शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

महिन्द्राको विद्युतीय एक्सयूभी ४०० बजेटअघि नै बिक्रीमा आउने, अग्नी इनर्जीले थाल्यो प्रक्रिया

मंगलबार, वैशाख १८ २०८१
महिन्द्राको विद्युतीय एक्सयूभी ४०० बजेटअघि नै बिक्रीमा आउने, अग्नी इनर्जीले थाल्यो प्रक्रिया

भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्राले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निकै पछाडि परिसकेको छ।

काठमाडौं- निजी विद्युतीय सवारीको कर बजेटमा बढ्ने चर्चा महिनौँदेखि चलि नै रहेको छ। यो अवस्थामा विद्युतीय सवारी आयात गर्नेहरूले बजेटअघि नै विद्युतीय कार ल्याउने कसरत सुरु गरेका छन्। यस्तै कसरत महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी समूहअन्तर्गतको अग्नी इनर्जीले पनि सुरु गरेको छ। 

महिन्द्राले भारतीय बजारमा सार्वजनिक गरेको एक वर्षभन्दा बढी समयपछि महिन्द्रा एक्सयूभी ४०० विद्युतीय एसयूभी नेपाल ल्याउने प्रक्रिया सुरु गरेको हो। नेपाली बजारमा दर्जनौँ ब्रान्डका विद्युतीय सवारी आएर राम्रो बजार लिइरहेका छन्। 

विगतमा सानो आकारको विद्युतीय कार ल्याएर ईभीप्रतिको उपभोक्ताको ‘राय’ बदल्न भूमिका खेलेको महिन्द्रा पछिल्लो समय भने नेपाली बजारमा ईभी नहुँदा ‘अनुपस्थित’ जस्तै नै छ। भारतमा सार्वजनिक भएपनि महिन्द्राले नेपाली बजारका लागि विद्युतीय कार दिएको थिएन। तर अब भने अग्नी समूहले विद्युतीय सवारीमा आफ्नो उपस्थिति जनाउने भएको छ। 

अग्नी इनर्जीले महिन्द्राले उत्पादन गरेको विद्युतीय एसयूभी एक्सयूभी ४०० बजेटअघि नै नेपाल ल्याउने तयारी गरेको हो। आयातको प्रक्रिया गरिरहेको साथै दुई/तीन वटा कार ल्याएर परीक्षण गर्ने र त्यसपछि बिक्रीका लागि ल्याउने योजना कम्पनीले बनाएको छ। 

महिन्द्राको एक्सयूभी ४०० भारतमा दुई ब्याट्री अप्सनमा उपलब्ध छ। २०२३ को जनवरीमा सार्वजनिक भएको यो विद्युतीय एसयूभीको प्रो भर्सन भने २०२४ को जनवरीमा सार्वजनिक गरिसकेको छ। कुन ब्याट्री अप्सन र कुल मोडल नेपाल आउने भन्ने खुलेको छैन।  

भारतमा ईभी उत्पादनमा अग्रणी भूमिकामा रहेपनि महिन्द्राले समयको मागअनुसारको विद्युतीय कार बजारमा ल्याउन नसक्दा कम्पनी निकै पछाडि परिसकेको छ। टाटा नेक्सन ईभी भारत र नेपालमा सर्वाधिक बिक्री हुने ईभी मोडलका रुपमा स्थापित भइरहेको छ। 

Mahindra XUV400 ev1.jpg

अब भने महिन्द्राले धेरै मोडलको कन्सेप्ट सार्वजनिक गरेर आफ्नो ईभी उत्पादन आक्रामक बनाउने संकेत गरेको छ। महिन्द्राले एक्सयूभी ४०० पछि विभिन्न मोडल ल्याउनेगरी भारतमा परीक्षण गरिरहेको छ।  

महिन्द्राले ल्याएको एक्सयूभी ४०० अहिले चल्तीमा रहेको आईसी इन्जिनयुक्त एक्सयूभी ३०० मा आधारित रहेर बनेको मोडल हो। कम्पनीले एक्सयूभी ३०० को भन्दा केही ठूलो आकार र लामो साइजमा एक्सयूभी ४०० बनेको छ। 

महिन्द्राको नयाँ विद्युतीय कारमा ‘एक्स १०० प्लेटफर्म’मा आधारित कोरियन कम्पनी एलजी सेमको हाई डेन्सिटी एनएमसी ब्याट्री प्रयोग भएको छ। एनएमसी ब्याट्री ज्यादा पावर र रेन्जको लागि परिचित छ। त्यसैले एक्सयूभी ४०० ले एक पटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्ज दाबी गरिएको छ। 

यो विद्युतीय कारमा एड्रिनक्स कनेक्टिभिटीसहितको सात इन्चको टच स्क्रिन, ओभर-द-एयर अपडेट, मल्टिपल एयरब्याग, सबै पांग्रामा डिसब्रेक, सिंगल प्यानल सनरुफलगायत विशेषत रहेका छन्।  

३९.४ केडब्लूएच ब्याट्री प्याकमा आएको एक्सयूभी ४०० ले १५० एचपी पिक पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्नेछ। यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.३ सेकेन्डमा तय गर्नेछ भने अधिकतम गति १ सय ५० किलोमिटर प्रतिघण्टा रहेको छ। एकपटकको फुल चार्जमा ४ सय ५६ किलोमिटर रेन्जदिने दाबी गरिएको यो कार शून्यदेखि ८० प्रतिशत चार्ज हुन ५० मिनेटरमात्र लाग्नेछ। यो चार्ज हुन ५० केडब्लूको डीसी फास्ट चार्ज आवश्यक पर्छ। 

नेपाल आउन लागेको एक्सयूभी ४०० मा १ सय १० किलोवाट पिक पावर भएको मोटर रहेको छ। अग्नी इनर्जीले सोही विवरण उल्लेख गरेर नियमक निकायमा पेश गरेको छ। 

त्यस्तै महिन्द्रा एक्सयूभी ४०० अर्को ब्याट्री अप्सन ३४.५ किलोवाट आवरमा पनि उपलब्ध छ। यो ब्याट्री प्याकयुक्त एक्सयूभी ४०० ले फुल चार्जमा ३ सय ७५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। यो विद्युतीय कारको मूल्य कति हुने भन्ने प्रष्ट भएको छैन। 

भारतीय बजारमा महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य १५ लाख ४९ हजार भारुदेखि १९ लाख ३९ हजार भारुसम्म तोकिएको छ। 


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend