सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

images
सोमबार, मंसिर २७ २०७८
images
चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल ७ हजार रुपैयाँ छ।

images
images

जाजरकोट- उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० रुपैयाँ पर्छ। उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य ७ हजार रुपैयाँ, मोटो चामल ५ हजार र सोना ५ हजार ६ सय रुपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ। 

images
images
images

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा ६५, धारगाउँको ५६ र सालदाङसम्मको ९० रुपैयाँ पर्छ। सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल ७ हजार रुपैयाँ छ। ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार रुपैयाँ बढी छ। 

images
images

निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा ६ हजार रुपैयाँ पर्छ भने तिन्जेमा ७ हजार रुपैयाँ पर्ने डोल्पोबुद्ध गाउँपालिका-१ का पेमा गुरुङले बताए। ७ हजार रुपैयाँ तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ। हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ।

images
images

चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए। पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म  १८० क्विन्टल चामल ढुवानी गरिएको छ। 

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५ सय क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए। हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन्। सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ। यी सबै कम्पनीका बिक्री केन्द्र हुन्।

कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ। सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याइएको छ। उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन। ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो। 

सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको धो का पेमा गुरुङले बताए। उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारण बताउँछन्। ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताए। उपल्लो डोल्पाका तीन पालिकामा अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्ने गर्दछ भने केही ठाउँमा गहुँ पनि फल्ने गर्दछ। 

अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो। उक्त अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयवासी बताउँछन्। जडीबुटीको भण्डारको रुपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू-भाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ।

पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन्। सोही आम्दानीबाट नै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता रहेको छ। चीनको नाकाहुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा दुई वर्षदेखि सो मार्ग कोरोनाका कारण बन्द छ। हाललाई दुनैबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता छ। वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चीन र नेपाल तर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ। 

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकिलो ९० रुपैयाँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पुर्‍याउने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म ८८ देखि १ सय रुपैयाँमा ढुवानी गर्छन्। निजी क्षेत्रले उपल्लो डोल्पामा २ सय ४० रुपैयाँ सम्ममा प्रतिकिलो चामल खरिद गरेर खानुपर्ने बाध्यता छ। रासस 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend