बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मनाङका किसानलाई स्याउ गोडमेलको चटारो

सोमबार, फागुन २८ २०८०
मनाङका किसानलाई स्याउ गोडमेलको चटारो
फाइल तस्बिर

आयस्रोतलाई जोगाउन र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ किसान लागेका छन्। अहिले उनीहरुलाई स्याउ गोडमेलमा भ्याइनभ्याइ छ।

मनाङ- हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा स्याउ मानिन्छ। यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ। केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन्।

हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ। भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्। त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिकरुपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ। अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन्।

नासों गाउँपालिका-८ ताचैका स्याउ किसान सोलबहादुर गुरुङले यसवर्ष यहाँसम्म हिमपात नभए पनि स्याउ खेती राम्रो हुने गरेको बताए। उनले यतिबेला स्याउ बगैँचा गोडमेलमा व्यस्त भएको बताए। मुख्य आय नै स्याउ भएको बताउँदै उनले भने, 'आयस्रोतलाई जोगाउने र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ लागेका छौँ।' यहाँका अधिकांश मानिसको घरमा स्याउ हुने र गोडमेल गर्ने समय भएको उनले सुनाए।

जाडो छल्न यहाँका स्थानीयवासी बाहिर गएर फर्किएपछि बगैँचा गोडमेल गर्ने गर्दछन्। त्यस्तै नासों-६ तिल्चेका टंक गुरुङ पनि स्याउ बगैँचा गोडमेल तथा व्यवस्थापनमा व्यस्त छन्। समयमा नै स्याउ बगैँचाको गोडमेल गरेपछि नै राम्रो उत्पादन गर्न सकिने उनले बताए। उनका अनुसार जिल्लाका स्याउ किसान अहिले बगैँचा गोडमेलमा नै व्यस्त रहेका छन्। यहाँको स्याउको माग तथा खपत राम्रो भएकाले यसतर्फ आकर्षित भएको उनले बताए।

यतिबेला मनाङको नासों, चामे, ङिस्याङ तथा नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ। केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीयवासी बेँसी झर्ने हुनाले केही ढिला गरी मनाङ ङिस्याङ र नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन गरिने किसानको भनाइ छ। 

जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका अधिकांश किसान स्याउखेतीमा लागेका छन्। यसबाट किसानले राम्रै आम्दानी गर्ने गरेको उनीहरूको भनाइ छ। अरू खेतीको तुलनामा धेरै समय लगानी गर्न नपर्ने स्याउ खेतीले यहाँको आर्थिकस्तर वृद्धि गर्न टेवा पुगेको किसान उमबहादुर गुरुङले बताए।

फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ।

बर्सेनि मनाङका किसानलाई कृषि ज्ञान केन्द्रले प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र क्षेत्रमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेको छ। बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताए।

उनले भने, 'स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ। विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ।' स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढ्ने सहयोग गर्ने उनले बताए।

बगैँचा व्यवस्थापन गर्दा किसानले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्स्चर छर्किने गरेका छन्। यसो गर्दा स्याउको बोटमा सङ्क्रमण कम हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। किसानले हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्स्चर प्रयोग गर्ने गरेका छन्। रासस


प्रकाशित : सोमबार, फागुन २८ २०८०१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend