बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चालु आवमा हुम्लाबाहेक सबै जिल्लामा टेलिकमको एफटीटीएच सेवा : मन्त्री शर्मा

बुधबार, चैत ७ २०८०
चालु आवमा हुम्लाबाहेक सबै जिल्लामा टेलिकमको एफटीटीएच सेवा : मन्त्री शर्मा

प्युठानको झिमरुक गाउँपालिकामा आजदेखि नेपाल टेलिकमको एफटीटीएच सेवा सञ्चालनमा आएको छ।

प्युठान- सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा रहेको बताएकी छिन्।

झिमरुक गाउँपालिकामा आजदेखि सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उनले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्‍याउने नीतिअनुसार काम भइरहेको बताइन्। उनले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशन समेत दिइन्।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवा पुग्ने बताइन्। शर्माले भनिन्, 'इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्‍याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ।'

मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनुपर्ने उनको तर्क छ। 

सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्युठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको एफटीटीएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताइन्।

उनका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्बे भइसकेको र गौमुखीमा सर्बेको तयारी गरिएको छ। हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाइबर नेट उपलब्ध गराएको छ। त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ। प्युठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ।

त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरन्जन श्रेष्ठलगायतको उपस्थिति थियो। रासस


प्रकाशित : बुधबार, चैत ७ २०८०१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend