बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

पुँजी बजारबारे प्रचण्ड : दस्ताबेज एकातिर तर अहिले भन्दैछन् - साम्राज्यवादको रूप

सोमबार, पुस ५ २०७८
पुँजी बजारबारे प्रचण्ड : दस्ताबेज एकातिर तर अहिले भन्दैछन् - साम्राज्यवादको रूप
तस्बिर: रासस

दाहालले भूमण्डलीकृत वित्तीय एकाधीकार पुँजीवादको नेतृत्व विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता निकायले गरिरहेको पनि आरोप लगाएका छन्। 

काठमाडौं- अघिल्लो हप्ता एक राजनीतिक कार्यक्रममा सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिए। उनले वित्तीय एकाधीकारवादलाई प्रोत्साहन गर्ने गरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले काम गरिरहेको पनि आरोप लगाए। 

प्रचण्डले भूमण्डलीकृत वित्तीय एकाधीकार पुँजीवादको नेतृत्व विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता निकायले गरिरहेको पनि आरोप लगाएका छन्। 

आफूले यसैमा केन्द्रित रही राजनीतिक दस्ताबेजको तयारी गरेको पनि उल्लेख गरेका छन्। तर उनै प्रचण्ड नेतृत्वको सरकारले भने उनको हालको नीतिको ठीक उल्टो हुने गरी आर्थिक नीति बनाएको थियो। 

२०६५ सालमा दाहाल पहिलोपटक प्रधानमन्त्री भए। उनका अर्थमन्त्री डा बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटमा 'धितोपत्र बजारको कारोबारलाई आधुनिकीकरण गर्ने क्रममा धितोपत्र विनिमय बजारमा यसै वर्षदेखि कारोबारलाई कम्प्युटरीकृत गर्ने काम भएको छ। यसैक्रममा कारोबारलाई अझ बढी पारदर्शी र नामसारी प्रक्रियालाई सरलीकृत गरी छिटो सम्पन्न गर्न यस आर्थिक वर्षमा केन्द्रीय निक्षेपात्मक प्रणाली लागू गर्न कानूनी व्यवस्था लगायतका पूर्वाधार तयार गरिनेछ,' उल्लेख छ। 

अर्थात अहिले कार्यान्वयनमा रहेको केन्द्रीय निक्षेपात्मक प्रणाली (डीपी) लागू गर्ने घोषणा भट्टराईले गरेका थिए। भट्टराईले भनेको प्रणाली त्यतिबेला कार्यान्वयनमा त आएन त्यसको एक दशकपछि शेयर बजार पूर्ण प्रविधिमैत्री हुने अवस्थामा छ। जसले बजारमा आम लगानीकर्ताको सहज पहुँच विस्तार गरेको छ। 

त्यतिमात्रै होइन निजीकरणको चर्को विरोध गर्ने माओवादी र त्यसका अध्यक्ष प्रचण्डकै पालामा ल्याइएको बजेटमा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको शेयर सर्वसाधारणलाई बिक्री गर्ने समेत घोषणा गरेका थिए। जुन अहिलेसम्म भएको छैन। 

प्रचण्ड दोस्रोपटक प्रधामन्त्री भएका बेला अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट ल्याए। उक्त बजेटको बुँदा नं १८२ मा 'पुँजी बजारको विकास र स्थायित्वका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ। उत्पादनमूलक कम्पनीहरूलाई पुँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गरिनेछ। धितोपत्र कारोबारलाई पूर्ण स्वचालित बनाइनेछ। धितोपत्र नियमन सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरिनेछ।'

प्रचण्ड नेतृत्वका सरकारले पुँजी बजारलाई पुँजी निर्माणको औजारको रूपमा विकास गर्ने घोषणा गरेका छन्। तर उनले सत्ताबाहिर हुँदा भने साम्राज्यवादको विकसित रूपको संज्ञा दिए।


प्रकाशित : सोमबार, पुस ५ २०७८०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend