बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

रोगका कारण मर्नथाले केराको बोट, उत्पादन र आम्दानीमा कमी

आइतबार, फागुन २७ २०८०
रोगका कारण मर्नथाले केराको बोट, उत्पादन र आम्दानीमा कमी

अधिकांश केराका बोट पहेँलो हुने र फेद कुहिने अनि मर्ने गरेको कारण पसाएका केरासमेत मरेको र आम्दानी घटेको किसान बताउँछन्।

गाईघाट- उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन्। यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ। तर दुई वर्षयता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ।

त्रियुगा नगरपालिका-१४ साउने र वडा नं १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ। केराका बोट पहेँलिएर कुहिन थालेका छन्। बोट नै मर्न थालेपछि आफूहरु चिन्तित बनेको छामलिङका कृषक अमेन्द्र राईले बताए। दुई दशकदेखि केरा खेती गर्दै आए पनि पछिल्लो समय रोगका कारण घाटा बेहोर्नुपरेको उनी बताउँछन्।

त्रियुगा-१४ साउनेका कृषक दानबहादुर मगरले तीन वर्षदेखि केराको बोट रोगका कारण फस्टाउन छाडेको बताए। साउने हुबासकै कृषक देवीदत्त तिमसिनाले तीन वर्ष अघिसम्म वार्षिक एक लाख रूपैयाँभन्दा बढीको केरा बिक्री गर्ने गरिएको भए पनि पछिल्लो दुई वर्षमा ५० हजार रूपैयाँमात्र आम्दानी भएको बताए।

अधिकांश केराका बोट पहेँलो हुने र फेद कुहिने अनि मर्ने गरेको कारण पसाएका केरासमेत मरेको छामलिङका कृषक हर्क राईले बताए। यस क्षेत्रका अधिकाँश किसान लामो समयदेखि व्यावसायीकरुपमा केरा खेती गर्दै आएका छन्।

विभिन्न विषादी तथा औषधी प्रयोग गरेपनि रोग लाग्न नछाडेको किसान बताउँछन्। कतिपय किसानले पुराना बिरुवा मासेर नयाँ लगाउन थालेका छन्। यहाँ झप्री, मर्चे, धुसुरे, मुङ्ग्रेलगायत जातका केरा उत्पादन गरिँदै आएको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिका, कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा गरेर झन्डै सात सय ७६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ। रासस


प्रकाशित : आइतबार, फागुन २७ २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend