मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

आईएमई समूहले बैतडीमा सिमेन्ट उद्योग खोल्ने, भारततर्फ निर्यात गर्ने लक्ष्य

विदेशी लगानीसमेत भित्र्याइने उद्योगमा झन्डै २५ अर्ब लगानी हुने

बुधबार, चैत २१ २०८०
आईएमई समूहले बैतडीमा सिमेन्ट उद्योग खोल्ने, भारततर्फ निर्यात गर्ने लक्ष्य

विदेशी लगानी भित्र्याउने योजनामा रहको समूहले २० देखि २५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेको हो। ‘अहिले नै कति लगानी भन्ने अन्तिम चरणमा पुगेका छैनौँ तर उद्योगमा विदेशी लगानी पनि भित्र्याउने योजना भने छ,’ अध्यक्ष ढकालले भने।

काठमाडौं- व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिम क्षेत्रको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ। केबलकार, वित्तीय संस्था, होटल तथा सेवा क्षेत्रमा समेत लगानी गर्दै आएको समूहले अब सिमेन्ट उद्योगमा पनि लगानी गर्न लागेको हो।

बैतडीमा प्रदेश सकारकै अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको थियो। सोही क्षेत्रमा आईएमई समूहले सिमेन्ट उद्योग खोल्न लागेको हो।

विगत तीन दशकदेखि देशको बैंकिङ तथा वित्तीय क्षेत्रमा क्रियाशील रहेको आईएमई समूहले आईएमई ब्राण्डमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो।

रेमिट कम्पनीबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमई समूहले बैंकिङ, बीमा, केबलकार, होटल, अनलाइन पेमेन्ट सिस्टम, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका क्षेत्रमा काम गर्दै आएको छ। 

समूहले अब विदेशी लगानीसहित ठूलो परिणाममा सिमेन्ट उत्पादन गरेर भारततर्फ निर्यात गर्ने योजनाका साथ उद्योग स्थापना गर्न लागेको हो। सोही कारण आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा समेत सिमेन्ट उद्योगको विषय सोकेसमा राखिँदैछ।

समूहले यसअघि पनि नवलपरासी (पूर्व) को चोरमारामा १० अर्ब रुपैयाँमा सिमेन्ट कारखाना स्थापना गर्ने घोषणा गरेको थियो। नवलपरासीमा धेरै उद्योग खुलेको भन्दै समूहले उक्त परियोजना होल्ड गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो। 

‘विगतमा नलवपरासीमा पनि खोल्न लागेको हो तर त्यहाँ धेरै उद्योग देखिएपछि स्थगित गरेर बैतडीमा उद्योग खोल्न लगेका हौँ,’ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने। अहिले भारततर्फ निर्यातको धेरै सम्भावना देखिएकोले बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले बताए। 

समूहले झुलाघाटबाट ३५ किलोमिटर पश्चिममा रहेको खानीमा भर पर्नेगरी सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो। बैतडीमा उत्पादन गरिने सिमेन्टको खानीमा अनुमानित २ करोड ४० लाख ५८ हजार ५ सय ६० टन चुनढुंगा रहेको छ।

विदेशी लगानी भित्र्याउने योजनामा रहको समूहले २० देखि २५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेको हो। ‘अहिले नै कति लगानी भन्ने अन्तिम चरणमा पुगेका छैनौँ तर उद्योगमा विदेशी लगानी पनि भित्र्याउने योजना भने छ,’ अध्यक्ष ढकालले भने। 

२०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले सिमेन्ट उद्योगको सम्भावना अध्ययन गराएको थियो। बैतडी चुनढुंगा खानीका लागि उपयुक्त ठहर गर्दै ठूलो सिमेन्ट उद्योग खोल्न सकिने निष्कर्षसहित प्रतिवेदनसमेत बुझाइएको थियो। अध्ययनको क्रममा बैतडीमा उच्च गुणस्तरको लाइमस्टोन (चुनढुंगा) भेटिएको थियो। खानीसम्म पुग्नका लागि पहुँचमार्गसमेत नजिक नै पुगिसकेको छ। 

त्यही अध्ययनपछि नै बैतडीमा सिमेन्ट उद्योगको चर्चा सुरु भएको थियो। बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने भएकाले बजारको पनि समस्या नहुनेसमेत अध्यक्ष ढकालले बताए।

‘सीमावर्ती भारतीय राज्यमा सिमेन्टको ठूलो बजार रहेकाले यसबाट पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ अध्यक्ष ढकालले भने।  

‘भविष्यमा सिमेन्टको माग बढ्ने अनुमान गरेपछि हामीले सिमेन्ट उद्योगमा लाग्ने निर्णय गरेका हौँ,’ ढकालले भने। ‘स्थानीय सरकारले पूर्वाधार विकासमा ध्यान दिने भएकाले आगामी वर्षहरूमा सिमेन्टको माग ह्वात्तै बढ्नेछ।’ समूहले चार वर्षभित्रै उद्योग स्थापना गरेर भारततर्फ अर्बौं रुपैयाँको सिमेन्ट निर्यात गराउने योजना रहेको छ। 

नवलपरासीमा तत्कालका लागि ‘होल्ड’

आईएमई समूहले सिमेन्ट उत्पादन गर्नेगरी नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिकाको वडा नम्बर १० मा ६५ बिघा जग्गा अधिग्रहण गरिसकेको छ।

आईएमई समूहले पाल्पा जिल्लाको मदनपुर र सिसदी गाउँपालिकाबाट सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा निकाल्ने योजना बनाएको थियो। कारखाना पाल्पा जिल्लाको सिमानामा रहेको छ। १५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको चुनढुंगा खानी प्लान्ट साइटबाट करिब २५ किलोमिटर टाढा छ।

नवलपरासी नेपालको सिमेन्ट उत्पादनको रोजाइको गन्तव्यसमेत हो। चिनियाँ लगानीमा बनेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी-शिवम् सिमेन्ट नवलपरासीमा नै रहेको छ। त्यसैगरी नवलपरासीमा सिजी सिमेन्ट, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्टले पनि सिमेन्ट व्यवसाय सञ्चालन गरिरहेका छन्। 

‘नवलपरासीको काम रोकिएको नभएर केही समयका लागि होल्ड गर्न लागिएको हो’ अध्यक्ष ढकालले भने। उक्त क्षेत्रमा धेरै उद्योग रहेकोले अहिलेलाई बैतडीमा उद्योग खोलेर भारत निर्यात गर्ने नै प्रमुख उद्देश्य राखिएको अध्यक्ष ढकालले जानकारी दिए। 


प्रकाशित : बुधबार, चैत २१ २०८०१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend