सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मकैखेतीमा कैलालीका किसानको आकर्षण बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ९ २०८०
मकैखेतीमा कैलालीका किसानको आकर्षण बढ्दै

यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ।

कैलाली- पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन्। तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन्। 

मकैखेती खाद्यान्नका साथै वस्तुभाउलाई दाना र घाँसका रुपमा प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको स्थानीय बताउँछन्। सिँचाइ सुविधा भएका ठाउँका अधिकांश किसानले मकैखेती गरिरहेका छन्। 

यस वर्ष टीकापुर र जानकीका एक सय १५ किसानलाई मकैखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाइले सहयोग गरेको छ। यसबाहेक आफ्नै लगानीमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको इकाइ कार्यालयले जनाएको छ।

टीकापुरका परम रेग्मीले पाँच कट्ठा जमिनमा खेती गरेका छन्। दुईवटा भैँसी पाल्नुभएका परमलाई मकै खेती गर्दा पशुपालनमा सहज भएको छ। 'तोरीपछि मकै लगाएको छु। बारीबाट भैँसीका लागि घाँस, दानाको समेत जोहो भइरहेको छ', उनले भने, 'बचेको मकै बिक्री हुन्छ। अब गर्मी मौसममा हरियो घोगा बारीबाटै बिक्री हुन्छ।'

मकैको बजार सहज, खाना तथा पशुका दाना बनाउन, हरियो घोगा बेचेर नगद आम्दानी गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको इकाइका वरिष्ठ बाली विकास अधिकृत कमल तामाङले बताए। 'दानाका रुपमा पशुलाई खुवाउन अत्यधिक प्रयोग हुन थालेको छ', उनले भने, 'पहिला २० देखि २५ रुपैयाँमा बिक्री हुनेमा अहिले ३५ देखि ४० रुपैयाँसम्म पर्छ।'

यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा एक सय तीन हेक्टर जमिनमा मकै खेती भइरहेको छ। बाह्र हेक्टरमा हाइब्रिड जातको र ९१ हेक्टरमा वसन्ते जातको मकै खेती गरिएको इकाइका बाली विकास अधिकृत तामाङले बताए। प्रतिकिसानले न्यूनतम १५ कट्ठादेखि छ हेक्टरसम्म खेती गरेका उनले जानकारी दिए।

'दुई बाली स्याहारिसकेपछि मकैखेतीमा किसान लागिरहेका छन्', तामाङले भने, 'उत्पादित मकै बिक्रीका लागि बजारको अभाव छैन। भारतमा समेत निर्यात हुने भएकाले किसान आकर्षित हुन थालेका छन्।'

मकैखेती गर्नका लागि किसानलाई आयोजना कार्यालयले बीउ, पोषक तत्व र यान्त्रिकीकरणमा सहयोग गरिरहेको बाली विकास अधिकृत तामाङले जानकारी दिए । बीउ रोप्ने मेसिन (प्लान्टर), गोड्मेल गर्ने मिनी टिलर र दाना छोडाउने मेसिन सहयोग गरिएको उनले बताए। 

'उत्पादन प्रयोजनार्थ प्रयोग हुने सामग्री तथा आवश्यक उपकरण, परामर्शलगायत सहयोग गरिरहेका छौँ', उनले भने, 'किसानको मागअनुसार मकै गोडमेल गर्ने मिनी टिलर उपलब्ध गराउँदै आएका छौँ।'

राम्रो आम्दानी हुने भएकाले किसानले अनुदान सहयोग र आफ्नै लगानीमा अरुण, रामपुर कम्पोजित, राजकुमार पाइनेरियमलगायत जातका मकैखेती गर्ने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, चैत ९ २०८०१६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend