन डर र दोधार : बलियो देखिँदैछ भविष्य

images
शनिबार, वैशाख २२ २०८१
images
images
ईभी ब्याट्रीको विषयमा यसकारण चाहिँदैन डर र दोधार : बलियो देखिँदैछ भविष्य

ईभी ब्याट्रीको कच्चा पदार्थको मूल्य कम हुनु र नवीनतम प्रविधिको विकास भइरहनुले ब्याट्रीको मूल्य निरन्तर घटिरहेको छ। मूल्य घट्नुका साथै प्रविधिमा भइरहेको विकासले उपभोक्तालाई राहत मिलिरहेको छ।

images
images

काठमाडौं- विद्युतीय कारका विषयमा जति पनि सवाल-जवाफ छन् त्यसको केन्द्रमा रहन्छ ब्याट्री। कतिपयलाई ब्याट्रीको विषयमा नै डर पनि रहन्छ र त्यसबारे बुझेपछि ढुक्क हुन्छन्।

images
images
images

उत्सुकता, अनुसन्धान, उत्पादन र प्रयोगबीचको लामो यात्रामा विश्व बजारका यस्ता घागडान कम्पनीहरू ब्याट्री उत्पादन र विकासमा लागिरहेका छन् जसले भविष्य थप उज्यालो देखिँदैछ।

images

बिजुली गाडीको माग बढेसँगै त्यसका लागि अत्यावश्यक ब्याट्रीको मागसमेत स्वाभाविक रुपमा नै बढेको छ। ब्याट्री उत्पादनमा ठूला कम्पनीबीच प्रतिस्पर्धा नै देखिन्छ। यो प्रतिस्पर्धाले नयाँ प्रविधिको विकासका साथै दीगोपनसहित विश्वासको वातावरण बनिरहेको छ।

images
images

आउँदो समयमा इन्टरनल कम्पस्चन इन्जिन (आईसीई) सवारीको प्रयोग क्रमशः घट्दै जाने निश्चित छ। विश्वका विभिन्न ठूला कार उत्पादक कम्पनीले सयम तोकेरै आईसी इन्जिन सवारी उत्पादन बन्द गर्ने घोषणासमेत गरेका छन्। यसैले पनि अबको युग विद्युतीय सवारीकै युग हो।

images
images

ईभी ब्याट्रीको विकासमा समेत आउने समयमा ठूलो फड्को मार्ने देखिन्छ। ब्याट्रीले विद्युत स्टोर गर्ने क्षमता बढाउन व्यापक अनुसन्धानहरू भइरहेका छन्। ब्याट्रीको पुन: प्रयोग र लाइफ साइकल बढाउन पनि ब्याट्री उत्पादकहरू लागिपरेका छन्।

विकास हुन थालिसकेको विद्युतीय सवारीलाई सन् १९०० को दशकमा पेट्रोलियममा आधारित सवारीले घुँडा टेकाएको भए पनि अहिले समय फेरिएको छ। यो फेरिएको समयको केन्द्रमा छ बलियो बन्दै गएको ब्याट्री प्रविधि।

अहिले विद्युतीय सवारी लिथियम आयन ब्याट्रीमा आधारित छन्। यी ब्याट्रीहरूमा पनि निरन्तर विकास भइरहेका छन्। आईसी इन्जिन सवारीको विकल्पमा जाने विश्वको संकल्पका कारण पनि ब्याट्री प्रविधिमा अनुसन्धान र विकास भइरहेका छन्। लिथियम आयन ब्याट्रीकै विकल्पका रुपमा समेत सोलिड-स्टेट ब्याट्रीको विकास भइरहेको छ।

सन् २०२४ सुरु भएसँगै ईभी ब्याट्री जगतमा राम्रा संकेतहरू देखिएका छन्। २०२५ को अन्त्यसम्ममा त ईभी ब्याट्रीको लागतमा उल्लेख्य गिरावट आउने विश्वभर भइरहेका अनुसन्धानहरूले देखाएका छन्। ब्याट्रीको मूल्यमा कमी आएपछि विद्युतीय कारको मूल्यमा पनि कमी आउने नै छ।

विश्वभर भइरहेको ब्याट्री प्रविधिको विकासका कारण यसमा चिन्ता लिनुपर्ने अवस्था नरहेको अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारी बताउँछन्। नेपालमा सुरुवाती दिनमा सन् २००७ तिर लिड एसिड ब्याट्री प्रयोग भएको विद्युतीय सवारी रेभा बिक्री गरेका उनले अहिलेको प्रविधि हेर्दा ब्याट्रीलाई समस्याका रुपमा लिन नपर्ने बताउँछन्।

‘लिथियम आयन ब्याट्रीमा पनि निरन्तर विकास हुँदै आइरहेको छ। लिथियम आयन फोस्फेटदेखि ब्लेड ब्याट्रीहरू आइसकेका छन्। हाइड्रोजन सेलमा काम हुँदैछ। ब्याट्रीमा निरन्तर अनुसन्धान र प्रयोग भइरहेका छन्। अर्को त ब्याट्रीमा हुने लागत पनि घटिरहेको छ जसले उपभोक्ता मूल्य स्वत: घट्ने छ’, उनले भने।

सन् २०१९ मा प्रतिकिलोवाट आवर ब्याट्रीको लागत १ सय ६० डलरभन्दा बढी थियो भने यो २०२३ को अन्त्यसम्ममा १ सय ५० डलर हाराहारी पुगिसकेको थियो। २०२४ को अन्त्यसम्ममा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय १५ डलर वरिपरि पुग्नेछ भने २०२५ मा लागत ९० डलर हाराहारी हुने अनुमान छ। त्यस्तै २०३० सम्म पुग्दा त ब्याट्रीको प्रतिकिलोवाट आवर लागत ५०/६० डलर वरिपरि आइपुग्ने विभिन्न अध्ययनहरूको अनुमान गरिएको छ।

ईभी ब्याट्रीको कच्चा पदार्थको मूल्य कम हुनु र नवीनतम प्रविधिको विकास भइरहनुले ब्याट्रीको मूल्य निरन्तर घटिरहेको छ। मूल्य घट्नुका साथै प्रविधिमा भइरहेको विकासले उपभोक्तालाई राहत मिलिरहेको छ।

जस्तो कि लिड एसिड ब्याट्री प्याकमा आठवटा ब्याट्री हुन्थ्यो जसमा एउटामात्र ब्याट्री बिग्रियो भने पनि पूरै प्याक नफेरि सुख थिएन। ब्याट्री प्याक नै फेर्नुपर्थ्यो। आठ वटाकै मूल्य तिर्नुपर्ने थियो। अब लिथियम आयन ब्याट्रीमा बिग्रिएको हरेक सेललाई छुट्टै फेर्दा भयो। अब आउने प्रविधिले यसमा समेत थप विकास गर्ने नै छ।

चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल), दक्षिण कोरियाको एलजी इनर्जी सोलुसन, चीनको बीवाईडी कम्पनी लिमिटेड, जापानको प्यानासोनिक कर्पोरेसन, चीनकै एसभोल्ट इनर्जी टेक्नोलोजी जस्ता कम्पनीहरूले ब्याट्रीमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन्। यी ठूला कम्पनीहरूले ब्याट्रीको प्रविधिमा गरिरहेको विकासले पनि ब्याट्रीको भविष्य सुरक्षित देखिन्छ।

सन् २०२० यता ब्याट्रीको मागमा भएको व्यापक वृद्धिलाई मध्यनजर गर्दै यी कम्पनीहरूले उत्पादन बढाइरहेका छन्। यिनीहरू ब्याट्रीमा मात्र विशेष ध्यान दिएर काम गरिरहेका छन्। भविष्यलाई हेरेर थप लगानी गरिरहेका छन्। विश्व ब्याट्री बजारमा आफ्नो हिस्सा निरन्तर बढाइरहेका छन्।

यसमा अमेरिकाको टेस्ला, चीनको ईभीई इनर्जी कम्पनी लिमिटेड, दक्षिण कोरियाको एसके अन कम्पनी लिमिटेड र चीनको सीएएलबी ग्रुप कम्पनी लिमिटेड जस्ता कम्पनीहरु पनि निरन्तर अघि बढिरहेका छन्।

ब्याट्री बिग्रियो भने के गर्ने, ब्याट्रीको आयु सकिएपछि के गर्ने भन्नेजस्ता आम उपभोक्ताको सवालमा पनि यी कम्पनीहरूको कामले नै जवाफ आइरहेको छ। ईभीको ब्याट्री प्याक नै फेर्नु पर्नेगरी बिग्रँदा नै पनि त्यसको पुन: प्रयोग हुने यकिन कम्पनीहरूले गरिसकेका छन्। बिग्रिएको ब्याट्रीमा नै पनि अझै मूल्य हुने हुँदा त्यो वातावरणमा यसै मिल्कने छैन।

'लिथियम आयन प्याक ब्याट्री भनेको यस्तो भ्यालुएवल चिज हो, जो ब्याट्री सतप्रतिशत नै डेट भएको अवस्थामा पनि केही हजार डलरको लिथियम तत्व बाँकी नै रहन्छ। त्यो कसैले पनि ड्रम्पिङ साइटडमा फ्याँक्दैनन् र फ्याँक्नु पनि पर्दैन। सवारीको हकमा ७० देखि ५० प्रतिशत तल झर्दासम्म पनि चल्छ। ब्याट्रीको इफिसियन्सी घट्ने हो त्यो शून्यमा झर्दैन। त्यसपछि पनि अन्य प्रयोजनमा प्रयोग गर्न मिल्छ। ब्याट्री व्यवस्थापन भनिएजस्तो जटिल पक्कै छैन' सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले भने।

ब्याट्री व्यवस्थापनका लागि विभिन्न कम्पनी आइसकेको हुँदा त्यसमा कुनै समस्या नहुने उनी बताउँछन्। 'डम्पिङ साइटमै लगेर फ्याक्न पर्ने छैन। पुन: प्रयोगमा जाने नै छ। लिथियम आयन ब्याट्रीको रिसाइकलका लागि धेरै कम्पनीहरूले अध्ययन गरिरहेको र केहीले सफलता पनि पाइसकेको हुँदा व्यवहारिक प्रयोगमा आउने क्रममा रहेको छ' उनले भने। 

प्रयोग भएर दक्षता कम भएका ब्याट्रीमा भएको तत्त्वहरूलाई अधिकतम रुपमा पुन: प्रयोगमा ल्याउनका लागि धेरैले अर्बौँ लगानी गरेर अनुसन्धान गरिरहेका छन्। यसरी ब्याट्रीको पुन: प्रयोग अर्थात रिसाइकल भएर वातावरणीय मुद्दा पनि कम हुनेछ र ब्याट्रीको लागतसमेत घट्नेछ।

ब्याट्रीमा सन्तुलनको काम मिलाउने ‘ब्याट्री म्यानेजमेन्ट सिस्टम’ (बीएमएस) मा भइरहेको विकासले भने ब्याट्रीलाई लिएर हुने चिन्ता कम गरिरहेको छ। बीएमएस ब्याट्रीको सम्पूर्ण विषय हेर्ने पाटो हो।

‘एउटा ब्याट्री प्याकभित्र धेरै सेलहरू हुन्छन्। त्यो सेलहरूलाई पनि निश्चित रुपमा आकारदेखि सबै कुरा मिलाइएको हुन्छ। त्यसमा हरेक सेललाई नै मनिटरिङ गर्नुपर्ने हुन्छ। सेलमा कति भोल्टेज छ कति करेन्ट छ भन्नेलगायतको मनिटरिङ गर्ने काम बीएमएसमार्फत हुन्छ। सेलका साथै ब्याट्री प्याकको भोल्टेजलगायतका विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ। चार्जिङ र डिस्चार्जिङका कुरा पनि मनिटरिङ भइरहेको हुन्छ। यसमा भइरहेको विकासले पनि ब्याट्री प्रविधिलाई बलियो बनाइरहेको छ’, विद्युतीय गाडी बिक्री गरिरहेको सिप्रदीमा मेकानिकल इन्जिनियर रहेका दिग्विजय आचार्यले भने।

प्रविधिमा भइरहेको विकास बुझिरहेका उपभोक्ताहरू ब्याट्रीको विषयमा अहिले खास चिन्ता गर्दैनन्। ८/१० वर्षपछि ब्याट्री फेर्नुपर्ने समस्या आएमा पनि त्यसबेला ब्याट्रीको मूल्य व्यापक घटिसकेको हुने छ भन्ने उनीहरूले बुझेका छन्। ईभीमार्फत वर्तमानमा मिलिरहेको वृहत फाइदा हेर्दा भविष्यमा ब्याट्रीबारे हुने समस्या सोचेर निराश हुनुपर्ने अवस्था छैन।

ब्याट्री व्यवस्थापनको विषयमा सरकारले भने नीतिगत स्पष्टतासहित काम गर्नुपर्ने बताउँछन् वरिष्ठ अधिवक्ता महेशकुमार थापा। ईभी प्रयोगकर्तासमेत रहेका उनी विद्युतीय सवारीमा ब्याट्रीलाई समस्या हुन नदिन पनि स्पष्ट नीतिगत कामहरु हुनुपर्ने बताउँछन्।

‘भोलिको दिनमा ब्याट्रीको डिस्पोज कहाँ गर्ने हो भन्ने कुरा आइरहेका छन्। राज्यले यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ। हुन त ब्याट्रीहरू पनि विस्तारै विकास हुँदै गइसकेका छन्। अब ब्याट्रीको विकास सबैतिरबाट भएर आउने नै छ’, उनले भने।

उपभोक्ताहरू अब ब्याट्री कति टिक्ला के होला भन्ने दुविधाबाट बाहिर निस्किरहेका छन्। विद्युतीय सवारीलाई लिएर हुने गरेका डर, आशंका र कुनै पनि सन्देह अब पुरानो हुनेछन्। ब्याट्रीको सम्बन्धलाई लिएर देखिएको धरमर र दोधार हटेर अहिले ब्याट्रीमा भएको विकासले स्पष्ट जवाफ दिइरहेको छ।

ईभी ब्याट्रीमा लागिरहेका छन् घागडान उत्पादकहरू

विद्युतीय सवारीको ब्याट्रीका विषयमा विश्वभर कम्पनीहरूले निरन्तर अनुसन्धान र प्रयोग गरिरहेका छन्। त्यही अनुसन्धानको बलमा अहिले ब्याट्री प्रविधिमा नयाँ विकास भइरहेका छन्। जसले विद्युतीय सवारीको भविष्य थप बलियो देखिन्छ।

ईभीको ब्याट्री चार्ज गर्न विद्युतका अलावा सोलार तथा वायु प्रविधिको समेत प्रयोग हुनेछ। यस्तोमा बजार हिस्सा, उत्पादन संख्या र प्रयोग गरिएको प्रविधिका आधारमा विश्वका १० ठूला ब्याट्री उत्पादक कम्पनीहरूमा धेरै त चिनियाँ नै छन्। जसमा पहिलो नम्बरमा चीनको ‘सीएटीएल’ (कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड) रहेको छ।

दोस्रोमा दक्षिण कोरियाको ‘एलजी इनर्जी सोलुसन’, तेस्रोमा चीनको ‘बीवाईडी कम्पनी लिमिटेड’, चौथोमा दक्षिण कोरियाको ‘सामसङ एसडीआई कम्पनी लिमिटेड’, पाँचौँमा जापानको ‘प्यानासोनिक कर्पोरेसन’, छैठौँमा चीनको ‘एसभोल्ट इनर्जी टेक्नोलोजी कम्पनी लिमिटेड’ रहेका छन्।

यसैगरी सातौँ नम्बरमा अमेरिकाको ‘टेस्ला’, आठौँ नम्बरमा चीनको ईभीई इनर्जी कम्पनी लिमिटेड, नवौँ नम्बरमा दक्षिण कोरियाको एसके अन कम्पनी लिमिटेड र दशौँ नम्बरमा चीनको सीएएलबी ग्रुप कम्पनी लिमिटेड रहेका छन्।

१) सीएटीएल : घागडान चिनियाँ ब्याट्री उत्पादक

कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (सीएटीएल) विश्वमा लिथियम आयन ब्याट्री उत्पादकमध्ये शीर्ष स्थानमा रहेको कम्पनी हो। चीनमा विद्युतीय सवारीमा भएको विकास सँगसँगै सीएटीएलको विकास पनि बढोत्तरीतर्फ नै छ।

चीनको निङ्दामा सन् २०११ को सुरुवाततिरै एम्पेरेक्स टेक्नोलोजी लिमिटेडका पूर्वकार्यकारी रहेका जेङ युकनले सीएलटीएल स्थापना गरेका हुन्। चिनियाँ सरकारले स्वच्छ ऊर्जाका लागि सुरु गरेको कामका साथै विद्युतीय सवारीलाई दिएको प्राथमिकताका कारण सीएटीएल सुरुदेखि नै बलियो रुपमा अघि बढ्यो। सुरुवाती दिनमा सीएटीएल विद्युतीय सवारीका लागि लिथियम आयन ब्याट्री उत्पादनमा नै केन्द्रित थियो।

यसले बजार सुरक्षित गर्नका लागि सुरुवातमा नै बीवाईडी र बीएआईसी जस्ता ठूला चिनियाँ विद्युतीय सवारी उत्पादकहरूसँगको साझेदारीमा काम गरेको हो। जसले यसलाई लिथियम आयन ब्याट्री टेक्नोलोजीमा काम गर्ने प्रमुख कम्पनीका रुपमा चिनायो। यसले ब्याट्रीका सम्बन्धमा नयाँ खोज र नवप्रवर्तन र विश्वसनीयताका लागि पनि काम गरिरहेको छ। सन् २०१८ मा शेन्जेन स्टक एक्सचेन्जमा सूचीकृत भएपछि त यसको विकास अझ गजवको रह्यो।   

सीएटीएलले सन् २०२० यता त बजार विस्तार व्यापक गरिरहेको छ। सन् २०२३ सम्मको तथ्यांकलाई हेर्ने हो भने ईभी ब्याट्रीको बजार हिस्सामा शीर्ष स्थानमा सीएटीएल नै रहेको छ। विश्वभर जसको बजार हिस्सा ३७ प्रतिशत रहेको छ।

सीएटीएलले ब्याट्रीबारेको अनुसन्धान र विकासमा पनि निरन्तर काम गरिरहेको छ। यसले ब्याट्रीको टेक्नोलोजीमा लगानी पनि निरन्तर नै गरिरहेको छ। नेक्स्ट जेनेरेसन लिथियम आयन र सोलिड स्टेट ब्याट्रीमा नयाँ प्रविधिको विकास गर्न पनि सीएटीएलले काम गरिरहेको छ।

सीएटीएलले ब्याट्रीको स्थिरता र त्यसको दक्षतामा वृद्धि गर्दै रिसाइकलिङमा गर्न सकिने कामका बारेमा पनि अध्ययन र प्रयोगहरू गरिरहेको छ। यसले चीनभित्र सरकारी निकायसँगको समन्वयका साथसाथै विश्वभर रहेका सम्बन्धित कम्पनीहरूसँग सहकार्य गर्दै आफ्नो पहुँच विस्तार गरिरहेको छ।

विश्वभर विद्युतीय सवारीमा भइरहेको विकासलाई ध्यान दिँदै बजारमा बढिरहेको माग पूरा गर्न सक्नेगरी सीएटीएलले काम गरिरहेको छ। यसले आफ्नो उत्पादन क्षमता बढाइरहेको छ। विश्वव्यापी विस्तारका लागि सीएटीएलले युरोप र उत्तर अमेरिकामा उत्पादन प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ।

स्वच्छ ऊर्जाको विषयमा काम गर्दै सीएटीएलले नयाँ-नयाँ खोज र अनुसन्धानमा निरन्तर काम गरिरहेको छ।

२) एलजी इनर्जी सोलुसन : ब्याट्री पावरमा १९९२ देखिको विरासत

एलजी इनर्जी सोलुसन (एलजीईएस) अर्थात पहिले एलजी चेम इनर्जी सोलुसन बिजनेस डिभिजनका रुपमा चिनिएको यो कम्पनीले निकै सुरक्षित र सफल रुपमा लिथियम आयन ब्याट्री उद्योगमा लामो समयदेखि आफ्नो विरासत जोगाइरहेको छ।

ब्याट्रीको प्रविधिमा भइरहेको विकासका कारण प्रभावित भएर एलजी ग्रुपका प्रमुख कु बुन-मुले सन् १९९२ मा लिथियम आयन ब्याट्रीमा अनुसन्धान सुरु गरेका थिए। उक्त अनुसन्धानपछि नै भविष्यमा विद्युतीय सामग्री र विद्युतीय सवारीमा समेत लिथियम आयन ब्याट्री निकै प्रभावकारी हुने निष्कर्ष निकालेका थिए।

एलजी चेम इनर्जीले १९९९ मा कोरियाकै पहिलो लिथियम आयन ब्याट्री उत्पादन सफल बनाएर कोशेढुंगा नै बनायो। यसले ब्याट्रीको बजारका लागि जनरल मोटर्ससँग साझेदारी गरेर काम सुरू गर्‍यो। जसले हाइब्रिड कारमा उक्त ब्याट्री प्रयोग गर्न थाल्यो।

पछिल्ला दुई दशकमा एलजी चेम विश्व ब्याट्री बजारमा प्रमुख उत्पादक बनिरहेको छ। फोर्ड, अउडी, रेनल्ट, भोल्भो र एसएआईसी मोटरजस्ता ठूला कार उत्पादकसँग एलजी चेमले काम गरिरहेको छ।

ब्याट्रीबारेको अनुसन्धान र विकासमा पनि यसले निरन्तर लगानी गरिरहेको छ। जसले गर्दा कम्पनीले परिष्कृत ब्याट्री टेक्नोलोजीमा काम गरिरहेको छ। पुरानो कम्पनी भएर प्रतिस्पर्धी बजारमा निरन्तर अघि बढ्न तिनै अनुसन्धानले सहयोग मिलिरहेको छ।

सन् २०२० यता ब्याट्रीको मागमा भएको व्यापक वृद्धिलाई मध्यनजर गर्दै एलजी चेमले ब्याट्रीको मात्र बिजनेसका लागि एलजी इनर्जी सोलुसनको नाममा आफ्नो छुट्टै इकाइ खडा गर्‍यो। जसले गर्दा यसले ब्याट्रीमा मात्र विशेष ध्यान दिएर अघि बढ्न सक्यो। भविष्यलाई हेरेर यसमा थप लगानी गर्न सक्यो। यसमा २०२२ मा कम्पनीले कोरिया एक्सचेन्जमा आबद्ध भएर सर्वसाधरणका लागि आईपीओसमेत खुलायो। यसैले २०२३ सम्मको तथ्यांक हेर्ने हो भने विश्व ब्याट्री बजारमा यसको हिस्सा १४ प्रतिशत रहेको छ। जुन शीर्षबाट दोस्रो स्थानमा हो।  

एलजी इनर्जी सोलुसनले विश्व बजारमा आफ्नो स्थान बलियो बनाउन उत्तर अमेरिका, युरोप र एसियामा ब्याट्री उत्पादन गरिरहेको छ। विद्युतीय सवारिका नयाँ मोडलहरूमा समेत काम गरिरहेका कम्पनीहरूसँग यसले साझेदारीमा काम गरिरहेको छ।

विभिन्न अध्ययन अनुसन्धान र विकासमार्फत यसले लिथियम आयन ब्याट्रीमा सुधार गर्नुका साथै भविष्यलाई हेरेर सोलिड स्टेट ब्याट्रीमा पनि काम गरिरहेको छ। यसले दिगोपनमा ध्यान दिँदै पर्यावरणमैत्री हुनेगरी काम गरिरहेको छ।

३) बीवाईडी : विद्युतीय सवारीका लागि चिनियाँ शक्तिकेन्द्र

चीनको एक प्रमुख बहुराष्ट्रिय कम्पनी बीवाईडीले प्रविधिको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइरहेको छ।

सन् १९९५ मा चीनको सेन्जेनमा वाङ चुयानफुले स्थापना गरेको बीवाईडीले सुरुवातमा रिचार्ज गर्न सकिने एनआईसीडी ब्याट्री उत्पादनमा काम गरेको हो। वाङले विद्युतीय उपकरणहरूमा रिचार्ज गर्न सकिने ब्याट्रीमा ठूलो सम्भावना देखेर जापानी कम्पनीले बनाइरहेको बजारमा प्रतिस्पर्धा गर्न थालेका थिए। जसले बीवाईडी भरपर्दो ब्याट्री आपूर्तिकर्ताका रुपमा अघि बढ्यो। जुन भविष्यमा हुनसक्ने ठूलो विकासमा पहिलो खुड्किलो थियो।

सन् २००२ मा बीवाईडी हङकङ स्टक एक्सचेन्जमा आबद्ध भएसँगै यसको काम अझ विस्तार भयो। विद्युती सवारी उत्पादन गरिरहेको सियान छिन्छुआन कम्पनीलाई सन् २००३ मा आफूसँग गाभेपछि बीवाईडीको यात्रा अझ वृहत भयो। त्यसपछि यसले हाइब्रिडका साथै विद्युतीय सवारीमा काम गर्न थाल्यो।

सुरुवातमा विभिन्न अविश्वासको शिकार भए पनि बीवाईडीले निरन्तर अनुसन्धान र विकासमा काम गरिरहँदा विश्वास जित्दै गएको छ।

सन् २००८ मा बीवाईडीले आफ्नो पहिलो प्लग-इन हाइब्रिड विद्युती सवारी, एफथ्रीडीएम र ई सिक्स बजारमा ल्यायो। बीवाईडीको भविष्य देखेर नै यसमा अमेरिकी व्यवसायी वारेन बफेटले समेत लगानी हाले।

विद्युतीय सवारीमा बीवाईडीको प्रतिबद्ध कामहरूले यसलाई विश्व बजारमा चर्चित बनाएको छ। विभिन्न सवारी उत्पादकहरूसँग समेत यसले साझेदारीमा काम गरिरहेको छ। आफ्नो क्षेत्र विस्तार गर्दै यसले विद्युतीय कारसँगै बस र ट्रकहरुमा समेत काम गरिरहेको छ। सन् २०२२ पछि त पूर्ण विद्युतीय सवारी उत्‍पादकका रुपमा बीवाईडीको पाइला निकै अघि बढेको छ।

कार उत्पादकका रुपमा मात्र होइन बीवाईडी लिथियम आयन ब्याट्री उत्पादकका रुपमा समेत अग्रणि रहेको छ। अझ बीवाईडीले विद्युतीय सवारीमा मात्र नभएर इलेक्ट्रोनिक्स र सोलार इनर्जीमा समेत काम गरिरहेको छ। सपना देख्न र त्यसलाई पूरा गर्न सहयोग गरिरहेको बीवाईडीले दिगो भविष्यका लागि काम गरिरहेको छ। जसका लागि यसले विभिन्न अनुसन्धान र प्रयोगका काममा समेत लगानी गरिरहेको छ।

४) सामसङ एसडीआई कम्पनी लिमिटेड : इलेक्ट्रोनिक्स हुँदै ईभीतर्फको यात्रा   

दक्षिण कोरियाको सामसङ एसडीआई कम्पनी लिमिटेड आफ्ना इलेक्ट्रोनिक्स उत्पादनमा सन् १९७० देखि नै निरन्तर चिनिएको कम्पनी हो। विद्युतीय उपकरणहरूको उत्पादन र विकासमा यसको इतिहास र वर्तमानसमेत निकै बलियो छ।   

यो कम्पनी सन् १९७० मा सामसङ सेमिकन्डक्टर एण्ड टेलिकम्युनिकेसन्सका रुपमा स्थापना भइ सेमिकन्डक्टर र टेलिकम्युनिकेसन उपकरणहरू उत्पादनमा अघि बढेको हो। यो सामसङ ग्रुपअन्तर्गत नै रहेर आफ्नो वृहत्तर काममा अघि बढ्यो।

सामसङ एसडीआईको योगदान कोरियामा सेमिकन्डक्टरको विकासका लागि महत्वपूर्ण मानिन्छ। सेमिकन्डक्टरमा प्रविधिको विकासमा यसले निकै काम गरेको छ। सन् १९९० पछि त यसले आफ्नो क्षेत्र विस्तार गर्दै एलसीडी (लिक्विड क्रिस्टल डिस्प्ले) र सेकेन्डरी ब्याट्री मार्केटमा पनि काम गरिरहेको छ।      

बोकेर हिँड्न सकिने विद्युतीय उपकरणहरू र भविष्यमा हुनसक्ने विकासलाई समेत ध्यान दिएर सामसङ एसडीआईले सन् २००० पछि लिथियम आयन ब्याट्रीमा पनि काम गर्न थाल्यो। त्यसमा निरन्तर अनुसन्धान र प्रयोगहरू गर्‍यो।

यसले ल्यापटप, मोबाइल फोन र डिजिटल क्यामराको ब्याट्रीमा प्रमुख बजार हिस्सा लिँदै अघि बढ्यो। सामसङ इलेक्ट्रोनिक्ससँगको सहकार्यमा यसले सामसङका स्मार्टफोन र ट्याबलेटहरूको ब्याट्रीमा काम गर्‍यो। विद्युतीय सवारीमा भइरहेको विकाससँगै सामसङ एसडीआईले पनि उच्चस्तरीय ईभी ब्याट्रीमा काम गर्न थाल्यो।

सन् २०२० यता त सामसङ एसडीआईले लिथियम आयन ब्याट्रीको बजारमा प्रमुख हिस्सा लिइरहेको छ। ईभी ब्याट्रीको फास्ट चार्जिङ टेक्नोलोजिका लागि पनि यसले निरन्तर अध्ययन अनुसन्धान गरिरहेको छ।

यसले आफ्नो काम दिगो होस् भन्नका लागि ब्याट्रीको रिसाइकल र वातावरणीय गलत प्रभाव कम गर्नका लागि पनि निरन्तर प्रयास गरिरहेको छ। भविष्यमा हुनसक्ने ब्याट्रीको विकासमा सामसङ एसडीआईको भूमिका महत्वपूर्ण रहने देखिन्छ। यसले सोलिड ब्याट्री टेक्नोलोजिमा काम गरिरहेको छ।  

५) प्यानासोनिक कर्पोरेसन : इलेक्ट्रोनिक्समा नवीनतासहित १९१८ देखिको निरन्तरता

हालको प्यानासोनिक कर्पोरेसन अर्थात पहिलेको मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कम्पनी लिमिटेड इलेक्ट्रोनिक्समा नयाँ खोज र प्रयोगका लागि प्रख्यात कम्पनी हो। यो सय वर्षभन्दा बढीको फराकिलो यात्रामा प्यानासोनिक कर्पोरेसन ब्याट्रीमा गरेको विकासका लागि पनि चिनिन्छ। ब्याट्री उनीहरूको लामो यात्राको महत्वपूर्ण पाटो हो।

जापानको ओसाकामा ‘मात्सुसिता इलेक्ट्रिक हाउसवायर्स म्यानुफ्याक्चरिङ वर्क्स’का नाममा सन् १९१८ मा कोनेस्के मात्सुसिताले कम्पनी स्थापना गरेर काम सुरु गरेका हुन्। सुरुवाती दिनमा किफायती हुनेगरी यसले घरायसी प्रयोगका विद्युतीय सामानहरू बनाएको थियो। त्यसमा पनि विशेषगरी प्लग सकेट र साइकलमा राखिने बत्तीका लागि चिनियो।

मात्सुसिताले सुरुदेखि नै ‘जनताको सेवाका लागि’ भन्ने आफ्नो मूल मन्त्रलाई आत्मसाथ गरिरहेको छ। यसले ‘प्रविधिको प्रयोगले सहज जीवनयापन’लाई अघि बढाइरहेको छ। जसले निरन्तर सफलतासमेत पाइरहेको छ।

जापानको यो कम्पनीले दोस्रो विश्वयुद्धपछि निकै ठूला चुनौतीहरूको सामना गर्नुपर्‍यो। विश्वयुद्धपछिको चरणमा पनि यसले रणनीतिक रुपमा आफ्नो पाइला अघि बढायो। त्यसपछि नै यसले आफ्ना उत्पादनहरू थप परिष्कृत गर्दै सामान्य घरघरमा पुग्न सक्नेगरी राइस कुकर, टेलिभिजन र अडियो सुन्ने उपकरणहरू बनायो।

सन् १९५५ पछि ‘प्यानासोनिक’ ब्रान्डको नाममा अघि बढेको यो कम्पनी आफ्नो गुणस्तर र विश्वसनियतामा चिनिँदै गयो। विस्तारै त्यही विश्वसनियताको साथ यो जापानमा मात्र नभएर विश्वभर नै बलियो बन्दै गयो।

यसरी सामान्य घरमा जोडिने विद्युतीय सामग्रीहरूबाट अघि बढ्दै प्यानासोनिकले सन् १९८० को दशकमा नै लिथियम आयन ब्याट्रीबारेको अनुसन्धानमा हात हालिसकेको छ। बोकेर नै हिँड्न सकिने विद्युतीय सामान र भविष्यमा हुनसक्ने विकासलाई बुझेर प्यानासोनिकले काम गर्‍यो। जसले गर्दा नै ल्यापटप, मोबाइल फोन र डिजिटल क्यामराको ब्याट्रीमा प्रमुख उत्पादनकर्ता बनेर प्यानासोनिक निकै अघि बढ्यो।

त्यसपछि त प्यानासोनिकले हाइब्रिडका साथै विद्युतीय सवारीको ब्याट्रीमा पनि काम गर्न थाल्यो। उक्त काम विद्युतीय सवारी उत्पादन गरिररहेकाहरूसँगको साझेदारीमा अघि बढ्यो। आफ्नो वृहत्तर क्षेत्रलाई समेटिरहेको प्यानासोनिकले सेमिकन्डक्टर, सोलार प्यानल र अन्य घरायसी स्वचालित उपकरणहरूमा पनि काम गर्‍यो।    

सन् २००८ बाट यसले आफ्नो नाम ‘प्यानासोनिक कर्पोरेसन’ बनाएर अघि बढ्यो। टेस्लासहितका अन्य विद्युतीय सवारी उत्पादकहरूसँग काम गरेर प्यानासोनिकले ईभी ब्याट्रीको बजारमा आफ्नो स्थान बनाउँदै आएको छ।

यसले पनि लिथियम आयन ब्याट्रीको विकास र सोलिड स्टेट ब्याट्रीको प्रविधिमा निरन्तर अनुसन्‍धान र विकास गरिरहेको छ। यसले आफ्ना सबै काममा दिगो रहनेगरी काम गरिरहेको छ। अझै पनि सामान्य मानिससम्‍मको जीवनयापन सहज बनाउन विद्युतीय सामग्रीमा नयाँ प्रयोगहरू गरिरहेको छ।

६) एसभोल्ट : चिनियाँ ब्याट्री उत्पादकमा ‘नयाँ स्टार’

अरू घागडानहरूबीच एसभोल्ट ब्याट्री उत्पादनमा उदाउँदो तारा हो। ब्याट्रीको विश्व बजारमा यसले आफ्नो नाम बनाइरहेको छ। विद्युतीय सवारीमा ध्यान केन्द्रित गरिरहेको ग्रेटवाल मोटर्सको ब्याट्री युनिटबाट एसभोल्ट उभिएको हो। यसको स्थापना सन् २०१८ मा चीनको चाङजायोमा भएको हो।

ग्रेटवाल मोटर्ससँगको साथले नै एसभोल्टले विश्व बजारमा बढिरहेको विद्युतीय सवारीको बाटोलाई सजहै अनुमान लगाउन सकेको हो। यसको जग निर्माणमा त्यसको ठूलो महत्व रह्यो। विद्युतीय सवारीमा आवश्यक राम्रा ब्याट्री उत्पादनमा अघि बढ्न त्यही सुरुवाती साथ नै काम लाग्यो।

विद्युतीय सवारीको बजारमा प्रतिस्पर्धी हुन सक्नेगरी नै एसभोल्टले आफ्नो ध्यान ईभी ब्याट्रीमा नै लगाएको हो। ईभी ब्याट्रीको विकासगरी नवप्रयोगसहितको स्तरीय उत्पादनमा यसले काम गरिरहेको छ। यो आफ्नो उच्चस्तरीय कामका लागि नै ब्याट्री बजारमा चिनिएको छ। नयाँ खोज र प्रविधिको नवीन प्रयोगमा यसले ध्यान दिइरहेको छ।

छोटो समयमा नै ठूलो महत्वको कम्पनी बन्न सफल भएको एसभोल्ट चीनमा ‘युनिकोर्न कम्पनी’का रुपमा चिनिन्छ। छोटो समयमा नै यो एक बिलियन डलरको कम्पनी बनेबाट नै यसको विकास बुझ्न सकिन्छ। यसले चिनियाँ ईभी ब्याट्री बजारमा आफूलाई मुख्य प्रतिस्पर्धीका रुपमा उभ्याइसकेको छ। ठूला उत्पादकहरूसँग यसले सहकार्य गरिसकेको छ।

ब्याट्री टेक्नोलोजिमा विकास गर्नका लागि एसभोल्टले अनुसन्धानको काम निरन्तर गरिरहेको छ। जसका लागि यसले ‘इन्डिपेन्डेन्ट इन्नोभेसन डेमोन्स्ट्रेसन जोन’ नै बनाएर काम गरिरहेको छ। विभिन्न कामहरूमार्फत एसभोल्ट चीनभन्दा बाहिर पनि विस्तार हुँदै छ। युरोपका साथै अन्य क्षेत्रमा पनि यसले आफ्नो काम अघि बढाउँदै छ।

एसभोल्टले विद्युतीय सवारीका लागि उच्च क्षमताको सुरक्षित र उचित लागतमा लिथियम आयन ब्याट्री उत्पादनलाई प्राथमिकतामा राखिरहेको छ। भविष्यलाई हेरेर ब्याट्रीको नयाँ आविष्कारका लागि पनि यसले विभिन्न प्रविधिमा काम गरिरहेको छ।

यसले ब्याट्री उत्पादनमा वातावरणीय प्रभावका विविध पाटोहरूलाई पनि ध्यान दिइरहेको छ। ब्याट्री उत्पादकहरूमाझ ठूला भनिएकाहरूसँग प्रतिस्पर्धा गरिरहेको एसभोल्टको विकास उल्लेखनीय छ।

७) टेस्ला : विद्युतीकरणतर्फको नवीन यात्रा

टेस्ला इन्क, एउटा यस्तो नाम जुन धेरैका लागि विद्युतीय सवारीको पर्यायवाची नै बनेको छ। गजवको भविष्यचेत र आकर्षक विगतले यसलाई निरन्तर अघि बढाइरहेको छ। यसमा देखिएको साहसिक दृष्टिले प्राविधिक महत्वाकांक्षा पूरा भइरहेको छ।

सन् २००३ मा मार्टिन एबरहार्ड र मार्क टारपेनिङजस्ता इन्जिनियरले स्थापना गरेको टेस्‍लामा लगत्तै प्रोडक्ट आर्किटेक्ट र अध्यक्ष बनेर प्रवेश गरे एलन मस्क। विद्युतीय सवारीमा भविष्य देख्ने उनीहरूको सोच निकै साहसिक रह्यो।

विद्युतीय सवारीको स्वीकार्यता बढाउन उनीहरूले गरेको कामको महत्व ठूलो छ। टेस्लाले आफ्नो पहिलो उत्पादनका रुपमा सन् २००८ मा ल्याएको विद्युतीय स्पोर्टस कार ‘रोडस्टर’ टर्निङ प्वाइन्ट नै बन्यो। यसले सञ्चारमाध्यमसँगै विश्व उपभोक्ताको ध्यान ईभीतर्फ खिच्यो।

सन् २००८ मा आर्थिक मन्दीका कारण असर परे पनि टेस्ला पछि हटेन। ऊर्जासम्बन्धीको विभागमार्फत ऋण लिएर ‘मोडल एस’मा उनीहरूले काम गरे। जुन तत्कालीन समयमा तुलनात्मक रुपमा किफायती र बजार लिन सक्ने पनि देखियो। हुन पनि सन् २०१२ मा मोडेल एस सार्वजनिक भएपछि विद्युतीय सवारीको बजार तरंगित नै भयो। यो नयाँ मोडल पासा पल्टाउन सक्षम देखियो।

यसले विद्युतीय सवारीलाई लिएर राखिने पुरातन सोचमा परिवर्तन ल्याइदियो। गजवको रेन्चसहित लक्जरी विशेषता राखेर चकित बनाइदियो। मोडल एसमार्फत मिलेको सफलताले गर्दा नै टेस्लालाई थप काम अगाडि बढाउन मद्धत पुग्यो। त्‍यसपछि नै जन्मिए मोडल एक्सजस्तो विलासी एसयूभी र मोडेल थ्रीजस्तो मास मार्केट सेडान।

टेस्लाले ठूलो क्षमतामा ब्याट्री उत्पादन गरेर लागत कम गर्न र रेन्ज बढाउन पनि विभिन्न कामहरू गर्‍यो। यसले नवीकरणीय ऊर्जाका अन्य क्षेत्रहरूमा पनि काम गर्‍यो। सन् २०२० को दशकको सुरुवातमा नै टेस्लाको सेयर मूल्य बढ्न थालेसँगै लगानीकर्ताको विश्वास र ईभीको बजार पनि बढ्दै गयो।

साइबरट्रक, मोडेल वाईले त टेस्लालाई भविष्यद्रष्टा नै बनाएको छ। यसले आफ्नो उत्पादन अमेरिकासँगै चीन र जर्मनीमा पनि गरेर विश्व बजारलाई थप विस्तार गरिरहेको छ।

अटोपाइलटमार्फत सेल्फ ड्राइभिङ टेक्नोलोजीमा टेस्लाले गरेको विकास उदाहरणीय छ। यसले ईभीमा बनाइएको सीमा र पुरानो दायरालाई तोड्दै चकितसमेत पारिरहेको छ।

टेस्लाले बढिरहेको विश्व बजारमा निकै प्रतिस्पर्धीहरूसमेत पाइरहेको छ। तर पनि यसको पहिचान बेग्लै बनिरहेको छ। त्यसमा गुणस्तर, सुरक्षासम्बन्धी विशेषतासँगै नयाँ चुनौतीहरूलाई पनि टेस्लाले सम्बोधन गरिरहेको छ।

ब्याट्री टेक्नोलोजीमा विकास र नयाँ खोजमा टेस्लाले निरन्तर काम गरिरहेको छ। त्यसमा नवीकरणीय ऊर्जाका सम्बन्धमा समेत टेस्लाको कामहरू केन्द्रित देखिन्छन्। टेस्लाको भिजन विद्युतीय सवारीमा मात्र भन्दा पनि अझ वृहत छ। विद्युतीय सवारीका साथै नवीकरणीय ऊर्जाका अन्य पाटोमा पनि टेस्लाले आफ्ना कामहरू अघि बढाइरहेको छ।

८) ईभीई इनर्जी : चीनको उदाउँदो ब्याट्री उत्पादक

ईभीई इनर्जी कम्पनी लिमिटेड अन्य ब्याट्री उत्पादकहरूको माझमा उदाउँदो कम्पनी हो। चीनमा बढिरहेको लिथियम आयन ब्याट्रीको बजारमा यसको विकास भने द्रुत नै देखिन्छ।

लिथियम आयन ब्याट्रीको विकासमा काम गरिरहेको ईभीई इनर्जी चीनको होइजोउमा सन् २००१ मा नै स्थापना भएको हो। यसले सुरुवाती दिनमा इलेक्ट्रोनिक्स बजारमा नै उपयोगी हुनेगरी आफ्नो काम सुरु गरेको थियो। लिथियम आयन ब्याट्री उत्पादकमा आफ्नो पहिचान बनाएर विश्वसनीय बनेको ईभीई इनर्जीले मोबाइल फोन, ल्यापटप र अन्य विद्यतीय उपकरणहरुको ब्याट्रीमा नै काम गरेको हो।

विद्युतीय सवारीमा बढिरहेको बजार देखेको ईभीई इनर्जीले त्यसका लागि गुणस्तरीय ब्याट्री उत्पादनमा पनि सन् २०१० देखि काम सुरु गरेको हो। जसले यसको ध्यान विद्युतीय सवारीको ब्याट्रीतर्फ नै केन्द्रित भयो।

यसले प्यासेन्जर कार, कमर्सियल भेहिकल र विद्युतीय मोटरसाइकलको ब्याट्री उत्पादनमा पनि काम गर्न थाल्यो। सन् २०२४ सम्म आइपुग्दा चीनको ईभी ब्याट्री बजारमा यसको हिस्सा महत्वपूर्ण छ। यसले प्रमुख चिनियाँ विद्युतीय सवारी उत्पादकहरूसँग साझेदारीमा काम गरिरहेको छ।

यसले विद्युतीय मोटरसाइकलमा ‘ब्याट्री स्वापिङ’ गर्न सकिने गरी नयाँ प्रविधिमा समेत काम गरेको छ। ब्याट्रीका सम्बन्धमा ईभीई इनर्जीले अनुसन्धान र नवप्रवर्तनको काममा लगानीसमेत गरिरहेको छ। जसका लागि उद्योगको क्षमता विस्तारमा समेत यसले काम गरिरहेको छ।

यसले सुरक्षित, विश्वसनीय, भरपर्दो र उपयुक्त लागतमा लिथियम आयन ब्याट्री उत्पादनमा ध्यान दिइरहेको छ। टिकाउ र स्थिरतामा ध्यान दिँदै ईभीई इनर्जीले वातावरणीय प्रभावलाई विचार गरेर काम गरिरहेको छ। यसले सीएटीएल र बीवाईडीजस्ता विद्युतीय सवारी उत्पादकहरूसँग मिलेर काम गरिरहेको छ।

ईभी ब्याट्रीको प्रतिस्पर्धी बजारमा नयाँ प्रविधि विकासको क्षेत्रमा समेत ईभीई इनर्जीले काम गरिरहेको छ। बलियो आपूर्ति सञ्जाल विस्तार गरिरहेको ईभीई इनर्जीका लागि बजारमा देखिएका भू-राजनीतिक तनावहरू व्यवस्थापन गर्दै अघि बढ्ने चुनौती पनि छ।

९) एसके अन : विश्व बजारमा फैलँदै

दक्षिण कोरियाको एसके अन कम्पनी लिमिटेड नयाँ नै भए पनि आफ्नो माउ कम्पनी एसके इन्नोभेसनसँगको सम्बन्ध देखाउँदै बलियो विरासत भएको दाबी गर्ने गर्छ।

सन् १९६४ मा कोरिया ओएल कर्पोरेसनका रुपमा एसके इन्नोभेसनले पेट्रोलियम विकास र रिफाइनिङमा काम गरेको हो। त्यसको एक दशकमा नै कम्पनीले पेट्रोकेमिकलमा काम गर्न थालेपछि दक्षिण कोरियामा अग्रणी बन्दै गयो।

विद्युतीय सवारीमा भइरहेको विकासलाई ध्यान दिएर एसकेले शक्तिशाली ब्याट्री उत्पादनका लागि लिथियम आयन ब्याट्रीबारे अनुसन्धान र विकासको काम सन् २०२१ भन्दा अघि नै गरिसकेको थियो। त्यसमा ब्याट्रीमा काम गर्नकै लागि एसके अन कम्पनी खडा गरेर काम सुरु भयो। जसले बढिरहेको ब्याट्री बजारमा प्रतिस्पर्धी रुपमा अघि बढ्न सहज भयो। त्यसमा चीनको जियान्सुमा सहायक कम्पनीका रुपमा ‘एसके अन जियान्सु’ विस्तार गरेपछि त यसको बजार अझ बढिरहेको छ।

एसके अन जियान्सुले ब्याट्रीका सम्बन्धमा एसके अनको विज्ञताको भरपुर उपयोग गरिरहेको छ। जसले ईभीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीको चिनियाँ बढ्दो बजारमा स्थान बनाउन सहज भइरहेको छ। चीनमा मात्र होइन एसके अनको विश्वव्यापी बजारमा समेत एसके अन जियान्सुमार्फत सहयोग भइरहेको छ।

एसके अन जियान्सुको उत्पादन क्षमता, विभिन्न उत्पादकहरूसँगको साझेदारी र उनीहरूले उत्पादन गरिरहेको ब्याट्रीको विविध प्रकारलाई हेर्दा प्रतिस्पर्धात्मक बजारमा सहज उपलब्धता भने कठीन छ।

यसमा माउ कम्पनी एसके अनले भविष्यलाई हेरेर बनाएका योजना निकै वृहत छ। यसले ब्याट्रीको नयाँ प्रविधिहरूमा निरन्तर अनुसन्धान गरिरहेको छ।

१०) सीएएलबी ग्रुप : ब्याट्री उत्पादकमाझ एउटा बढ्दो शक्ति

सीएएलबी ग्रुप कम्पनी लिमिटेड लिथियम आयन ब्याट्रीको चिनियाँ बजारमा चिनिएको कम्पनी हो। सन् २०१५ मा लोयाङमा स्थापना भएको यसको विकास र विस्तारको यात्रा फैलँदो छ। पहिले यसको नाम ‘चाइना एभिएसन लिथियम ब्याट्री (लोयाङ) कम्पनी लिमिटेड’ रहेको थियो।  

चीनमा विद्युतीय सवारीमा भएको व्यापक विकाससँगै सीएएलबी पनि लिथियम आयन ब्याट्रीतर्फ लागेको हो। यसले विशेष गरी ईभीका लागि नै डिजाइन गरेर लिथियम आयन ब्याट्री उत्पादन गरिरहेको छ। स्वच्छ ऊर्जाको क्षेत्रमा अनुसन्धान र विकासमा समेत यसले काम गरिरहेको छ। यसले चिनियाँ विद्युतीय सवारी निर्माताहरूसँग सहकार्यमा काम गरिरहेको छ। चीनको ब्याट्री बजारमा यसले आफूलाई अग्रणी बनाएर नै अघि बढिरहेको छ।

सन् २०२३ को फेब्रुअरीमा यसले आफूलाई रिब्रान्डिङ गर्दै सीएएलबी ग्रुप कम्पनी लिमिटेडका रुपमा नाम फेरेर अघि बढ्यो। यसपछि नै ब्याट्री उत्पादनमा मात्र नभएर स्वच्छ ऊर्जाका वृहत आयामहरूमा काम गर्ने परिचय बनाउन थालेको छ।

ब्याट्री उत्पादनमा पनि यसले २०३० सम्म व्यापक वृद्धि गर्ने योजना सार्वजनिक गरिसकेको छ। २०५० सम्म उत्पादन क्षमता ५०० गिगावाट आवर र २०३० सम्म एक टेरावाट आवर बनाउने घोषणा गरेको छ। यसले पनि सीएएलबी विश्व ईभी ब्याट्री बजारमा ठूलो शक्तिका रुपमा अघि बढ्ने देखिन्छ।

चीनभित्र विभिन्न ७ स्थानमा यसले उत्पादन उद्योग राखेको छ। त्यसमा अझ चीनकै केही सहरसहित युरोपमा समेत उद्योग विस्तार गर्ने योजनामा काम गरिरहेको छ। जसले योजनाअनुरुप सुरक्षित, भरपर्दो र किफायती ब्याट्री उत्पादनमा अघि बढ्न सहयोग पुग्नेछ।

ब्याट्रीका सम्बन्धमा नयाँ प्रविधिको खोज र विकासमा समेत यसले काम गरिरहेको छ। वातावरणीय प्रभावलाई मध्यनजर गर्दै यसले रिसाइक्लिङमा कसरी राम्रो काम गर्न सकिन्छ भन्नेमा पनि अध्ययन अनुसन्धान गरिरहेको छ।

व्यापक बजार विस्तार गरिरहँदा सीएएलबीले सीएटीएल र बीवाईडीजस्ता कम्पनीको प्रतिस्पर्धासमेत पाइरहेको छ। त्यससहित चीनमा नयाँ कम्पनीहरुको उदय र विकास पनि उल्लेखनीय छ। यसका लागि विद्युतीय सवारीका सम्बन्धमा देखिएको भू-राजनीतिक द्वन्द्व व्यवस्थापनमा ध्यान दिनुपर्ने कठिनाइ छँदै छ।

(बिजनेस न्युजको 'बिजुली गाडी' विशेष अनलाइन म्यागजिनबाट)


प्रकाशित : शनिबार, वैशाख २२ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend