बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

शुक्रबार, पुस २ २०७८
भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

अन्तरराष्ट्रिय आप्रवासी दिवस, २०२१ का अवसरमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले भारतमा लाखौँको सङ्ख्यामा रहेका आप्रवासी नेपाली श्रमिकको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए।
 
उनले सरकारले आप्रवासी श्रमिकको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिएको जानकारी गराए। वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञबाट सुझाव सङ्कलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ।

अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील बनाएर परिचालन गर्ने सरकारको नीति रहेको जनाउँदै उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको बताए।

कोभिड–१९ महामारीका कारण अन्तरराष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनले बताए। साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रवासीको सङ्ख्या पनि क्रमशःवृद्धि हुँदै गएकाले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, पुस २ २०७८१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend