सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्रामीण आलुको माग बढेपछि ताराखोलामा थालियो ‘खायन’ प्रजातिको आलु संरक्षण

शनिबार, चैत १० २०८०
ग्रामीण आलुको माग बढेपछि ताराखोलामा थालियो ‘खायन’ प्रजातिको आलु संरक्षण

ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन्। अर्गानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ।

बलेवा- बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो। 

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो। सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ।

तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन्। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन्। जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ। ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन्। अर्गानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ।

सबैको चासो र अर्गानिक भएकाले कृषि ज्ञान केन्द्रले ताराखोलामा रैथाने आलु प्रवर्द्धनको काम गरेको हो।

आलुमा मिसावट नभएकाले रैथाने आलु प्रवर्द्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए। 'हामीले अहिलेसम्म ताराखोलाको आलुमा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ', उनले भने, 'अर्गानिक आलुकै रुपमा बजार पाउने अवस्था छ।'

पुनका अनुसार ताराखोलामा मात्रै ‘खाएन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको उनले बताए। त्यसका लागि न्यूनतम पाँच सय हेक्टर जमिन छनोट भएको छ। रैथाने आलु प्रवर्द्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ।

गत वर्ष ताराखोलामा साढे सात लाख किलो आलु फलेको थियो। उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री हुने गरेको छ। ज्ञान केन्द्रले उत्पादनपछि प्रतिकिलो दुई रूपैयाँ किसानलाई अनुदान दिने गरेको छ। कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए।

किसानले आलुबाटै मनग्य कमाइ पनि गरेका छन्। आलुको बजार सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला-५ की दिलकुमारी पुनले बताए। ताराखोलामा आलु भण्डारणको ‘स्टोर’ पनि बनेका छन्।

स्थानीय स्रोत साधनबाटै बनेका घरमा आलु भण्डारण गरिने वडा नं ४ की गमिला रोकाले बताए। त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन्। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend