बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा ब्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न समिति गठन गर्दै मन्त्री शर्माद्वारा पदभार ग्रहण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २३ २०८०
नेपालमा ब्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न समिति गठन गर्दै मन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छिन्। 

नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन्।

उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा ब्याण्डविथ प्लेटफर्मको संभावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी पहिलो निर्णय गरेकी हुन्।

पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन् गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताइन्।

मन्त्रालयका काम सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षासहित जिम्मेवारी दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आभार व्यक्त गर्दै मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको लक्ष्यलाई आफ्नो मन्त्रालयको तर्फबाट पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘अब हामीलाई कुनै पनि बहानामा काम नगर्ने छूट छैन’ मन्त्री शर्माले भनिन्, ‘म सम्पूर्ण जिम्मेवार अधिकारी र निकायहरुलाई यो अवसरमा विशेष निर्देशन दिन चाहन्छु।’ 

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनले विसं २०७२ कार्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी हुन्।

विसं २०७९ मंसिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।


प्रकाशित : बुधबार, फागुन २३ २०८०२१:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend