बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी सम्मेलनमा देउवाले भने - विदेशी लगानीकर्ताका लागि कतै बाधा नहुनेगरी सबै दल मिलेर काम गर्छौं

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १६ २०८१
लगानी सम्मेलनमा देउवाले भने - विदेशी लगानीकर्ताका लागि कतै बाधा नहुनेगरी सबै दल मिलेर काम गर्छौं

'अझै पनि नेपाली कांग्रेसले सुरु गरेको सुधारले पूर्णता नपाएपनि सरकारसँग सहकार्य गरेर सुधारलाई अगाडि बढाउने छाैँ'

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई पूर्वधारसहित विभिन्न क्षेत्रमा लगानी आवश्यक रहेको बताएका छन्। 

तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन, ऊर्जा, उत्पादन क्षेत्र, खानी, सूचना प्रविधिमा लगानीको ठूलो अवसर रहेका बताए। 

'नेपाल विकास हुँदै गरेको देश हाे। यहाँ पूर्वाधारसहित धेरै सेक्टरमा लगानी आवश्यक छ। नेपाली कांग्रेसले नै नेपालमा खुला बजार नीति लिएको हाे। त्यसपछि नै नेपालमा विदेशी लगानीका लागि खुला गरिएको हाे। अहिले पनि नीतिगत सुधारका कामहरू बाँकी छन्। जुन जारी छ' उनले भने। 

नेपालमा अहिले धेरै दक्ष जनशक्ति रहेको र नेपाल धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन चाहिरहेको बताउँदै उनले भने, 'त्यसका लागि नेपाली कांग्रेसले वर्तमान सरकारलाई सहयाेग पनि गर्दछ। नेपालमा अहिले धेरै पीपीपी माेडलमा परियाेजनाहरू अगाडि बढेका छन् जुन म प्रधानमन्त्री हुँदा पनि धेरै काम अगाडि बढेका हुन्।'

अझै पनि छिटाे छरिताे लाइसेन्स र अनुमतिमा समस्या रहेको बताउँदै उनले त्यसमा सुधारको काम भइरहेको जनाए। विदेशी लगानीकर्ताका लागि कतै बाधा उत्पन्न नहुनेगरी सबै राजनीतिक दल मिलेर काम गर्ने उनले बताए। 

'अझै पनि नेपाली कांग्रेसले सुरु गरेको सुधारले पूर्णता नपाएपनि सरकारसँग सहकार्य गरेर सुधारलाई अगाडि बढाउने छाैँ' उनले भने। 

नेपाल चीन र भारतको बीचमा रहेकाले पनि बजारका हिसाबले विश्वका लगानीकर्ताका लागि अवसर रहेको बताउँदै उनले भने, 'अर्थतन्त्र सुधारमा सरकारले सकारात्मक सहकार्य अगाडि बढाउन आवश्यक छ। नेपालमा लगनीकर्ता भित्र्याउन राजनीति दलहरूमा कुनैपनि विवाद पनि छैन। यसकारण पनि लगानीकर्ताहरूले लगानी गर्न हिचकिचाउन पर्दैन।'

विदेशी लगानीकर्ताका लागि आवश्यक अन्य नीतिगत सुधारको काम निरन्तर जारी रहेको बताउँदै उनले नेपालमा धेरै बहुराष्ट्रिय कम्पनीहरूले राम्राे लाभांश लिइरहेको अवस्था हेरेर पनि यहाँ लगानी उपयुक्त हुने बताए। 


प्रकाशित : आइतबार, वैशाख १६ २०८११२:१०
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend