बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

व्यावसायिक स्ट्रबेरी खेतीप्रति आकर्षण

मंगलबार, चैत १३ २०८०
व्यावसायिक स्ट्रबेरी खेतीप्रति आकर्षण

चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ। फर्ममा आउनेहरुले आफै टिपेर जोखेर लैजान पाउने सुविधा छ।

भरतपुर- चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बनेको छ। यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ।

नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ व्यावसायिक स्ट्रबेरीखेती गरेका छन्। अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन्।

चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ। फर्म सञ्चालकमध्येका एक शशन देवकोटाका अनुसार इजिप्टबाट ल्याइएका बिरुवाले यस वर्ष दुई किलोसम्म फल दिएका छन्। फर्ममै टिपेर खान आउनेहरु बढेका छन् भने नेपालका विभिन्न सहरबाट यहाँको स्ट्रबेरीको माग हुने गरेको उनले बताए।

फर्ममा छ प्रकारका स्ट्रबेरी रोपिएको छ। यहाँ अमेरिकन प्रकारका स्ट्रबेरी इजिप्टबाट ल्याएर रोपिएको हो। 'फर्ममा आउनेहरुले आफै टिपेर जोखेर लैजान पाउँछन्', उनले भने, 'स्ट्रबेरीको जुससमेत खान पाइन्छ।'

सातसय रूपैयाँ किलोमा बिक्री हुने गरेको स्ट्रबेरी फागु पर्वको अवसर पारेर छ सय रूपैयाँमा बिक्री गरिएको उनले बताए। उनका अनुसार फर्ममा अहिलेसम्म ७० लाख रूपैयाँ लगानी भइसकेको छ।

स्ट्रबेरीले राम्रो फल दिएपछि यस वर्ष एक विघामा स्ट्रबेरीको व्यावसायिक खेती विस्तार गरिएको छ। 'तराईमा स्ट्रबेरीखेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रेबेरी खेती सुरु गरेका हौँ', उनले भने, 'राम्रो फलेको छ, हाम्रो टोली सन्तुष्ट छ।'

उनले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर स्ट्रबेरीखेती गरिरहेको बताए। शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका छन्।

विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गरेका उनको अग्रसरतामा नै यहाँ व्यावसायिक खेती गरिएको हो। उनको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन्। पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उनको भनाइ छ। अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उनले बताए।

फर्ममा घुम्न आएका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले व्यावसायिक रुपमा काम गर्न सके कृषि क्षेत्रबाट पनि सफलता मिल्न सक्छ भन्ने उदाहरण स्ट्रबेरी फर्मले प्रस्तुत गरेको बताए।

उनले फर्ममा आएर स्ट्रबेरी टिप्दा र खाँदा आफूलाई पनि आनन्द आएको जनाउँदै राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए। सामाजिक सञ्जालका कारण प्रख्यात बनेको यो फर्ममा स्ट्रबेरी टिप्न जानेको प्रत्येक वर्ष भीड नै लाग्ने गरेको छ। सामाजिक

सञ्जालमार्फत भिडियो हेरेर फर्म घुम्न आएको भरतपुर-१२ का शिव पौडेलले बताए। उनले प्रत्येक वर्ष उक्त फर्ममा स्ट्रबेरी खान आएको जनाउँदै यस वर्ष परिवारसहित आएको बताए। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend