बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय आईटीसी होटेल्सको व्यवस्थापनसहित साँगामा खुल्यो लक्जरी रिसोर्ट

चर्चित महादेव मूर्तिसहित रिसोर्टमा एक अर्ब रुपैयाँ लगानी

मंगलबार, वैशाख १८ २०८१
भारतीय आईटीसी होटेल्सको व्यवस्थापनसहित साँगामा खुल्यो लक्जरी रिसोर्ट

काठमाडौं- भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स अन्तर्गतको फर्च्यून होटेल्सले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ।

हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईटीसीसँग मिलेर भक्तपुरको साँगामा 'फर्च्यून हाइइन्ड रिसोर्ट' सञ्चालनमा ल्याएका हुन्।

भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरूले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै फर्च्यून होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, 'नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौँ। भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ।'

'हामी दक्षिण एसिया र नजिकका अरु देशहरूमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो। सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरूले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको पहिलो रोजाईमा पर्छ। त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फर्च्यून होटेल्स्को सुविधाहरू नेपालमा ल्याउन चाहन्छौँ' उनले भने। 

हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, 'भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ। विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ। यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल-बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ।'

फर्च्यून होटलसँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, 'फर्च्यून होटलसँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौँ। फर्च्यून होटल एक चर्चित होटल सञ्जाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो। फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ। हामी आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढंगले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्‍याउनेछौँ।'

काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड बेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ।

साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालमा आतिथ्य संस्कारमा एउटा अर्थपूण छाप छोड्ने विश्वास लिएको छ।

महादेवको मूर्ति बनाउने समयमा सन् २०११ मा नै घोषणा गरिएको रिसोर्ट भूकम्प र कोरोना कारण सफल नभए पनि अहिले ढिलागरी सञ्चालनमा ल्याउन सकिएको जैनले बताए।

रिसोर्टसहित अन्य संचरनामा एक अर्ब रुपैयाँ लगानी भएको उनले जानकारी दिए। होटलमा भारतीयहरूलाई नेपालमा बिहेको पार्टी गराउन सुविधायुक्त स्थान मिल्नेगरी आफूहरूले मुख्य ध्यान केन्द्रित गर्न लागेकोसमेत जैनले बताए। नगरकोट र धुलिखेल जाने आन्तरिक पर्यटकका लागि पनि रिसोर्ट गन्तव्य हुने उनको भनाइ छ। 

भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई महत्वपूर्ण महादेव मन्दिर मानिन्छ। जसमा मूर्तिको उचाइ १ सय ४३ फिट रहेको छ। २०६१ सालबाट निर्माण थालनि गरिएको मन्दिरको उद्घाटन २०६७ सालमा गरिएको थियो।  

कैलाशनाथ पार्क र सानो रिसोर्ट पनि सँगै खोलिएको छ। भूकम्पमा भत्किएपछि पुन: लगानी गरेर नयाँ स्वरुपमा रिसोर्ट खोल्ने घोषणा गरिएको थियो। भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको महादेव मूर्ति आन्तरिक पर्यटकका लागि गन्तव्य बनेको छ।

मन्दिर रहेको स्थानबाट भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृंखलाहरूको मनोरम दृश्य पनि देख्न सकिन्छ। ७५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मूर्तिसहितको संरचनाहरूमध्ये २५ रोपनीमा रिसोर्ट बनाइएको छ। 

के-के छन् सुविधा?

शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ। होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन्। प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ। 

रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ पुल जस्ता  विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन्। स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ।

शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन्। साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने कम्पनीले रिसोर्टले जनाएको छ। थरि थरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरूलाई सर्वाेत्कृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी राखेको छैन। 

थुप्रै फराकिलो व्याङ्कवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रुपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ। रिसोर्टमा ८ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ। यो सबै कुराहरूले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब ६ सय पाहुनाहरू आरामले अटाउँछन्।

रिसोर्टमा पार्टि र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ। ठूला सामाजिक कार्यहरू, सम्मेलनहरू र विशेष जमघटहरू आयोजना गर्नका लागि सुन्दर ढंगले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सवहरूको लागि उत्कृष्ट गन्तव्य हुनसक्छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend