काठमाडौं- महालक्ष्मी विकास बैंकले चितवनको सौराहामा दुईदिने कार्यगोष्ठी तथा सेमिनार सम्पन्न गरेको छ।
संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा बैंकले फागुन २६ देखि २७ गतेसम्म सौराहामा 'नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता' नामक दुईदिने सेमिनार सम्पन्न गरेको हो।
सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकताबीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको बैंकले जनाएको छ।
साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको बैंकले जनाएको छ।
उक्त कार्यगोष्ठीमा कर्मचारीहरुको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशीला हुन भन्ने सम्बन्धमा व्यावहारिक अभ्यासहरु समेत गरिएको थियो।
बैंकले देशभर रहेको आफ्नो १०३ शाखा कार्यालयमार्फत करिब ७ लाख ग्राहकलाई सेवा दिइरहेको छ।