बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालीले विदेशमा सफ्टवेयर कम्पनीको शाखा खोलेर कारोबार गर्न सक्ने

मंगलबार, वैशाख ११ २०८१
नेपालीले विदेशमा सफ्टवेयर कम्पनीको शाखा खोलेर कारोबार गर्न सक्ने

नेपालीले सफ्टवेयर कम्पनीको शाखा खोलेर कारोबार गर्नसक्ने, विदेशी मुद्रा सटहीको सिफारिस सूचना प्रविधि विभागले दिने

काठमाडौं- नेपाली सफ्टवेयर कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने भएका छन्। 

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ मा संशोधन गर्दै सरकारले नेपाली सफ्टेयर कम्पनीले व्यापारिक कारोबार गर्न सक्नेगरी शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको छ। 

कुनै पनि नेपाली कम्पनीले विदेशमा सम्पर्क कार्यालय खोल्न पाउने भएपनि लगानी लिएर कारोबार गर्न प्रतिबन्ध रहेको थियो। सफ्टवेयर कम्पनीलाई यसअघि मौद्रिक नीतिमा विदेशमा एजेन्ट कार्यालय जस्तो सीमित अनुमति दिने व्यवस्था गरिएको थियो। तर यसबाट लाभ नहुने भन्दै उद्यमीले असन्तुष्टि जनाएका थिए। 

सरकारले अध्यादेशबाट विद्युतीय कारोबार ऐन संशोधन गर्दै  नेपालमा स्थापित भएको सूचना प्रविधिमा आधारित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले निर्माण गरेको सफ्टवेयर वा सूचना प्रविधि विषयसँग सम्बन्धित सेवा निर्यात गरी आर्जित रकम नेपालमा भित्र्याउने प्रयोजनको लागि विदेशमा शाखा कार्यालय वा इकाई खोली व्यापारिक कारोबार गर्न आवश्यक भइ सम्बन्धित व्यक्ति, फर्म, उद्योग वा कम्पनीले सो कुराको पुष्टि गर्ने कागजातसहित निवेदन दिएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस्तो शाखा कार्यालय वा इकाई खोल्नको लागि अनुमति दिने व्यवस्था गरिएको छ। 

ऐनमा भएको व्यवस्थाले विदेशमा कारोबार गर्न सक्ने हैसियतमै शाखा कार्यालय खोल्न दिने भनिएपनि नियमावलीमा हुने थप व्यवस्थाले यसको सफलता निर्धारण गर्ने व्यवसायीले बताएका छन्।

त्यस्तै नेपाली सफ्टवेयर कम्पनीलाई विदेशी विनिमयका लागि सिफारिस दिने निकायका बारेमा रहेको अस्पटता पनि यो संशोधनले हटाएको छ। ऐनले यस्ता कम्पनीलाई सूचना प्रविधि विभागले सिफारिस गर्ने व्यवस्था गरिएको छ। 


प्रकाशित : मंगलबार, वैशाख ११ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend