बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह

बुधबार, चैत ७ २०८०
रैथाने बाली जोगाउँदै मकवानपुरका स्थानीय तह

परम्परागत बाली गाउँका पाखो बारीमा उत्पादन हुने गर्थे। पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन्।

मकवानपुर- किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न थालेका छन्।

रैथाने बाली बिक्री गर्दा पालिकाले थप रकमसमेत दिने गरेको मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए। किसानलाई नयाँ प्रविधिसँग जोड्न र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। 

स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण तथा बजारीकरणका लागि बजेट विनयोजन गरेर किसानलाई प्रोत्साहित गर्दै आएको भिमफेदीका अध्यक्ष हिदम लामाले बताए। पालिकाले यस्तो अभियान सुरु गरेपछि रैथाने बालीतर्फ उनीहरु आकर्षित भएको उनको भनाइ छ।

मकवानपुरका ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको जनाउँदै उनले यसको संरक्षणका लागि प्रोत्साहन रकम गाउँपालिकाले सहयोग गर्दै आएपछि उनीहरु यो बालीतर्फ आर्कषित भएको बताए। रैथाने बाली जोगाउनका लागि आफूहरुले बजेट विनियोजन गरेर लागिपरेको उनको भनाइ छ।

रैथाने बाली जोगाउनका लागि मकवानपुरगढी र भीमफेदी गाउँपालिका मात्र होइन मकवानपुरका अन्य गाँउपालिका पनि लागिपरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले पनि रैथाने बालीमा जोड दिन थालेका छन्।

आधुनिक प्रविधिको विकास र बसाइँसराइका कारण मकवानपुरमा रैथाने बाली संरक्षणमा चुनौती बढेकाले पनि स्थानीय सरकारको पहलमा रैथाने बाली जोगाउन स्थानीय सरकार लागिपरेको बकैयाँका अध्यक्ष धर्मराज लामिछानेले बताए।

एक दशक अगाडिसम्म मकवानपुरका ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौलगायतका खाद्य बालीको खेती पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ। यसैले गर्दा पालिकास्तरबाट आफूहरुले यसलाई जोगाउन बजेट विनियोजन गरेको उनले बताए।

रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए। उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बालीको खेती गर्न छाड्दै गएका हुन्।

परम्परागत बाली गाउँका पाखो बारीमा उत्पादन हुने गर्थे। पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ। रासस


प्रकाशित : बुधबार, चैत ७ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend