बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

स्याङ्जाको एकै परिवारले बिक्री गर्‍यो ३५ लाखको सुन्तला

images
बुधबार, फागुन ३० २०८०
images
images
स्याङ्जाको एकै परिवारले बिक्री गर्‍यो ३५ लाखको सुन्तला

ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन्। किसानले ‘ग्रेडिङ’ गरिएको सुन्तला १२० रूपैयाँसम्ममा थोक मूल्यमा बिक्री गर्ने गरेका छन्।

images
images

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका-७, सिरौँलास्थित एकै परिवारले ३५ लाख रूपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए।

images
images
images

उनले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताए। भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आएका हुन्। 'चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो', देवीप्रसादले भने, 'पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ।' उनले हालसम्म छोराहरूले तीन हजार सुन्तलाका बोट पुर्‍याएको दाबी गरे।

images

देवीप्रसादका छ भाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन्। भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै २० लाख रूपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरे। उनले अघिल्लो वर्ष १६ लाख रूपैयाँको सुन्तला उत्पादन गरेका थिए। यस वर्ष जेठो छोरा डोलराज भण्डारीले १० लाख र साइँलो छोरा कमलले पाँच लाख रूपैयाँको सुन्तला उत्पादन गरेर बिक्री गरे। उनीहरूले पनि अघिल्लो वर्ष करिब १० लाख रूपैयाँको सुन्तला बिक्री गरेका थिए।

images
images

तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताए। उनका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन्। एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताए।

images
images

उनले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाए। उनले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक तीन लाखको बिक्री गर्दै आएको बताए। 'खेती किसानीमा सबै परिवार आबद्ध छौँ। काम गरेअनुसारको प्रतिफल पनि छ', उनले भने, 'तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ।'

कविराजको हजुरआमा उमादेवी भण्डारीले विदेशको कमाइ जित्न सक्ने यहाँ सुन्तला उत्पादन हुने बताइन्। 'यहाँ सुनसरह सुन्तला फल्छन् तर पनि नातिहरू विदेश जान्छौँ भन्दा मन अमिलो हुन्छ', उनले दुखेसो पोखिन्, 'हामीलाई सम्पत्ति पुग्दो छ, केही चाहिएको छैन, बुढेसकालमा छोरानातिसँगै बस्न पाए मनै हलुंगो हुन्थ्यो।'

यहाँ उत्पादित सुन्तला काठमाडौं, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ। ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन्। यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला ६० देखि एक सय २० रूपैयाँसम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्ने गरेका छन्।

किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गरे। 'सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो,' उनले भने, 'जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौँ।' ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताए।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष दुई करोड रूपैयाँको सुन्तला बिक्री भएको बताए। उनले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले दुई करोड ५० लाख रूपैयाँ मूल्यबराबरको सुन्तला बिक्री गरेको दाबी गरे।

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपर जोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ। ती निकायले पक्की ट्यांकी, प्लास्टिक ट्यांकी, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन्। यहाँ सुन्तला आइपिएम पाठशालासमेत सञ्चालनमा छ। रासस

images

प्रकाशित : बुधबार, फागुन ३० २०८००१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend