बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानीकर्ताको स्वागतमा काठमाडौं

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख १५ २०८१
लगानीकर्ताको स्वागतमा काठमाडौं

सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालका निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ।

काठमाडौं- मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ।

सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।

‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट-२०२४’ मा करिब आठ सय विदेशी र चार सय नेपाली लगानीकर्ताले सहभागिता जनाउने नेपाल लगानी बोर्डले जनाएको छ। स्वदेश तथा विदेशका लगानीकर्ता काठमाडौं आउने क्रम जारी छ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा १० सत्र सञ्चालन हुनेछन्। पचासभन्दा बढी वक्ता रहने सो सम्मेलनमा एक हजार बढीको सहभागिता रहनेछ। विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल ताहचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकुलगायत सडकमा ‘लगानीकर्तालाई नेपालमा स्वागत छ’ नारा लेखिएका ब्यानर अंकित स्वागतद्वार राखिएका छन्।

सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालका निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ। स्वागतमा राखिएका ब्यानरमा नेपाल सरकार आयोजक तथा निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स सहआयोजकका रुपमा उल्लेख गरिएको छ। सम्मेलनको सचिवालयको जिम्मेवारी लगानी बोर्डको कार्यालयलाई दिइएको छ।

पर्याप्त पुँजी, प्रविधि तथा मानव संसाधनका लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी आवश्यक भएकाले देशको समग्र विकासमा योगदान गर्ने ठानिएका ती परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ। सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ आयोजना समावेश गरिएका छन्।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका ६ परियोजना छन्। निजी क्षेत्रबाट प्रस्तुत ३१ परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएका छन्।

सम्मेलनका क्रममा विभिन्न विषयमा छलफल हुनेछ। लगानीका लागि सरकार र निजी क्षेत्रबीच छलफल हुने लगानी बार्डले जनाएको छ। सो क्रममा नेपालमा लागनीको सम्भावना र वातावरणका बारेमा नीतिगत छलफल हुनेछ। रासस


प्रकाशित : शनिबार, वैशाख १५ २०८११७:०७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend