बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

खल्तीमा वर्ल्डलिंकको लगानी, स्टार्टपलाई हौसला 

बिहीबार , पुस १ २०७८
खल्तीमा वर्ल्डलिंकको लगानी, स्टार्टपलाई हौसला 

आफूहरु जस्तै अरु स्टार्टपलाई यसले हौसला दिने उनको दाबी छ। 

काठमाडौं- नेपालमा मोबाइल एप्लिकेशनबाट भुक्तानी सेवा सञ्चालन गर्ने अनुमति विस २०७४ सालदेखि दिन सुरु गरिएको थियो। हुन त नेपाल राष्ट्र बैंकले अनुमति दिनु पहिले पनि यस्तो सेवा दिने कम्पनीहरू नभएका भने होइनन्। 

२०७४ देखि हालसम्म यो क्षेत्रमा अनुमति लिनेहरूको संख्या नै दुई दर्जन पुगिसकेको छ। भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति लिने संस्थाहरूको संख्या नै २७ वटा पुगेका छन् भने भुक्तानी प्रणाली सञ्चालनको अनुमति लिनेहरू १० वटा पुगेका छन्। 

यस्तो सेवा तथा व्यवसायमा हात हाल्नेहरू ठूला कर्पोरेट हाउसदेखि आफ्नै सोच र ज्ञानमा सुरु गर्ने स्टार्टपहरू पनि छन्। सुरुमै ठूलो लगानीमा आएकाहरूलाई छाड्ने हो भने अरुलाई बजारमा टिक्नै गाह्रो भएको बताइन्छ। ठूलो लगानीको पहुँच नभएका युवाहरूले सुरु गरेको यस्तो सेवाको व्यवसायलाई टिक्न र अघि बढ्न कठीन भइरहेको छ। 

कुनै पनि नयाँ सेवाको नियमन हुनेवित्तिकै नबप्रवेशीहरूमा लहड लाग्छ। भुक्तानी सेवामा पनि यस्तै भयो। पछिल्लो तीन वर्षमै दुई दर्जन बढीको संख्या पुग्नुले पनि त्यही देखाउँछ। सुरुमै अरु व्यवसायमा जमिरहेका व्यवसायीले सुरु गरेको सेवा त जेनतेन चलिरहेका छन्। उनीहरूलाई सहज छ। तर सानो पुँजीबाट सुरु भएकाहरू भने कठीन अवस्थाबाट गुज्रिएका छन्।

आफ्नै सीप, प्रविधि तथा सानो लगानीमा खुलेका सेवाप्रदायकहरू भने संस्थागत लगानीको खोजीमा हुन्छन्। जसले यस्तो पुँजी पाउँछन् उनीहरू अघि बढ्ने आधार तय हुन्छ। तर नेपालमा स्टार्टपहरूलाई ठूलो र संस्थागत लगानीकर्ताको साथ धेरै नभएको बेलाबेलामा सुनिन्छ। व्यावसायिक चक्रमा स्टार्टपहरू निश्चित समयमा गएपछि ठूलो लगानीको साथ नपाउँदा हराएर जाने जोखिम हुन्छ। यस्तै लगानीको खोजीमा रहेको एउटा वालेट स्टार्टपले व्यावसायिक साझेदार पाएको छ। 

२०७६ साल वैशाखमा वालेट सञ्चालनको अनुमति पाएको खल्तीले ठूलो तथा संस्थागत व्यावसायिक साझेदार पाएको छ। यसअघि नै लगानी सम्झौता भए पनि नियामकीय अनुमति नपाउँदा घोषणा नभएको यो लगानी सम्झौता हालैमात्र सार्वजनिक भएको छ। 

मोबाइल वालेट सेवाप्रदायक खल्तीमा नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले लगानी गरेको छ। वर्ल्डलिंकले खल्तीको ४० प्रतिशत सेयर खरिद गरेर भित्रिएको हो। वर्ल्डलिंक भित्रिएसँगै खल्तीको संस्थागत संरचनामा पनि फेरबदल भएको छ। हालैमात्र खल्तीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ भने बोर्ड अध्यक्ष पनि वर्ल्डलिंकले नै पठाउने छ। 

२० लाख नियमित प्रयोगकर्ता आफूसँग रहेको खल्तीले दाबी गर्दै आएको छ। खल्तीले ९० प्रतिशत बैंक तथा वित्तीय संस्थासँग साझेदारी गरिसकेको बताएको छ।

खल्तीको लगानी साझेदारीको रकम भने खुलाइएको छैन। 

खल्तीमा वर्ल्डलिंकको लगानीले खल्तीको व्यापारमा कस्तो प्रभाव पार्ला? यसको भविष्य के होला? समग्र स्टार्टप वातावरणमा यसको अर्थ के रहला? यी प्रश्न हामीले खल्तीका संस्थापक अमीत अग्रवालसँग गरेका थियौँ। 

यो लगानी साझेदारीले सबैभन्दा पहिला नेपाली स्टार्टपहरूमा आत्मविश्वास बढाउने उनको दाबी छ। 

'परम्परागत भेन्चरमा लगानीको कुनै पनि कमी छैन। तर सूचना प्रविधिमा आधारित र व्यापक रुपमा स्वामित्व ग्रहण नगरिएको क्षेत्रमा वित्तिय पहुँच पाउन गाह्रो हुन्छ भनिन्छ। तर यो हाम्रो साझेदारीले राम्रो र दीगो विजनेस आधार दिन सकेमा नेपालमा पनि वित्तीय पहुँच तथा लगानीको अभाव नहुने सन्देश दिएको छ' उनले भने। 

आफूहरू जस्तै अरु स्टार्टपलाई यसले हौसला दिने उनको दाबी छ। 

यो साझेदारीको अर्को अर्थ हो नेपालमा प्राय ठूला व्यावसायिक समूहहरू सूचना प्रविधिमा आधारित वित्तीय उपकरणमा लगानी बढाउन आकर्षित देखिएका छन्। वर्ल्डलिंक नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो। यसले बर्सेनि अर्बौंको व्यापार गर्दै आएको छ। सहरीदेखि ग्रामीण क्षेत्रसम्म आफ्नो सञ्जाल फैलाउँदै गएको वर्ल्डलिंकले पछिल्लो समय इन्टरनेट टीभी, भीओडी जस्ता सेवामा पनि लगानी विस्तार गरिरहेको छ। खल्तीमा लगानी यसको अर्को विस्तार हो। 

अन्य क्षेत्रमा सफल तथा जमिरहेका व्यवसायीहरू स्टार्टपमा लगानी गर्न कस्सिनु ज्ञान, सूचना र प्रविधिमा आधारित व्यवसायमा लगानी गर्न नेपाली उद्यमीहरू सकारात्मक देखिएको अग्रवालको बुझाइ छ। 

यो लगानी साझेदारीले सबैभन्दा धेरै प्रभाव खल्तीकै व्यवसायलाई पार्ने छ। इन्टरनेट सेवाको क्षेत्रमा ठूलो सञ्जाल भएको वर्ल्डलिंकले खल्तीलाई त्यहीँ जोड्न सक्ने छ। यसले मासिक रुपमा उठाउने पाँच लाख ग्राहकको शुल्कमात्र खल्तीबाटै उठाउन सक्यो भने फाइदा खल्तीलाई हुने छ। 

'यसको सञ्जालसँगै व्यावसायिक व्यवस्थापनको दक्षताको कुरा पनि छ। त्यो पनि खल्तीमा आउने छ। प्रविधिको विकास तथा सहजीकरणमा काम गर्ने हाम्रो र परिपक्व व्यवस्थापनको अनुभव वर्ल्डलिंकको जोडिँदा पक्कै पनि व्यावसायिक लाभ हुने छ' खल्तीका संस्थापक अग्रवालले भने। 

खल्तीले सेवा सञ्चालनको अनुमति पाएको धेरै समय भए पनि यसले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूसँग जोडिनकै लागि निकै संघर्ष गर्नुपरेको थियो/छ। बैंकहरूमा केही सेवाप्रदायकको सिन्डिकेटका कारणले खल्तीले निकै सास्ती पायो। वर्ल्डलिंक जस्तो स्थापित कम्पनी र त्यसका लगानीकर्ता जोडिँदा त्यो सिन्डिकेट तोडेर वित्तीय संस्थासँगको सञ्जाल जोड्ने काममा यसलाई सहायता हुने छ। 


प्रकाशित : बिहीबार , पुस १ २०७८११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend