बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रधानमन्त्री दाहालले तेस्रोपटक पाए विश्वासको मत

बुधबार, फागुन ३० २०८०
प्रधानमन्त्री दाहालले तेस्रोपटक पाए विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएयता सत्ता गठबन्धन फेरिँदै गर्दा दाहालले तेस्रोपटक विश्वासको मत लिएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले २ सय ६८ जना उपस्थित सांसदमध्ये पक्षमा १ सय ५७ मत पाए भने विपक्षमा १ सय १० मत पर्‍यो। साथै मत दिन्न भन्ने पक्षमा एक मत परेको छ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि बुधबार पुनः प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। 

नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै प्रस्ताव पेस गरेका थिए। 

२०७९ पुस १० गते प्रधानमन्त्री चयन भएपछि दाहालले पहिलोपटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। जसमा संसद्‍मा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए। त्यसबेला नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले १ सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

अहिले पुन: नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलले नयाँ गठबन्धन बनाएको हो।


प्रकाशित : बुधबार, फागुन ३० २०८०१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend