बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेटफ्लिक्सको सब्स्क्राइबर बन्न कति लाग्छ शुल्क? संसारका ५ सस्तो र महँगो शुल्क भएको देश

मासिक शुल्क भारतमाभन्दा नेपालमा २ डलर महँगो

शनिबार, फागुन १९ २०८०
नेटफ्लिक्सको सब्स्क्राइबर बन्न कति लाग्छ शुल्क? संसारका ५ सस्तो र महँगो शुल्क भएको देश

मुख्यगरि देशको आर्थिक पक्ष, प्रतिस्पर्धात्मक बजार, कन्टेन्ट लाइसेन्सिङ र मुद्राको विनिमयदरमा आउने भिन्नतालाई आधार मानेर नेटफ्लिक्सले शुल्क निर्धारण गर्दै आएको छ।

काठमाडौं- फिल्म, डकुमेन्ट्री, टेलिभिजन शोलगायत भिजुअल कन्टेन्टका लागि अहिले पर्याप्त एप्लिकेसनमा आधारित कम्पनीहरु छन्। यस्ता एप कम्पनीहरुले निर्माताहरुसँग एक्सक्लुसिभली खरिद गर्छन् र आफ्नो एप्लिकेसनमार्फत उपभोक्तालाई बिक्री गर्छन्। 

नेटफ्लिक्स, अमेजन प्राइमलगायत प्लेटफर्ममार्फत संसारका करोडौँ उपभोक्ताहरु डकुमेन्ट्री, फिल्मलगात भिडियो खरिद गरेर हेर्दै आएका छन्। अमेरिकी स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले आम मानिसको मनोरञ्जनको माध्यम नै बदलिदिएको छ भन्दा फरक पर्दैन। सब्स्क्रिप्सन बेसिसमा आफूलाई मन पर्ने हजारौँको संख्यमा फिल्म लाइब्रेरी, डकुमेन्ट्री, टीभी शोलगायत भिडियो नेटफ्लिक्समा हेर्न पाइन्छ। 

त्यसका लागि उपभोक्ताले हरेक महिना निश्चित शुल्क तिर्नुपर्छ। तर ‘डिजिटल स्वर्ग’का रुपमा व्याख्या गरिने नेटफ्लिक्सको पहुँचका लागि देशअनुसार भिन्न शुल्क तय गरिएको छ। शुल्क निर्धारण गर्दा सम्बन्धित देशको आर्थिक अवस्था तथा त्यहाँको बजारको अवस्थालाई मुख्य आधार बनाइने गरेको छ। 

के कस्तो प्याकेज खरिद गर्ने त्यसका आधारमा समेत नेटफ्लिक्सको मासिक शुल्क फरक तोकिएको छ। तर यहाँ भिजुअल क्यापिटालिस्टले नेटफ्लिक्स डटकममा उल्लेख भएको बेसिक प्याकेजको मासिक सब्स्क्रिप्सनका आधारमा न्यूनतम मासिक शुल्क बारे उल्लेख गरेको छ। 

नेटफ्लिक्स उपलब्ध भएका संसारका देशहरु मध्ये १ सय ९० देशमा बढी चर्चामा रहेको छ। हाल विश्वभर नेटफ्लिक्सका २४ करोडभन्दा बढी सब्स्क्राइबरहरु रहेका छन्।

यहाँ उल्लेख गरिएको शुल्क २०२३ डिसेम्बर १० मा कायम रहेको अमेरिकी डलरको विनिमय दरमा आधारित रहेको छ। मासिक सब्स्क्रिप्सनको लागत पनि २०२३ डिसेम्बरकै रहेको छ। 

नेटफ्लिक्सको सबैभन्दा धेरै मासिक न्यूनतम सब्स्क्रिप्सन शुल्क स्वीजरल्यान्डमा रहेको छ। स्वीजरल्यान्डबाट नेटफ्लिक्स सब्स्क्राइब गर्न चाहनेले मासिक २१.४८ डलर तिर्नुपर्छ। त्यस्तै सबैभन्दा कम पाकिस्तानमा रहेको छ। पाकिस्तानबाट नेटफ्लिक्स सब्स्क्राइब गर्न मासिक २.८२ डलर तिरे पुग्छ। 

५ धेरै शुल्क लाग्ने देश

१. स्वीजरल्यान्ड- २१.४८ डलर

२. डेनमार्क- १६.४६ डलर 

३. ग्रिनल्यान्ड- १६.४६ डलर 

४. आयरल्यान्ड- १६.१५ डलर 

५. अमेरिका- १५.४९ डलर 

५ कम शुल्क लाग्ने देश

१. पाकिस्तान- २.८२ डलर 

२. टर्की- ३.३८ डलर 

३. अर्जेन्टिना- ३.५७ डलर 

४. इजिप्ट- ३.८८ डलर 

५. नाइजेरिया- ४.४८ डलर 

नेपाल तथा भारतमा पनि नेटफ्लिक्सका ठूलो संख्यामा सब्स्क्राइबर रहेका छन्। भारतमा नेटफ्लिक्सको बेसिक प्याकेजको सब्स्क्रिप्सन लिन प्रतिमहिना ५.९८ डलर तिर्नुपर्छ। त्यस्तै नेपालबाट नेटफ्लिक्सको बेसिक प्याकेजको सब्स्क्रिप्सन लिन प्रतिमहिना ७.९९ डलर शुल्क लाग्छ। नेपालका तुलनामा भारतबाट नेटफ्लिक्सको बेसिक प्याकेजको सब्स्क्रिप्सन लिन प्रतिमहिना २ डलर सस्तो रहेको छ। 

नेटफ्लिक्सले आफ्नो सब्स्क्राइबर बनाउनका लागि केही निश्चित पक्षहरुलाई आधार बनाएको छ। त्यसैले देशअनुसार सब्स्क्राइबरका लागि फरक फरक मूल्य निर्धारण भएको हो। 

मुख्यगरि देशको आर्थिक पक्ष, प्रतिस्पर्धात्मक बजार, कन्टेन्ट लाइसेन्सिङ र मुद्राको विनिमयदरमा आउने भिन्नतालाई आधार मानेर नेटफ्लिक्सले शुल्क निर्धारण गर्दै आएको छ। यसका बाबजुत नेटफ्लिक्सले कन्टेन्टको लागत र नाफा हरेर आफ्नो उपभोक्ताका लागि सब्स्क्रिप्सन शुल्क निर्धारण गर्दै आएको छ। 


प्रकाशित : शनिबार, फागुन १९ २०८०१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend